झिँगेदाउमा मग्न ओलम्पिक कमिटी

झिँगेदाउमा मग्न ओलम्पिक कमिटी


sportनेपाल ओलम्पिक कमिटीले हालै निर्वाचन सम्पन्न गरेको नेपाल कुस्ती सङ्घलाई मान्यता नदिएर सौताको व्यवहार गरेको छ । कुस्ती सङ्घको निर्वाचनअघि केही मुद्दामा विवाद उत्पन्न भए पनि अन्त्यमा दुवै पक्षबीच भएको सहमतिअनुसार जेठ २४ गते सङ्घको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन दुवै पक्षको सहमतिमा सम्पन्न भए पनि ओलम्पिक कमिटीले पुरानो रिसइवी साँध्न मान्यता नदिने छाँटकाँट देखाएको छ । ओलम्पिक कमिटी अहिले पनि कुस्ती सङ्घका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीलाई मान्यता दिने सुरसारमा लागेको बुझिएको छ । अन्सारी नक्कली भारुको कारोबारमा संलग्न रहेको आरोपमा विगत लामो समयदेखि जेल सजाय भोगिरहेका छन् । प्राप्त जानकारीअनुसार कुस्ती सङ्घभन्दा एक दिनअगाडि निर्वाचन सम्पन्न गरेको नेपाल फेन्सिङ सङ्घलाई भने ओलम्पिकले मान्यता प्रदान गरेको छ । दुवै सङ्घले आवश्यक प्रक्रिया पु-याएर निर्वाचन सम्पन्न गरे पनि एकलाई मान्यता दिनु र अर्कोलाई मान्यता नदिनुले ओलम्पिक कमिटीको नियतप्रति प्रश्न उठेको छ ।
वर्तमान अवस्थासम्म ओलम्पिक कमिटीले नवनिर्वाचित कुस्ती सङ्घलाई मान्यता नदिए पनि अन्तर्राष्ट्रिय कुस्ती सङ्घ र एसियन कुस्ती सङ्घले नारायणदेव राणा अध्यक्ष रहेको कुस्ती सङ्घलाई मान्यता दिएको छ । एसियन कुस्ती सङ्घका अध्यक्ष चाङ क्यु किमले राणालाई बधाईका साथ पत्राचार गरेका छन् । प्राप्त जानकारीअनुसार राणा अध्यक्ष रहेको कुस्ती सङ्घलाई ओलम्पिक कमिटीले मान्यता नदिनु र आलटाल गर्नुमा ठूलै रहस्य लुकेको बुझिएको छ । राणा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घको अध्यक्ष हुँदा ओलम्पिक कमिटीको विरुद्धमा उत्रिएकाले मान्यता नदिएको सूत्रको दाबी छ । राणाकै नेतृत्वमा राखेपका कर्मचारीले एनओसीका पदाधिकारीहरूलाई धरपकड गरेकाले त्यही रिसइवी साँध्न एनओसी लागिपरेको बुझिएको छ । यो विषयमा राणासँग सम्पर्क गर्दा उनले आफूले आफ्नो जिम्मेवारीको पालना गरेको बताएका छन् । म कर्मचारीको अध्यक्ष, मैले कर्मचारीको कुरा नसुनेर कसको सुन्ने, उनीहरूको हकहितका लागि नलडेर कसका लागि लड्ने, मेरो त्यो लडाइँ मेरो व्यक्तिगत नभई मेरो पद थियो । यसका लागि मलाई दोषी भन्न मिल्दैन । मैले त्यसबेला जे गरेँ त्यो अध्यक्षको नाताले एकदमै राम्रो गरेको हुँ, त्यसमा मलाई कुनै पछुतो छैन । अर्को कुरा राणालाई मान्यता नदिनुमा उनी नातावाद, कृपावाद, चाकरी र चाप्लुसीको ओलम्पिक कोटामा नपरेको पनि बुझिएको छ । एनओसीमा मान्यता पाउन सर्वप्रथम नेवार हुनुपर्छ, त्यसपछि नातावादमा पर्नुपर्छ, अन्त्यमा आफ्नो दलको कार्यकर्ता हुनुपर्छ । साँचो अर्थमा भन्नुपर्दा एनओसीमा नातावाद र पार्टीको बाहुल्य मौलाउँदै गएको छ । त्यस्तो ठाउँ राणा पुगे सोझै अनुमान लगाउन सकिन्छ, एक सय चारवर्षे शासनकालको । यो भूत अहिले पनि आमनेपालीको मानसपटलमा ताजै छ ।
