राष्ट्रपति रनिङ सिल्ड मध्यपश्चिमाञ्चलको पोल्टामा

राष्ट्रपति रनिङ सिल्ड मध्यपश्चिमाञ्चलको पोल्टामा


sportमध्यपश्चिमाञ्चलले सातौँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । मध्यपश्चिमाञ्चल पहिलोपटक टिम च्याम्पियन बनेको हो । मध्यपश्चिमाञ्चलले जम्मा दुई सय ४२ अङ्क जोडेको थियो । मध्यपश्चिमाञ्चलका एथलेटिक्स टिम प्रशिक्षक चन्द्र गुरुङले एथलेटिक्सको टिम बलियो भएकाले उपाधि जित्न सफल भएको बताए । त्यस्तै पश्चिमाञ्चल एक सय ९७ अङ्कका साथ दोस्रो भयो भने एक सय ६९ अङ्का साथ मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझाएको थियो । एक सय १५ अङ्कका साथ पूर्वाञ्चल चौथो तथा ९२ अङ्कका साथ सुदूरपश्चिमाञ्चल पुछारमा रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको सातौँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता पहिलोपटक मोफसलमा भएको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएका थिए ।
गत वैशाखको शक्तिशाली भूकम्प र लगातारको परकम्पका कारण दुईपटक प्रतियोगिताको मिति स्थागित भएको थियो । यसअघि वैशाख २७ देखि २९ तथा जेठ २४ देखि २६ गतेसम्म प्रतियोगिता काठमाडौंमा हुने भनिएको थियो ।

कराते
करातेको छात्रमा पश्चिमाञ्चलका बुद्ध लामा र छात्रामा मध्यमाञ्चलकी अप्सरा मोक्तान उत्कृष्ट खेलाडी घोषित भएका छन् । बुद्धले ४२ केजीमा स्वर्ण जितेका थिए भने अप्सरा एकल काता र ४५ केजीमा गरी दोहोरो स्वर्ण हात पार्न सफल भइन् । समग्रमा मध्यमाञ्चलले टिम च्याम्पियनको उपाधि चुम्यो । मध्यमाञ्चलले चार स्वर्ण, दुई रजत र दुई कास्य जितेको थियो । एक स्वर्ण, दुई रजत र चार कास्यसाथ पूर्वाञ्चल दोस्रो तथा एक स्वर्ण, दुई रजत र दुई कास्यसाथ मध्यपश्चिमाञ्चल तेस्रो स्थानमा रहेका थिए ।

तेक्वान्दो
तेक्वान्दोमा मध्यमाञ्चल टिम च्याम्पियनको उपाधि जित्न सफल भएको छ । मध्यमाञ्चलले दुई स्वर्ण, दुई रजत र दुई कास्य जितेर प्रथम स्थान हासिल गरेको थियो । दोस्रो भएको सुदूरपश्चिमाञ्चलले दुई स्वर्ण, एक रजत र तीन कास्य हात पारेको थियो । एक स्वर्ण, तीन रजत र एक कास्यका साथ पूर्वाञ्चलले तेस्रो स्थान हासिल गरेको थियो । छात्रमा मध्यमाञ्चलका तिलक तामाङ र छात्रामा सुदूरपश्चिमाञ्चलकी गीता विष्ट उत्कृष्ट खेलाडी चुनिएका थिए । तिलकले ४५ केजी र गीताले ४६ केजीमा स्वर्ण जितेका थिए ।

उसु
उसुमा उत्कृष्ट प्रदर्शन गर्दै मध्यमाञ्चल टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा मध्यमाञ्चलले पाँच स्वर्ण, तीन रजत र तीन कास्य जितेको थियो । त्यस्तै दोस्रो स्थानको सुदूरपश्चिमाञ्चलले हासिल गरेको थियो । सुदूरपश्चिमले एक स्वर्ण, दुई रजत र एक कास्य हात पारेको थियो । बुद्ध र अप्सरा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

भलिबल
भलिबलको छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल पहिलो भएका थिए । दुवै समूहको फाइनलमा पश्चिमाञ्चल र मध्यमाञ्चल नै भिडेका थिए । छात्रको फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१८, २५–१८, २५–२७, २६–२८ र १५–९ को सेटमा पराजित ग-यो । छात्राको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २५–१५, १९–२५, २५–१९ र २५–२३ को सेटमा हरायो । छात्रमा पश्चिमाञ्चलका कमल सुनार र छात्रामा मध्यमाञ्चलकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

