मन्त्रालयद्वारा कराते महासंघको एकीकरणको घोषणा

मन्त्रालयद्वारा कराते महासंघको एकीकरणको घोषणा


दुई कराते महासंघको महत्वपूर्ण एकीकरण भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरी युवा तथा खेलकुद मन्त्रालयमा एकीकरणको घोषणा गरिएको हो । सुनसरीको इनरुवानिवासी ६३ वर्षीय आचार्य नेपालमा कराते प्रतिबन्धित समयदेखि करातेमा संलग्न थिए । त्यसबेला आचार्यले करिब २ वर्ष कराते खेलेका थिए । पछि आचार्य करातेको प्रशासकीय कार्य पनि संलग्न भए ।

यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई कराते महासंघ अस्तित्वमा थिए । राखेपका सदस्य दावा गुरुङ अध्यक्ष रहेको कराते महासंघलाई राष्ट्रिय मान्यता थियो भने राखेपका पूर्वसदस्य एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराते महासंघलाई अन्तर्राष्ट्रिय मान्यता थियो । एकीकृत २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा गुरुङ सहअध्यक्ष तथा लाखे उपाध्यक्ष छन् ।

त्यस्तै महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा बीआर मित्र र श्याम शेर्पा तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ छन् । छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गा गौतम परिवार, रवि महर्जन र मिङमा तामाङ सदस्यमा चयन भए ।

पुनर्गठित कार्यसमितिलाई समयसापेक्ष विधान संशोधन गर्नुका साथै राखेपबाट स्वीकृत गराई ३ महिनाभित्र निर्वाचन गर्न समयसीमा दिइएको छ । अध्यक्षले भने निर्वाचनमा उम्मेदवारी दिन नपाउने प्रावधान छ ।

एकीकरण घोषणा कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका उपाध्यक्ष एवं राष्ट्रिय संघ विवाद, समस्य तथा समाधान सहजीकरण समितिका संयोजक पीताम्बर तिम्सिना, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, पुनर्गठित कराते महासंघका पदाधिकारीलगायतको उपस्थिति थियो । सो अवसरमा पदाधिकारीहरूलाई पत्रसमेत हस्तान्तरण गरियो ।

कार्यक्रममा सांसद श्रेष्ठले विवाद समाधान गर्न नसक्दा अपेक्षित परिणाम आउन नसकेको बताउँदै दुवै पक्षको त्याग र समर्पणको प्रशंसा गरे । खेलकुद मन्त्रालयका सचिव देवकोटाले दुवै पक्षको उदारताका कारण एकीकरण सम्भव भएको बताए । सहजीकरण समितिका संयोजक तिम्सिनाले करातेको समस्या समाधान भएको र अब तेक्वान्दोको विवाद पनि चाँडै हल गर्ने बताए । सदस्यसचिव विष्टले विवाद अन्त्यले करातेको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै एकीकरणको प्रभाव करातेको तल्लोस्तरसम्म महसुस हुने गरी कार्यसमितिले पहल गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष आचार्यले दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने बताउँदै आफ्नो कारणले कोही पनि दुःखी हुने अवस्था नआउने बताए । सहअध्यक्ष गुरुङले करातेले निकास पाओस् भन्ने उद्देश्यले आफू पछि हटेको बताउँदै अब एक भएर अगाडि बढ्नुपर्ने बताए । उपाध्यक्ष लाखेले विगतको तिक्ततालाई बिर्सेर एक भई अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै करातेको विकासमा योगदान दिन कुनै कन्जुस्याइँ गर्ने प्रतिबद्धता जनाए ।

दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विवादकै कारण १७औँ इन्चोन एसियाडमा कराते खेलाडीले भोग्नुपरेको समस्याको स्मरण गर्दै व्यक्तिगत स्वार्थका लागि संस्थालाई विवादित बनाउन नहुने धारणा राखेका थिए ।

सहजीकरण समिति गठन भएयता करातेसहित ३ खेल संघको एकीकरण भएको छ । यसअघि माघ ९ गते जिम्न्यास्टिक तथा फागुन १२ गते मोडर्न पेन्टाथलन संघको एकीकरण भएको थियो ।