प्रक्रिया पु-याएर गरिएको निर्वाचनलाई ओलम्पिक चार्टरअनुरूप पनि मान्यता दिनुपर्छ । यसका लागि बार्गेनिङ हुन्छ भने त्यो कदापिको ओलम्पिकको चार्टरमा पर्दैन । नेपाल ओलम्पिक कमिटीको कुरा गर्ने हो भने जहिले पनि एनओसीले भन्दै आएको कुरा हो ‘सङ्घमाथि कसैले हस्तक्षेप गर्नु हुँदैन ।’ तर, अहिले आएर एनओसी आफैँ कुरामाथि पलटवार गरिरहेको छ । सरकारी निकायबाट राष्ट्रिय सङ्घहरूमा हस्तक्षेप नभएको अवस्थामा खुद एनओसी हस्तक्षेप गरिरहेको छ । साँचो अर्थमा भन्नुपर्दा अहिले सङ्घहरू सरकारी निकायभन्दा पनि ओलम्पिक कमिटीबाट पीडित र प्रतापिड छन् । यसका उदाहरणको रूपमा धेरै सङ्घलाई लिन सकिने भए पनि अहिलेको ज्वलन्त उदाहरणको रूपमा कुस्ती सङ्घलाई लिन सकिन्छ । आखिर किन एनओसी लोकतान्त्रिक अभ्यासबाट निर्वाचित भएको सङ्घलाई भन्दा नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेर जेल सजाय काटिरहको व्यक्तिलाई कुस्ती सङ्घको अध्यक्षको रूपमा हेर्न चाहन्छ ? के यस्तै कुरा ओलम्पिक चार्टरमा लेखिएको छ ? भएभरका अपराधीलाई ओलम्पिकमा भित्याउनु भनेर । यसको उत्तर एनओसीले दिनैपर्छ ।
ओलम्पिकको मर्म प्रत्यक्ष रूपमा खेलाडी र त्यसका सङ्घसँग गाँसिएको हुन्छ । त्यसमा कुनै बार्गेनिङ गर्नै मिल्दैन । यदि त्यस्तो गरिन्छ भने त्यो खेलकुदको मान्यता र भावनाविपरीत हुन्छ । अझ एनओसीका पदाधिकारीहरूले आफूलाई खेलकुदमा मात्र सीमित नराखेर जनताको नेताको रूपमा समेत आफूलाई चिनाइरहेका छन् । यस्ता व्यक्तित्वहरूले समग्र खेलकुदको विकासका लागि काम गर्नुपर्ने हो । तर, विडम्बना ! उनीहरू झिनामसिना कुरामा अल्झिएर झिँगेदाउमा रमाइरहेका छन् । एनओसी विवादले आधा दशक पार गर्न लाग्दासमेत उनीहरू कानमा तेल हालेर बसेका छन्, अनदेखी, अनसुनी गरेर । त्यस्तै राष्ट्रिय सङ्घहरूको विवादको समाधानमा पनि एनओसीले कुनै ठोस कदम चाल्न सकेको छैन । उल्टै एउटालाई पाखा लगााउने र अर्कोलाई काखी चाप्ने घिनौलो खेलमा लिप्त रहेको छ । अर्को महत्वपूर्ण कुरा ओलम्पिकलाई अहिलेसम्म पारदर्शिताको साँचोमा ढाल्न सकेका छैनन् । उल्टै ओलम्पिकका पदाधिकारीहरू आफूले गरेको अनियमितता र गैरकानुनी हरकतलाई ढाकछोप गर्न एकले अर्कोलाई साथ दिइरहेका छन । अझ यिनै पदाधिकारीहरू आफूलाई सर्वोत्कृष्ट भन्दै गाइनेगीत गाउनमै व्यस्त छन् । अनि कसरी हुन्छ खेलकुदको विकास र विस्तार सोझै अड्कल र अनुमान लगाउन सकिन्छ ।
