नागरिकले नै मृत्यु रोजेपछि– विनोद त्रिपाठी

नागरिकले नै मृत्यु रोजेपछि– विनोद त्रिपाठी


nice phorto२०७२ जेठको अन्तिम सोमबार । भरतपुरको उखरमाउलो गर्मी । वीरेन्द्र क्याम्पस चोकमा एक परिचित शिक्षकसँगको भेट । ती शिक्षकसँग थिए अरू दुईजना । हामी भूकम्पीय गफमा एकछिन केन्द्रित भयौँ । अर्का एक मित्रका गफ गर्मीमा निकै उर्लिए, ‘जहाँ बसे पनि हुन्छ । भूकम्प आए पनि केही हुँदैन । गर्मीले नि भेट्दैन ।’ मौसमीय तातोभन्दा उनका कुरा निकै गर्माए । उनको यही चोकमा साढे पाँचतले टावर आकारको घर रहेछ । सबैभन्दा माथि उनको परिवार बस्ने रहेछ । अरू तला भाडामा लगाएका । उनी ढुक्क मात्र छैनन्, वैशाख १२ गतेदेखि आएका भूकम्प दन्तेकथाजस्तो मानेका रहेछन् । खिरिलो घरमा उनले भूकम्पको जोखिम देखेका रहेनछन् । भूकम्पको सतर्कतासम्बन्धी विषय उनलाई पटक्कै मन नपर्ने रहेछ । आफैँ उदाहरणीय बनेर नै उनी निर्धक्क पाँचौँ तलामाथि बस्दा रहेछन् ।
भूकम्पबाट कम क्षति पु-याएका जिल्लाका उनी एक प्रतिनिधि पात्र हुन् । भूकम्प गएको दुई महिना बित्न नपाउँदै हामी नेपालीले यो विपत्ति बिर्सन थालिसकेका छौँ । बरु अन्तर्राष्ट्रिय समुदाय यसमा जागै छ । हाम्रो यो बिर्साइमा सकारात्मक पाइला छैन । पीडा भुल्ने आधार पनि होइन । झन् सतर्कतालाई लापरबाहीमा बदल्ने सिलसिला उस्तै रहेछ भन्ने यी प्रतिनिधि पात्र उदाहरण हुन् । हामी भीरमा घर बनाउँछौँ, अनि भन्छौँ– घर लड्यो । हामी नदीको तीरमा घर खोज्छौँ, अनि भन्छौँ– सर्वस्व बगायो । हामी जङ्गलछेउ बस्छौँ, अनि भन्छौँ– जङ्गली जनावरले बित्यास पा-यो । हामी बस्तीदेखि टाढा बस्छौँ, अनि हामी नै मानवीय सङ्कट व्यहोर्छौं । र हामी घरको तलामाथि तला थप्छौँ, अनि त त्यही तलाले पार्ने थला ख्याल गर्दैनौँ । हाम्रो बाध्यताले पार्ने समस्या र हामीले बुझेर निम्त्याएको सङ्कटका विषय चर्चा अहिले निकै सान्दर्भिक बनेको छ । यी दुई विषय हेर्दा रूपमा उस्तै लागे पनि यसका गहन पक्षमा निकै भिन्नता छ ।
सरकारले गर्नुपर्ने दायित्वबाट चुकेपछि हामी आफैँले सुरक्षित उपाय अवलम्बन गर्नुपर्छ । हाम्रो सरकारले बसोबास क्षेत्र नतोकिदिएपछि हामी स्वयम्ले सुरक्षित क्षेत्र रोज्नुपर्छ । सरकारले सुरक्षाका विषय स्पष्ट कानुन लागू गर्न नसकेपछि हामीले नै सुरक्षित हुने नियम बसाउन सक्नुपर्छ । सरकारकै आँखा छलेर जोखिम क्षेत्र हामीले रोज्न हुँदैन । सरकारलाई झुक्याएर हामीले