एथलेटिक्स
एथलेटिक्समा मध्यपश्चिमाञ्चलले बाजी मारेको थियो । छात्रमा सुनील चौधरी र छात्रामा प्रमिला चौधरी उत्कृष्ट खेलाडी चुनिए । मध्यपश्चिमाञ्चलका दुवैले समान चार–चार स्वर्ण जिते । सुनीलले एक सय र दुई सय मिटर दौड तथा चार गुणा सय र चार गुणा चार सय मिटर रिलेमा स्वर्ण हात पारे । त्यस्तै प्रमिलाले एक सय र दुई सय मिटर दौड, लङजम्प र चार गुणा चार सय मिटर दौडमा स्वर्ण जितेकी थिइन् । प्रमिलाले थप एक कास्य पनि हात पारिन् ।
प्रतियोगितामा एथलेटिक्समा २६, भलिबलमा दुई, करातेमा आठ तथा उसु र तेक्वान्दोमा ६–६ गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पाँच विकास क्षेत्रबाट जम्मा तीन सय ६० खेलाडीको सहभागिता रहेको थियो । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । यसमा एथलेटिक्स र भलिबलको पदकलाई निश्चित अङ्क दिई टिम च्याम्पियनको घोषणा गरिएको थियो ।
त्यस्तै पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो हुनेले तीन हजार, दोस्रोले दुई हजार र तेस्रोले एक हजार नगद पुरस्कार हात पारेका थिए । त्यस्तै समूहगतमा पहिलोले एक हजार पाँच सय, दोस्रोले एक हजार र तेस्रोले पाँच सय नगद पुरस्कार प्राप्त गरेका थिए । कुल नगद पुरस्कार राशि चार लाख १४ हजार रुपैयाँ रहेको छ । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने खेलाडीलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पाँच विकास क्षेत्रको प्रत्येक क्षेत्रबाट एक सर्वोत्कृष्ट र एक उत्कृष्ट विद्यालय छनोट गरी नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । सर्वोत्कृष्टलाई तीन लाख र उत्कृष्ट विद्यालयलाई दुई लाख नगदबाट पुरस्कृत गरिएको थियो ।
विजेतालाई प्रमुख जिल्ला अधिकारी, कास्कीका कृष्णबहादुर राउत, सशस्त्र प्रहरी बलका उपरीक्षक गणेश सङ्ग्रौला, राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यसचिव एवम् खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, जिल्ला शिक्षा अधिकारी अम्बिकाबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