ओलम्पिक कमिटीले आफ्नो स्वार्थका लागि कहिल्यै निर्वाचन गर्नुहुँदैन । ओलम्पिक चार्टरमा पनि यही कुरा उल्लेखित छ । जसलाई विश्वभरि अङ्गीकार गरिएको छ । तर, विडम्बना ! नेपालमा सीमित व्यक्तिको स्वार्थअनुरूप सङ्घको निर्वाचन हुँदै आएको जगजाहेर छ । उनीहरूले चाहेको व्यक्तिभन्दा अर्को व्यक्तिले एनओसीमा प्रवेश नै पाउँदैन । यदि उनीहरूको सोच र रुचिबेगरको व्यक्ति आयो भने त्यसको हालत राणाको कुस्ती सङ्घजस्तै हुन्छ । यस्तो अवस्थामा सङ्घले ओलम्पिक कमिटीको दासत्व स्वीकार्नुको अर्को विकल्प रहँदैन । आफू मालिक बन्ने र भोटबैंकको रूपमा सङ्घहरूलाई परिचालन गर्ने एनओसीको गलत सोचका कारण आज खेलकुदमा गुट, उपगुटको जन्म भएको छ । त्यसको प्रत्यक्ष सिकार एनओसी पनि भएको छ । जसले सङ्घका पदाधिकारीका नाममा एनओसीलाई भोटको राजनीति गर्ने थलोको रूपमा विकास गरेको छ । अनि ठोकुवाका साथ भन्न सकिन्छ– यस्ता व्यक्तिबाट खेलकुद विकास कसरी हुन्छ भनेर ।
सर्वप्रथम नियत सफा हुनुप-यो, देशको कानुनलाई मान्नुप-यो, आफू सच्चिनुप-यो । केही उदारहणीय कार्य गरेर देखाउनुप-यो । तर, यहाँ मुलुकको कानुनी प्रक्रियाबाट भएको निर्वाचनलाई मान्यता प्रदान गर्न राजनीति गर्नेलाई कसरी पत्याउने ? लेख्नु कति लेख्नु, उनीहरू गैंडाको छाला भइसकेका छन् । जति गोली हाने पनि गैंडाको छालामा प्वाल नपरेझँै ओलम्पिक कमिटीका पदाधिकारीहरूको घैंटोमा घाम लाग्दैन । एनओसीका सबै क्रियाकलाप अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठको मौखिक आदेशबाटै हुन्छ । यी दुवैको सहमतिमा मुखैको भरमा सबै काम हुँदै आएको छ । उनीहरूले ओलम्पिकमा जत्रो ताण्डप मच्चाए पनि अन्य कार्यसमितिका पदाधिकारीहरू मूकदर्शक मात्र बनेका छन् । भिजेको मुसाजस्तै । सही कुराको सही निर्णय र सल्लाह दिनसमेत नसक्ने उनीहरू पनि दोषी मात्रै होइन नपुंषक सावित भएका छन् ।

खेल समाचार
शाहीको नाङ्गो नाच
नेपाल स्पोर्टस् फर अलका अध्यक्ष लोकबहादुर शाहीले नाङ्गो नाच प्रदर्शन गरेको भन्दै सम्बद्ध खेलाडी एवम् खेलप्रेमीहरू रुष्ट बनेका छन् । स्पोर्टस् फरमा आफूखुसी निर्णय गर्दै आएका शाहीले त्यसलाई निरन्तरता दिँदै गोप्य रूपमा साधारणसभा गरेर तानाशाही बन्ने प्रयास गरेको आरोप लगाइएको छ । क्लबका संस्थापक सदस्य, कार्यकारी समितिका सदस्य र साधारण सदस्यलाई कुनै जानकारी नदिई शाहीले गैरकानुनी रूपमा क्लबको निर्वाचन गरेका हुन् ।
नेपाल स्पोर्टस् फर अलको गठनसँगै शाहीले क्लबलाई आफूखुसी चलाउँदै आएका छन् । आफ्नो तालसुरमा क्लबलाई चलाउन थालेपछि कोषाध्यक्ष दीपक शाहीले शाहीको कदमप्रति असन्तुष्टि प्रकट गर्दै दुई महिनापश्चात् नै निस्क्रिय भएका थिए । क्लबको आयस्रोत के हो, हिसाबकिताब दुरुस्त राख्नुपर्छ भन्दा शाहीले आनाकानी गरे, जसका कारण दीपक शाही नाम मात्रको कोषाध्यक्ष बन्न पुगेका थिए । यसपछि उनले क्लबले गर्ने कुनै पनि क्रियाकलापमा आफ्नो सहभागिता नरहने भन्दै क्लबबाट अलग्गिए । यसपछि पनि नसुध्रिएका शाहीले पैसाको बलमा क्लबलाई हाँक्ने प्रयास गर्दा सचिव राधेश्याम दाहाल पनि क्लब आउन छाडेका थिए । दाहाल अहिलेसम्म क्लबको गतिविधि र क्रियाकलापबारे मौनता साँधेर बसेका छन् ।
