नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको छैटौँ साधारणसभाले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । हालै सम्पन्न सभाले चारपटकका राष्ट्रिय च्याम्पियन मुल्मीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, उपाध्यक्षमा हीराकुमारी दाहाल (मीरा) र ध्रुव तुलाधर, महासचिवमा केशवराज अधिकारी, सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सहकोषाध्यक्षमा केशर मल्ल रहेका छन् । यसैगरी भूपेन्द्रबहादुर थापा (हरि), गजराज खड्का, राजेन्द्र केसी, एलिना महर्जन, मनोज केसी, मनोजकुमारसिंह ठकुरी र तुलसा थापा बस्नेत सदस्यमा चयन भए । सभामा केन्द्र र १६ जिल्लाका ४५ प्रतिनिधि उपस्थित थिए ।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । सो अवसरमा भारतमा भएको स्नुकर प्रतियोगिताका रजतधारी रेगन श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसै अवसरमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन हङकङ जाने खेलाडी मेलिसा खड्गी र प्रशिक्षक मनोज खड्गीलाई पनि ट्रयाकसुट प्रदान गर्नुका साथै राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गरिएको थियो ।
प्रतिक्रिया