खेलकुद लेख
सदस्यसचिवको नियुक्ति अन्योलमा
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को निमित्त सदस्यसचिवमा सकुन्तला नगरकोटीलाई नियुक्ति गरे पनि वास्तविक सदस्यसचिवको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा अहिलेसम्म लान सकेका छैनन् । मन्त्री पौडेलले प्रस्तावित नाम क्याबिनेटमा लान प्रयत्न गरे पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू स्वदेश नफर्किएसम्म त्यस्तो कुनै पनि कार्य नगर्न मन्त्री पौडेललाई निर्देशन दिएपछि नयाँ सदस्यसचिवको नियुक्तिको प्रक्रिया अहिले फाइलमै थन्किएको छ । प्राप्त जानकारीअनुसार राखेप सदस्यसचिवका लागि एमालेमा थुप्रै कार्यकर्ता इच्छुक देखिएकाले यो प्रक्रिया अगाडि नबढेको हो । खेलकुदमा विवादरहित योग्य व्यक्तिको चुनाव हुनुपर्नेमा अडिग अध्यक्ष ओलीले यो विषयमा गहन छलफल र सहमतिबाट मात्रै सदस्यसचिवको नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताएको बुझिएको छ । तसर्थ स्वास्थ्य उपचारका लागि विदेशमा रहेका ओली स्वदेश फर्किएपछि मात्र सदस्यसचिवको नियुक्तिको प्रक्रिया अगाडि बढ्ने भएको छ । उता मन्त्री पौडेल र एमालेका कार्यकर्ता मुलुकको विषम राजनीतिक परिस्थितिले गर्दा जुनबेला पनि राष्ट्रिय सरकार गठन हुने सम्भावना रहेकाले सन्त्रास देखाउँदै सदस्यसचिवको नियुक्तिमा ढिला गर्नु नहुने पार्टीका नेतालाई सुझाइरहेका छन् । ढिलो गरे खेलकुद मन्त्रालय अन्य पार्टीको भागमा पर्ने र सदस्यसचिवको पद आफ्नो हातबाट फुत्किने तर्क अगाडि सारेका छन् ।
वर्तमान अवस्थामा भावी राखेप सदस्यसचिवको रूपमा थुप्रै व्यक्तिको नाम चर्चामा आएको छ । उनीहरूको नामको चर्चासँगै राजनीति पनि सुरु भएको छ । एमाले पार्टीकै गुट–उपगुट एक–अर्काको पोल खोल्ने र खुट्टा तान्ने खेलमा लागेका छन् । मन्त्री पौडेल आफूले चाहेको व्यक्तिलाई सदस्यसचिवको पदमा नियुक्ति गर्न चाहन्छन् । यसका लागि उनले खेलकुद महासङ्घबाट लामा टेन्डी शेर्पालाई सिफारिस गरिसकेको अवस्था छ । तर, लामा टेन्डीको प्रस्तावलाई पार्टीका नेता वामदेव गौतमले ठाडै अस्वीकार गरेको थाहा भएको छ । नेता गौतमले जुन व्यक्तिको कुनै सम्भावना नै छैन त्यस्तो व्यक्तिलाई किन सिफारिस गरेको भन्दै मन्त्री पौडेललाई झपारेर पठाएको सुनिनमा आएको छ । यसरी लामा टेन्डीले सदस्यसचिवका लागि महासङ्घबाट आफ्नो नाम सिफारिस गराउन सफल भए पनि उनको सदस्यसचिव हुने सम्भावना निकै कम भएको छ । टेन्डीका गडफादरका रूपमा चिनिने नेता गौतमले नै टेन्डीलाई विश्वास नगरेपछि उनको सम्भावना कति छ त्यसै अड्कल र अनुमान लगाउन सकिन्छ । सुनिनमा आएअनुसार मन्त्री पौडेलको कोटाबाट सदस्यसचिवमा सकुन्तला नगरकोटीको नियुक्ति भइसकेको र उनको कोटा पनि पूरा भएकाले अबको नियुक्ति पार्टीका वरिष्ठ नेताको छलफलपछि गरिने जानकारीमा आएको छ । यसका लागि पार्टी गम्भीर भएर लागेको पनि बुझिएको छ ।
हुन त अहिले पनि एमालेनिकटका व्यक्तिहरूले आफूलाई भावी राखेपको सदस्यसचिव भन्दै दाबेदारी प्रस्तुत गर्दै कुर्लंदै हिँडेको अवस्था छ । तर, उनीको चर्चा र दाबेदारीको बारेमा पार्टीका नेताहरूले अनदेखी र अनसुनी गर्नुले उनीहरू अन्योलमा परेका छन् । अझ साँचो कुरा के हो भने एमालेका नेताहरूले अहिलेसम्म सदस्यसचिवको विषयमा उच्चारणसमेत गरेका छैनन् । वरिष्ठ नेताहरू आफ्नै धुनमा मग्न छन्, उनीहरूको ध्यान यसतर्फ मोडिएकै छैन । तसर्थ भावी सदस्यसचिव को हुने त्यो मुद्दा निकै जटिल बन्दै गएको अवस्था छ । तथापि सदस्यसचिवका आकाङ्क्षीहरूले नेताहरूको घरदैलो चहार्न भने छाडेका छैनन् । उनीहरूले आफूलाई अब्बल भएको नेतासमक्ष प्रस्तुत गरे पनि उनीहरूको कुरा उनीहरूकै नेताको घरभित्र नै सीमित हुन पुगेको छ । अर्थात् नेताहरूको बीचमा आकाङ्क्षी दाबेदारहरूको अहिलेसम्म कुनै चर्चा भएको छैन । र पनि पार्टी अध्यक्ष ओली, खनाल, नेपाल र गौतमनिकटका कार्यकर्ताले आफ्नो राग गाउन भने छोडेका छैनन् । उनीहरू आफूलाई भावी सदस्यसचिवको रूपमा दिवास्वप्न देखिरहेका छन् । सपना देख्नु राम्रो कुरा भए पनि सपनालाई वास्तविकतामा परिणत गर्ने वरिष्ठ नेताहरूले त्यसलाई बकमफुस्सेको लालमोहर लगाइदिएपछि उनीहरूको सपना अहिले भताभुङ्ग हुन पुगेको छ ।