क्लबले अहिलेसम्म जनकपुर, इलाम र काठमाडौंमा गरी तीनवटा ‘नेपाल कप फुटबल’ प्रतियोगिताको आयोजना गरिसकेको छ । तीनवटा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्दा लाखौँ रकम खर्च भए पनि हिसाबकिताबको नाममा एउटा गोश्वारा भौचरसमेत तयार पारिएको छैन । आम्दानी–खर्च सबै शाहीले गोप्य राखेका छन् । यसबारेमा बैठकमा छलफल गर्दा मैले चोरेर ल्याए पनि जहाँबाट ल्याए पनि रकम ल्याएको छु, तपाईंहरू चुप लागेर बस्नुहोस् भन्ने शाहीको जवाफ हुन्थ्यो । आखिर रकम जहाँबाट आए पनि त्यसको हिसाबकिताब राख्नुपर्छ, यो संस्था हो सिस्टममा चल्नुपर्छ भन्दा पनि शाहीले क्लबलाई आफ्नो पेवाको रूपमा सञ्चालन गरिरहेका छन् । क्लबको खाता भए पनि आम्दानी–खर्च खाताबाट नभई व्यक्तिगत रूपमा गर्दै आएका छन् ।
क्लब व्यक्तिगत रूपमा चल्नुहुँदैन, सिस्टमअनुसार चल्नुपर्छ भनेर थुप्रैपटक क्लब पदाधिकारीहरूले अध्यक्ष शाहीलाई सुझाव दिँदासमेत उनले क्लबलाई तानाशाही तरिकाले हाँक्न नछोडेपछि यसप्रति असन्तुष्टि प्रकट गर्दै गत जेठ २२ गते उपाध्यक्ष श्रीविक्रम भण्डारी, सचिव राधेश्याम दाहाल र सहसचिव रामसुदन तिमल्सिनाले सामूहिक रूपमा आफ्नो पदबाट राजीनामा दिएका थिए । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष चारैजना कार्यसमितिबाट बाहिरिएपछि शाहीले सन्त्रासले गोप्य रूपमा साधारणसभा गरेर स्वघोषित अध्यक्ष बनेका हुन् । शाहीले साधारणसभामा कार्यकारी समितिमा रहेका उपाध्यक्ष उमेश लामा, सदस्य मणि शाह, मुकेश शाही, बुद्धिबहादुर अधिकारीलगायत कसैलाई पनि जानकारी गराएका थिएनन् भने राजीनामा दिनेलाई त बोलाउने कुरै भएन । प्राप्त जानकारीअनुसार मणि शाह र मुकेश शाही गणेश थापाका विरोधी र क्लब स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उमेश लामालाई पछिल्लो समय राधेश्याम दाहालनजिक भएका कारणले शाहीले जानाजानी साधारणसभामा नबोलाएको बुझिएको छ । तर, विधानसम्मत साधारणसभा गर्नुभन्दा दुई साता पहिले सम्पूर्ण सदस्यलाई जानकारी गराउनुपर्छ । साधारण सदस्यलाई जानकारी नदिई गरिएको कुनै पनि क्रियाकलापले वैधानिकता पाउँदैन । त्यसैले शाहीले गरेको गोप्य साधारणसभा पनि गैरकानुनी छ ।
अर्को महत्वपूर्ण कुरा पत्रकारलाई काउन्टर दिन शाहीले पत्रकारलाई हतियारको रूपमा प्रयोग गरे । उनले नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुँयाललाई अतिथि बनाए र उनैको हातबाट प्रमाणपत्रको सिदा थापे । यहाँ बिर्सन नहुने कुरा के हो भने जुन पत्रिकामा फुँयाल कार्यरत छन् त्यही पत्रिकाले अहिलेसम्म नेपाल स्पोर्टस् फल अलले गर्दै आएका गतिविधिका समाचार बाइपास गर्दै आएको थियो, अर्थात् अहिलेसम्म एउटै समाचारसमेत छापेको छैन । उक्त पत्रिकाले क्लबको सबैखाले समाचार नछापेपछि अर्थात् बाइपास गरेपछि स्वयम् अध्यक्ष शाहीले पत्रिकाको वार्षिक ग्राहकसमेत बन्द गरेका थिए । तर, आज यी दुवैको घाँटी कसरी जोडियो सबै आश्चर्यचकित भएका छन् । त्यसैले २१औँ शताब्दीमा पनि शाहीको तानाशाही चरित्र र सकुनी चाल देख्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भएको छ ।