आफैँ पर्ने पासो बनाउन हुँदैन । हाल गइरहेको भूकम्पबाट पु-याएको क्षतिको विवरण हेर्दा यी विषय हाम्रा सामुन्ने आएका छन् । अन्य मुलुकमा घर बनाउने, पसल गर्ने, उद्योग राख्ने, अस्पताल चलाउनेलगायतका क्षेत्र निर्धारण गरिदिएको हुन्छ । सरकारले तोकेको स्थानबाहिर गएर निर्माण गर्न पाइँदैन । त्यो नियम नागरिककै हितका लागि हो । तर, हाम्रोमा यस्तो कानुन छैन । फलस्वरूप अहिले यो क्षति व्यहोर्न पुग्यौँ ।
भूकम्पले बढी क्षति पु-याएका जिल्लामा नागरिकबीच सचेतनाभन्दा पीडाले झस्काएको छ । कम क्षति व्यहोरेका जिल्लाका बासिन्दामा भूकम्पअघिकै जस्तो उन्मत्त कायम छ । उस्तै रवाफ छ । उही अभिमानको उचाइ छ । हामी नेपाली स्वयम् पीडित हुँदैनौँ, तबसम्म हामी चेत्दैनौँ भन्ने सग्लो घर हुनेहरूको जनमत बुझ्दा स्पष्ट हुन्छ । चेतनशील व्यक्ति सधैँ सचेत हुन्छ । राज्यबाट निर्देशित कानुन पालना गर्छ । राज्यले गर्न नसकेका राम्रा विषयलाई समाजमा फैलाउन चाहन्छ । आफू पनि सुरक्षित हुन प्रयास गर्छ । अरूलाई पनि उत्प्रेरणा दिन्छ ।
हाम्रा बाध्यताप्रति हामी स्वयम् संवेदनशील छैनौँ । भात खाने खेत मासेर अग्लो घर बनाउँछौँ । रुखो, सुखो बलियो जमिन छोडेर नदीको तीरैतीर घर ठड्याउँछौँ । केही समथर जमिनमाथि भीर खोजेर घर निर्माण थाल्छौँ । राम्रो साग फल्ने बारीमै धन्सार बनाउँछौँ । यसपटकको भूकम्पमा हाम्रा संरचना मात्र भत्किएनन्, जमिन नै भासिएर घर धस्सिए । माटो मात्र भएको जमिन खेतीका लागि मात्र योग्य रहेछ भन्ने प्रमाणित गरिदियो । मलिलो माटोको जमिनमा घर बनाउनु अपराध नै रहेछ भन्ने गतिलो जवाफ मिलेको छ । राजधानीमा यसको उदाहरण बनेको छ गोंगबु र मित्रनगर क्षेत्र । भीरैभीर, नदीको तीरैतीर बस्न हुने रहेनछ भन्ने सिकाइदियो पहाडी बस्तीको क्षतिले । यस्ता क्षेत्र भूकम्पीय दृष्टिकोणले मात्र होइन, अन्य बाढी, पहिरो, चट्याङ आदिका कारणबाट पनि उत्तिनै संवेदनशील छन् भन्ने हेक्का राख्न जरुरी छ । नेपालमा व्यापारका दृष्टिकोणले नदीको तीरमा पसल, होटल राख्ने चलन बढ्यो । नदीको छेउ भएर निर्माण भएका सडकका किनारमा बसेका यस्ता बस्ती सबैभन्दा बढी जोखिममा छन् । यसको गतिलो उदाहरण हो, म्याग्दी जिल्लाको सदरमुकाम बेनी । अर्कोतर्फ जमिन हल्लिनेबित्तिकै भीरमा निर्माण भएका घरहरू सजिलै भत्किन्छन् भन्ने जान्ने प्रयास गरेनौँ हामीले । यसमा हाम्रा केही बाध्यता होलान् । तर, समग्र बस्तीको