वर्तमान अवस्थामा एमालेको भागमा युवा तथा खेलकुद मन्त्रालय परेकाले भावी सदस्यसचिवको चर्चामा एमालेकै खेलकुद व्यक्तित्वहरू परेका छन् । जसमा राखेपका पूर्वसदस्यसचिव केशव स्थापित, राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिमिल्सिना, नेपाल ओलम्पिक कमिटीका सदस्य पुरेन्द्रविक्रम लाखे र राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको नाम प्रमुख रूपमा आएको छ । साँचो रूपमा भन्नुपर्दा यिनीहरू नै सदस्यसचिव दौडका वास्तविक खेलाडी पनि हुन् । यिनीहरूबाटै एकजना सदस्यसचिव चुनिने सम्भावना पनि प्रबल छ । तर, विडम्बना, यी दाबेदारहरूले आफ्नो दाबेदारी अहिलेसम्म चर्चैमै सीमित राखेका छन् । कसैले पनि अहिलेसम्म मुख फुटाउन सकेका छैनन् अर्थात् चुप्पी साँधेका छन् । यसको कारण जे पनि हुनसक्छ– राजनीतिक खेल वा सन्त्रास । तसर्थ सोझै अनुमान लगाउन सकिन्छ– सदस्यसचिवको कुर्सीको बारेमा । दिनप्रतिदिन ‘हटकेक’ बन्दै गएको सदस्यसचिवको कुर्सी पाउन अहिले नेतादेखि कार्यकर्तासम्मले -याल चुहाएर बसेका छन् । यतिबेला सदस्यसचिवका दाबेदारहरूले आ–आफ्नो डम्फु बजाउँदै आफूलाई स्वघोषित भावी सदस्यसचिव बनाएका छन् । जसको विश्लेषण गर्दा कहीँ पनि सुरतालको मिश्रण देखिएको छैन अर्थात् उनीहरू ‘बेसुरा’ देखिएका छन् । तैपनि उनीहरूले आफ्नो डम्फू बजाएर जग हँसाउन भने छाडेका छैनन् । त्यसैले अहिले ‘जेरी’ जस्तै घुमेको छ, सदस्यसचिवको कुर्सी । कुनबाटोबाट गएर त्यो कुर्सीमा पुगिने हो त्यो दाबेदारको रूपमा रहेका र भावी सदस्यसचिवलाई नजिकबाट नियालिरहेकाहरूका लागि समेत निकै कठिन र अन्योलग्रस्त देखिएको छ ।
यस्तो अन्योलको वातावरणमा साँचो अर्थमा भन्नुपर्दा सदस्यसचिवको नियुक्ति केवल एकजनाले मात्र गर्न सक्छ– त्यो नाम हो एमाले अध्यक्ष केपी शर्मा ओली । उनको इसारा र निर्देशनबिना केही हुनेवाला छैन । दाबेदारहरूले जति फुर्ति गरे पनि उनको आशीर्वादबिना सदस्यसचिवको कल्पनासमेत गर्न सकिने अवस्था छैन । र पनि, उनकै अर्थात् ओलीकै नाम भाँजेर सदस्यसचिवको कुर्सी पड्काउने दाउमा केशव स्थापित, पीताम्बर तिम्सिना र पुरेन्द्रविक्रम लाखे ज्यान छोडेर लागेका छन् । यी दाबेदारको दौडमा रहेकाहरूले आफूलाई ओलीकै पक्षधरको रूपमा उभ्याए पनि पानीको गहि-याइको मापन भने गर्न सकेका छैनन् । अर्थात् को कति पानीमा छन् त्यसको भेउ पाउन सकेका छैनन् । यस्तो अवस्थामा ओलीलाई आफ्नो गडफादर मान्ने र उनकै इसारामा सदस्यसचिवमा दाबेदारी प्रस्तुत गरिरहेकाहरूको व्यक्तित्वको मापन गर्दा त्यही व्यक्ति वास्तविक सदस्यसचिवको हकदार हो भन्दा फरक नपर्ला । सदस्यसचिवको दौडमा सामेल भएका व्यक्तित्वहरूको योग्यता जस्तोसुकै भए पनि केपी ओली र विद्या भण्डारीले चाहेको व्यक्ति नै सदस्यसचिव हुने कुरामा सायदै कसैको दुईमत होला । बजारमा नानाथरीका हल्ला चलेका छन्, कसैकसैको पत्रसमेत तयार भइसकेको जानकारीमा आएको छ । तर, राजनीतिको रङ्ग हुँदैन भनेझैँ यहाँ पनि रङ्ग बदलिए अन्यथा मान्नुपर्ने छैन । यी दाबेदारबाहेक अन्य व्यक्तिको सदस्यसचिवमा नियुक्ति हुने सम्भावना पनि उत्तिकै छ । यसको दौडमा सभासद्देखि एमालेका कार्यकर्ताहरू ज्यान छोडेर लागिपरेको कसैबाट छिपेको छैन । तसर्थ सदस्यसचिवमा नयाँ अनुहार देखिन सक्ने कुरालाई नकार्न सकिँदैन । खेलकुदमा डल्फिन छलाङ मारेर सदस्यसचिव पदमा पुगेका थुप्रै घटना छन् । यसपटक पनि यस्तै भयो भने आश्चर्यचकित हुनुपर्ने छैन । तर, एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले खेलकुदको गम्भीरतालाई आत्मसात् गरेर कस्तो निर्णय गर्छन् त्यो अहिले प्रतीक्षाको विषय बनेको छ । दाबेदारहरूले मौनता साँध्नुको कारण पनि यही बनेको छ ।