सदस्यसचिव लामाको भव्य बिदाइ
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई गत साता एक भव्य कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपाल कराते महासङ्घ र राखेप परिवारले आयोजना गरेको कार्यक्रममा लामासँगै नियुक्त भएका इन्द्रबहादुर थिङ, मुकुन्दबहादुर पहरी, पहलसिंह घर्तीमगर, कुसुमकुमारी श्रेष्ठ र नम्बर शेर्पा ह्योल्मोको पनि सोही अवसरमा बिदाइ गरिएको थियो । त्यस्तै पदावधि बाँकी रहेका सदस्य देवकुमार लामाले त्यसै कार्यक्रममा पद त्यागको घोषणा गर्दै बिदाइ कार्यक्रममा सहभागी भएका थिए । देव राष्ट्रिय खेल सङ्घको कोटामा सदस्यमा नियुक्त भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले चारवर्षे कार्यकालमा खेलकुदको विकासमा जे–जति काम भए त्यसमा आफू र आफ्नो टिमको प्रयासले मात्र सम्भव नभएको बताउँदै त्यसमा राष्ट्रिय खेल सङ्घ, कर्मचारी, प्रशिक्षक, खेलाडी, मिडियालगायतको सहयोगले सम्भव भएको बताए । सदस्यसचिव लामाले खेलकुदमा नेतृत्व गर्न आउने कुनै दल वा व्यक्ति विशेषको झगडाका कारण खेलकुदको विकासमा बाधा नहुनुपर्नेमा जोड दिएका थिए । राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिनाकले सदस्यसचिव लामाले खेलकुद विकासको एजेन्डामा फरक दलका आफ्ना टिमका सदस्यलाई कहिल्यै निषेध नगरेको स्मरण गर्दै सदस्यसचिव लामाले प्रदर्शन गरेको खुबी र क्षमताको सरकारले कदर गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै, नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले अब आउने नेतृत्वले सदस्यसचिव लामाले बनाइदिएको गरेटोको दायाँ, बायाँ नलागी खेलकुदको विकासमा लागे राम्रो हुने विचार व्यक्त गरेका थिए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले सदस्यसचिव लामाको कार्यकालमा खेलाडीलाई उत्साहित र पुरस्कृत गर्ने थुप्रै काम भएको बताउँदै खेलाडीको हकहितका लागि सदैव सकारात्मक पाएको अनुभव सुनाए । राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले कर्मचारीको पक्षमा सदस्यसचिव लामाको सोच सकारात्मक भएको बताएका थिए ।
सदस्यसचिव लामाले मन्तव्य अघि आफ्नो चारवर्षे कार्यकालमा भए गरेका कामका साथै खेलकुदको विकासमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित प्रतिवेदन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्ने गरी पिताम्बर तिम्सिनालाई तथा राखेप संरक्षक एवम् प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्ने गरी नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई प्रदान गरेका थिए ।

करेन्ट लागेर श्रेष्ठको निधन
अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष तथा थ्री स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ । २९ गते शुक्रबार नयाँ घर भैंसेपाटी सरेका श्रेष्ठको करेन्ट लागेर निधन भएको हो । छिमेकीको घरबाट ल्याएको नयाँ विद्युत् लाइन मिलाउने क्रममा श्रेष्ठ करेन्ट लागेर ढलेका थिए । उनलाई तत्कालै जावलाखेलस्थित अल्का अस्पतालमा पु-याए पनि चिकित्सकले श्रेष्ठलाई मृतक घोषणा गरेका थिए । प्राप्त जानकारीअनुसार नयाँ घरमा सर्ने साइत मलमासका कारणले थुप्रै समय लाग्ने भएकाले श्रेष्ठ २९ गते शुक्रबार नै नयाँ घरमा सरेका थिए ।
मृत्युपश्चात् श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार ललितपुरको मंगलबजारस्थित थ्री स्टार क्लब परिसरमा राखिएको थियो । त्यसपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको परिसरमा राखेर श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो । एन्फा परिसरमा श्रेष्ठलाई सभामुख सुभावचन्द्र नेवाङ, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा नेपालका अध्यक्ष कमल थापा, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र फुटबल खेलाडीले श्रद्धाञ्जली दिएका थिए । सोही दिन श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । स्वर्गीय श्रेष्ठका पत्नी, एक छोरा र एक छोरी छन् ।
४९ वर्षीय श्रेष्ठ थ्री स्टार क्लबका खेलाडी र पदाधिकारी हुँदै एन्फामा प्रवेश गरेका थिए । विगत दुई दशकदेखि एन्फाका विभिन्न पदमा कार्यरत श्रेष्ठ केही महिना पहिले मात्र एन्फाको कार्यवाहक अध्यक्ष बनेका थिए । श्रेष्ठको निधनप्रति खेलकुदप्रति आबद्ध सङ्घसंस्थाले गहिरो समवेदना प्रकट गरेका छन् । त्यस्तै अखिल फुटबल सङ्घका अध्यक्ष तथा सभासद् गणेश थापाले श्रेष्ठको दुःखद् निधनप्रति समवेदना प्रकट गर्दै आफूले सबैभन्दा विश्वासिलो मित्र तथा भाइ गुमाएको बताएका छन् । यो फुटबलका लागि अपूरणीय क्षति हो भन्दै श्रेष्ठको आत्मको चिरशान्तिको कामना उनले गरेका छन् ।

स्वयम्सेवक प्रशिक्षक महासङ्घ गठन
गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) को अध्यक्षतामा २१ सदस्यीय नेपाल स्वयम्सेवक प्रशिक्षक खेलकुद महासङ्घ तदर्थ समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद्मा महासङ्घ एक सय ४८औँ सङ्घका रूपमा दर्ता भएको हो । नवगठित महासङ्घको सहअध्यक्षमा शमशेर थापा, वरिष्ठ उपाध्यक्षमा बद्रीकुमार खत्री, उपाध्यक्षद्वयमा चित्रबहादुर रानामगर, कालीबहादुर घर्तीमगर र महासचिवमा रामकुमार थारू तथा कोषाध्यक्षमा ज्ञानबहादुर जिम्बा रहेका छन् । त्यस्तै सदस्यहरूमा जसबहादुर पुन, वसन्त पाख्रिन, अर्जुन केसी, योगेन्द्र थापा, राजेन्द्रप्रसाद लामिछाने, सन्जित सिंह, तिलक सिँजाली, गोपाल राई, प्रदीप थापा, प्रनिर अधिकारी, प्रकाश कुसारी, श्याम अधिकारी, पुष्पराज गिरी तथा नेत्रबहादुर लामा छन् । महासङ्घका अध्यक्ष खपाङ्गीले देशभरि छरिएर रहेका स्वयम्सेवक प्रशिक्षकको हकहितका लागि अवाज उठाउने बताए ।

टेबलटेनिस टोली दिल्लीमा
दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली भारतको नयाँदिल्ली पुगेको छ । जुन १७ देखि १९ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच पुरुष र पाँच महिला खेलाडीले सहभागिता जनाएका छन् । पुरुषको जुनियरमा सुबोध लिम्बू, महावीर चौधरी र डिकेन महर्जन तथा क्याडेटमा श्यान्टु श्रेष्ठ र रितिज जोशी रहेका छन् । महिलाको जुनियरमा नोरदेन तामाङ, रेनुका रानामगर र रूपा लिम्बू तथा क्याडेटमा दीक्षा तामाङ र सुकृति श्रेष्ठ छन् । टिम व्यवस्थापकमा जयन्त बास्तोला तथा प्रशिक्षकमा राजेन्द्र श्रेष्ठ रहेका छन् ।

नगरकोटीलाई सदस्यसचिवको जिम्मेवारी
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्की सदस्य शकुन्तला नगरकोटीलाई राखेपको सदस्यसचिवको जिम्मेवारी दिएको छ । ‘राखेपको तत्काल दैनिक कार्य सञ्चालन गर्न आवश्यक भएकोले तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्यसचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको व्यहोरा नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७२÷२÷३२ को निर्णयानुसार अनुरोध छ । खेलकुद विकास ऐन, २०४८ तथा नियम, २०४९ बमोजिम परिषद्को दैनिक कार्य (आर्थिकसमेत) सञ्चालन गर्न हुन निर्णयानुसार अनुरोध छ ।’ खेलकुद मन्त्रालयका सहसचिव शशिशेखर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । २०२१ सालमा राखेप स्थापना भएयता कुनै पनि महिलाले सदस्यसचिवको पूर्ण जिम्मेवारी पाएको यो पहिलो अवसर हो ।
नगरकोटीले सोमबारै त्रिपुरेश्वरस्थित कार्यकक्षमा पदभार सम्हालिन् । नगरकोटी गत वर्षको जेठ २९ गते लामा टेन्डी शेर्पा (हाल राखेप उपाध्यक्ष) र सुरेन्द्रबहादुर हमाल (हाल सदस्य¬) सँगै क्याबिनेटबाट सदस्यमा नियुक्त भएकी थिइन् । नगरकोटी नेकपा एमालेको कोटामा सदस्यमा नियुक्त भएकी हुन् । ०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मेकी नगरकोटीले कबड्डी र भलिबलको राष्ट्रिय प्रतियोगितामा खेलाडीका रूपमा सहभागिता जनाइसकेकी छिन् । ०६३ देखि ६६ सम्म डडेल्धुरा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष रहेकी नगरकोटी ०६४ देखि हालसम्म डडेल्धुरा जिल्ला भलिबल सङ्घकी अध्यक्ष छिन् । नगरकोटी नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिवालयकी सदस्य एवम् डडेल्धुरा जिल्ला पार्टीकी उपसचिव हुन् ।
पदवहालीअघि राखेप हातामा आयोजित स्वागत कार्यक्रममा नगरकोटीले दैनिक कामकाज सुचारु गर्न आफूलाई जिम्मेवारी दिइएको बताउँदै खेलकुदको विकासका निम्ति सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरिन् । राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले सदस्यसचिवको जिम्मेवारी पाएकोमा नगरकोटीलाई बधाई दिँदै पदमा रहुन्जेल संस्थाको प्रगतिका लागि काम गर्ने विश्वास व्यक्त गरे । चारवर्षे कार्यकाल पूरा गरी सदस्यसचिव पदबाट युवराज लामाले जेठ २८ गते औपचारिक बिदाइ लिएपछि उक्त पद रिक्त थियो ।