पर्यटन व्यवसायका ‘पायोनियर’ नै थिए आङछिरिङ

पर्यटन व्यवसायका ‘पायोनियर’ नै थिए आङछिरिङ


नेपाली पर्यटन क्षेत्रमा भरियाको रुपमा छिरेका आङछिरिङ शेर्पा नेपालकै शक्तिशाली पर्यटन व्यवसायीमा दर्ज भएका थिए । झण्डै ५० अर्ब बढि पर्यटन क्षेत्रमा लगानी गरेर हजारौंलाई रोजगारी दिएका थिए शेर्पाले । पर्यटन क्षेत्रबाटै मुलुकको आर्थिक विकास गर्न सकिने संकल्प लिएका शेर्पाको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

सोलुखुम्बुको खरीखोलामा जन्मिएका आङछिरिङ शेर्पा पर्यटन व्यवसायका ‘पायोनियर’ नै मानिन्छन् । पर्यटन व्यवसायमा जम्नुअघि ठूलै संघर्ष गरेका शेर्पाले ट्रेकिङ क्षेत्रमा भरिया र किचेन ब्वाइका रुपमा गरे । सन् १९९० पछि पर्यटन व्यवसायीको रुपमा उदाउँदै त्यसयता नेपालकै शक्तिशाली पर्यटन व्यवसायीमा दरिएका थिए आङछिरिङ ।

हवाई व्यवसायका ‘गेम मेकर’
नेपालको हवाई व्यवसायमा ‘गेम मेकर’ को रुपमा उदाएका शेर्पा बुधबार ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा परी यस संसारबाट विदा भए । यति एयरलाइन्स, तारा एयरलाइन्स र पछिल्लो पटक हिमालय एयरलाइन्समा शेर्पाको लगानी छ । ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा पनि व्यवसायी शेर्पाको साझेदारी थियो ।

ट्राभलदेखि रिसोर्टसम्म लगानी
उडड्यन व्यवसायमा मात्र होइन उनले होटल, ट्राभल, रिसोर्टमा समेत लगानी गरेका छन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्ट, थामसेर्कु ट्रेकिङ, नाम्चेमा यति माउन्टेन होम्सदेखि झापामा बन्दै गरेको होटल मेची क्राउनमा समेत उनको लगानी छ । शेर्पाले हिमाली क्षेत्र मुस्ताङ, नाम्चेदेखि पोखरा र पूर्वसम्ममा होटल तथा रिसोर्ट स्थापना गरिसकेका थिए । नेपाली पर्यटन क्षेत्रलाई उचाई दिन सफल भएका व्यवसायी शेर्पाको मुलुकप्रतिको योगदान अतुलनिय रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भनाई छ ।

१५ वटा जहाज सञ्चालनमा
शेर्पाको परिवारमा भएको यो तेस्रो ठुलो दुर्घटना पनि हो । २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा उद्धारमा जाँदा सोलुखुम्बुको बासामा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो । भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भयो ।

सन् १९९८ मा शेर्पा दाजुभाई मिलेर यति एयरलाइन्स स्थापना गरे । सन् १९९८ को सेप्टेम्बरमा यतिको ट्विनअटर जहाजले व्यावसायिक उडान ग¥यो । यति एयरलाइन्सको उडानले उचाई लिइरहेको समयमा आङछिरिङले सन् २००९ मा तारा एयरको अर्काे एयरलाइन्स कम्पनी पनि स्थापना गरे । यति एयरसँग ३ एटिआर र ६ जेटस्ट्रिम गरी ९ वटा जहाज छन् । तारा एयरसँग ६ वटा जहाज छन् । दुवै कम्पनीको जोड्दा आङछिरिङको स्वामित्वमा आन्तरिक उडानतर्फ १५ वटा जहाज सञ्चालन हुँदै आएका छन् । यी जहाजले दैनिक ६० उडान गर्छन् । सन् २०१४ मा नेपाल चीन संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्समा पनि शेर्पाको लगानी छ । शेर्पालाई पर्यटनमा आफु अनुकुल नीति बनाउने गरेको आरोप पनि नलागेको होइन् ।

खासगरि पर्यटन मन्त्रालय, नेपाल नागरिक उडड्यन प्राधिकरण र लुम्बिनी विकास कोषमा उनको निर्णय लागू हुने आरोप उनी माथी थियो । तर नेपाली पर्यटन क्षेत्रमा शेर्पाले पु¥याएको योगदानको उच्च कदर राज्यले गर्र्नैपर्ने होटल संघ नेपालका महासचिव विनायक शाहको ठम्याई छ ।

पर्यटन क्षेत्रमा ५० अर्बमाथिको लगानी
नेपालको पर्यटन क्षेत्रमा शेर्पाको लगानी कति छ भनेर यकिन गर्न गाह्रो हुने उनका समकक्षीहरु बताउँछन् । उनका लगानी यत्रतत्र भएकोले ५० अर्बभन्दा माथि हुन सक्ने आशंका पनि छ । शेर्पा पर्यटन क्षेत्रमा एक योद्धा भएकोले नेपालको पर्यटनमा नयाँ आइडिया ल्याउने र त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने आँट उनमा थियो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै दुर्घटनामा परेका शेर्पा पर्यटन क्षेत्रमा आशाको दियो भएपनि उनि लामो समय भने रहन सकेनन् ।