प्रधानसेनापति खुला म्याराथनको उपाधि कृष्णलाई

प्रधानसेनापति खुला म्याराथनको उपाधि कृष्णलाई


नेपाल आर्मीका कृष्ण बस्नेतले प्रधान सेनापति चौथो खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । उनले २ घन्टा २० मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गदै यसअघि आर्मीका घावक पूर्ण तामाङले बनाएको २ घन्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमानलाई तोड्दै आर्मीभित्र नयाँ रेकर्ड बनाएका हुन् ।

कष्णले उपाधिसँगै गोल्छा अर्गनाइजेसनबाट उपलब्ध गराइएको पल्सर मोटरसाइकल र नेपाल सेन्चुरी कमर्सियल बैंकबाट प्रायोजित १ लाख २५ हजार नगद पनि प्राप्त गरेका छन् । आर्मीको केन्द्रीय कार्यालयस्थित खेलमैदानबाट त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, सूर्यविनायक, जगातेबाट पुरानो ठिमी, पेप्सिकोला, जडीबुटी, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, बालुवाटर, नागपोखरी, दरबारमार्ग, भद्रकाली, शहीदगेट हुँदै खेलमैदानमा एक चक्कर लगाउँदा निर्धारित ४२.१९५ किलोमिटर दूरी पुरा हुने रुट निर्धारित गरिएको थियो । उक्त दूरी आर्मीका राजन खत्रीले २ घन्टा २८ मिनेटमा पूरा गर्दै दोस्रो स्थान हात पार्दा आर्मीकै नवराज साउदले तेस्रो हुन २ घन्टा २९ मिनेट ५९ सेकेन्ड समय खर्च गरेका थिए । दोस्रो भएका राजनले ६५ हजार र तेस्रो भएका नवराजले ३५ हजार नगद प्राप्त गरे ।

त्यसैगरी पुरुष हाफ म्याराथनको उपाधि आर्मीका कल्याण बानियाँले जिते । त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, बालुवाटर, नगपोखरी, दरबारमार्ग, भद्रकाली, शहीदगेट हुदै खेलमैदानमा एक चक्कर लगाई निर्धारित २१ किलोमिटरको दूरी पार गर्न कल्याणले १ घन्टा ६ मिनेट ३१ सेकेन्ड लगाएका थिए । आर्मीकै गजेन्द्र राईले १ घन्टा ६ मिनेट ३८ सेकेन्ड तथा टीका कटुवालले १ घन्टा ७ मिनेट २३ सेकेन्ड समय खर्चेर क्रमशः दोस्रो र तेस्रो भए ।

त्यसैगरी महिला २१ किलोमिटरको हाफ म्याराथनको उपाधि आर्मीका विश्वरूपा बुढाले जितिन् । बुढाले १ घन्टा १७ मिनेट २० सेकेन्टमा उक्त दूरी पार गदै उपाधि जितेकी हुन् । एपीएफकी बिन्द्रा देसारले १ घन्टा २६ मिनेट १२ सेकेन्डको समय खर्चिंदै दोस्रो स्थान हात पारिन् । आर्मीकी चन्द्रा रावलले तेस्रो स्थान हात पार्दा १ घन्टा २६ मिनेट ३२ सेकेन्डको समय खर्च गरेकी थिइन् । पुरुष तथा महिला हाफ म्याराथन विजेताले क्र्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद प्राप्त गरे ।

त्यसैगरी पुरुष ४५ वर्षमाथिको भेट्रान २१ किलोमिटर हाफ म्याराथनको उपाधि धर्म महर्जनले जिते । उनले पहिलो स्थानका लागि १ घन्टा ११ मिनेट १६ सेकेन्डको समय खर्चेका थिए । भीम गुरुङ र भीमसेन आलेले दोस्रो र तेस्रो स्थान हात पारे । प्रथम स्थान हात पारेका महर्जनले ४० हजार, दोस्रो स्थान जितेका गुरुङले २५ हजार र तेस्रो स्थानमा रहेका आलेले १५ हजार नगद प्राप्त गरे ।

छात्रा ५ किलोमिटर दौडको उपाधि मेगा नेसनल कलेजकी काजल विष्टले जितिन् । सोही समूहमा बिजेश्वरी स्कुलका कुसल्ला तामाङ र स्वेच्छा बलामीमगर दोस्रो र तेस्रो भए । छात्र ५ किलोमिटर दौडमा उपाधि सैनिक महाविद्यालय भक्तपुरका ईश्वरचन्द्र बस्नेत पहिलो, भूपराज पुरी दोस्रो र विकास तामाङ तेस्रो भए । दुवै समूहका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपाली सेनाका अधिकृतको आन्तरिक १० किलोमिटर दौडमा महिलातर्फ रजनी अधिकारी पहिलो, सञ्जिता केसी दोस्रो र पवित्रा अधिकारी तेस्रो भए । पुरुषतर्फ विशाल चन्द्र बाजी, मधु थापा र नवराज थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । सोही अवसरमा सेनाले आर्मीका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भण्डारी, पारा एथलिटका विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ सम्मानित भए । विजेता खेलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, गोल्छा अर्गनाजेसनका शेखर गोल्छालगायतले पुरस्कृत गरेका थिए ।