विकाससँगै आफू बस्ने स्थायी बास सुरक्षित होस् भन्ने बुझ्न जरुरी छ । ऐलानी र सरकारी जमिन हडपेर बस्ने क्षेत्रहरू नदी, जङ्गल, चौर आदिका बासिन्दा यो भूकम्पबाट ज्यादा पीडित भएका छन् । विपन्नताकै कारण धेरै जनधनको क्षति भएकोमा कसैको दुईमत छैन । तर, विपन्नतासँगै कतिपय अवस्थामा हाम्रो लोभकै कारण हामीले जोखिम निम्त्याइरहेछौँ । ग्रामीण क्षेत्रमा दुई प्रकारका मानिसको बसोबास छ । पहिलो पुख्र्यौैली परिवार र दोस्रोमा बसाइँ सर्ने परिवार । यो भूकम्पले यी दुवै वर्गका परिवार आहत छन् । परिवारका सदस्य गुमाएका छन् । हालसम्म कमाएको सम्पत्तिको नोक्सान व्यहोरेका छन् । यो विपत्तिमा उनीहरूको पीडा कहालीलाग्दो अवस्थामा छ । अहिले उनीहरूले पहिलेको गल्ती र कमजोरीको समीक्षा गर्न भ्याएका छैनन् । तर, त्यसको पाठबाट अन्य सग्लो बचेका बस्ती र जिल्लाका नागरिकले सिक्ने चासो नदेखाउनु सबैभन्दा उदेकलाग्दो पक्ष यो बनेको छ । कुनै क्षति नव्यहोरेका परिवारले भूकम्पको पीडालाई पीडाको रूपमा बुझ्नै सकेका छैनन् । यो अर्को झन् डरलाग्दो प्रवृत्ति हो । राजधानीमा जसको घर भत्कियो, त्यसैको अनुहारमा बादल लागेको छ । जसले परिवारको सदस्य गुमायो उसैका मात्र आँखा रसाएका छन् । यो अर्को झन् खतरनाक प्रवृत्ति हो । यो कुरा बुझ्न कहीँ जानैपर्दैन । यहाँका अहिले चर्केका घर रातारात टाल्नेहरू, टावरजस्ता घरहरूमा निर्धक्क बस्नेहरू, मापदण्ड मिचेर घर बनाउन अझै उत्साहित हुनेहरू, अग्ला घर काट्न अवरोध गर्नेहरू, छिमेकीलाई असर पार्नेगरी धराप निर्माण गर्नेहरूले पुष्टि गरिरहेका छन् । ग्रामीण क्षेत्रमा त झन् राम्रो सुझाब दिएको, गतिलो कुरा गरेको सुन्न नचाहने एकथरी नै स्वयम् पीडित बनेपछि हाम्रो अचेतन मस्तिष्क बाहिर आएको छ । सरकारले गर्न नसकेका र गर्न नजानेका हाम्रा जीवनोपयोगी विषय कुनै न कुनै नागरिकले जानेका हुन्छन् । उसले जानेका विषयलाई समाजले पछ्याउन सक्नुपर्छ । पैसाकै लोभमा जोखिम मोल्ने प्रवृत्ति अन्त्य हुन जरुरी छ । बाध्यता र विवशतामा हामीले आफ्नो विवेक गुमाएर भीर र नदीको किनारमा घर बनाउन हुँदैन । बारीको पाटा र मलिलो माटो मात्र भएको खेतमा बस्न हुँदैन । खिरिला टावर बनाएर अभिमानको रूप देखाउँदै रातारात धनी बन्ने सपना पनि देख्न हुँदैन । दैवीविपत्तिलाई रोक्न नसके पनि हाम्रो चेतनाले धनजनको क्षतिलाई कम गर्न सकिन्छ भन्ने यस्ता सकारात्मक कुरा बेलैमा सिक्ने हो कि ?