नरकोटीलाई पहिलो गाँसमै ढुङ्गा
राष्ट्रिय खेलकुद परिषद्की निमित्त सदस्यसचिव सकुन्तला नगरकोटीलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । नगरकोटीले सदस्यसचिव भएको दोस्रो दिनमा गरेको निर्णयलाई पुनरावेदन अदालत पाटनले गैरकानुनी भन्दै रोक लगाएपछि उनको पहिलो निर्णय नै गलत सावित भएको हो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको दबाबमा सदस्यसचिव नगरकोटीले नेपाल क्रिकेट सङ्घ क्यानका सदस्यद्वय रञ्जित तामाङ र दीपक साउदलाई पदमुक्त गरेकी थिइन् ।
सदस्यसचिव नगरकोटीको निर्णय गैरकानुनी भएको भन्दै त्यसपछि क्यानका यी दुई पदाधिकारीले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए । असार ६ गते दुवै पक्षलाई छलफलमा आउन भनेको पुनरावेदन अदालतले तोकिएको पदावधि बाँकी छँदै सङ्घको विधानबमोजिम सफाइको मौकासमेत नदिई पदमुक्त गरिएको देखिएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेश पुनरावेदन पाटनका न्यायाधीशद्वय मोहनबहादुर कार्की र कृष्णप्रसाद बास्तोलाको संयुक्त इजलासले गरेको थियो । साथै उक्त आदेशमा सुविधा सन्तुलनको दृष्टिकोणबाट मुद्दाको टुङ्गो नलागेसम्म निर्णयको कार्यान्वयनसमेत नगर्न भनिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानको विधानमा दुईजना केन्द्रीय सदस्य राखेपको सिफारिसमा नियुक्ति हुने व्यवस्थाअनुसार पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराजको सिफारिसमा तामाङ र साउदलाई सदस्यमा सिफारिस गरिएको थियो । तर, सदस्यसचिव नगरकोटीले उनीहरूको कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेको अवस्थामा फिर्ता बोलाउने निर्णय गरेकी थिइन् । पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गरेपछि सदस्यसचिव नगरकोटीले फिर्ता बोलाउने अधिकार राखेपमा छ भन्दै असन्तुष्टि प्रकट गरेकी छिन् । युवराज लामासँगको प्रतिशोध साँध्न मन्त्री पौडेलको इसारामा सदस्यसचिव नगरकोटीले यस्तो कदम चालेपछि उनले अहिले आफू बलिको बोका भएको चाल पाएकी छिन् ।

सेन्टजेभियर्सका सम्राट प्रथम
ओलम्पिक डेको अवसरमा आयोजित उपत्यकाव्यापी विद्यालयस्तरीय पेन्टिङ प्रतियोगिताको सिनियतर्फको प्रतिस्पर्धामा सेन्टजेभियर्स जावलाखेलका सम्राट मिश्र पहिलो भएका छन् । नेपाल ओलम्पिक कमिटीको स्पोर्टस् फर अल कमिसनको आयोजना तथा सेन्टजेभियर्स गोदावरीको सहआयोजनामा प्रतियोगितामा पुष्पाञ्जली स्कुलका आसिस गिरी दोस्रो भएका थिए । । सिनियतर्फ युनाइटेड स्कुलकी समृद्धिले तेस्रो स्थान हासिल गरिन् ।
जुनियरतर्फ युनाइटेड एकेडेमीका सुमित श्रेष्ठ पहिलो भए । सेन्टजेभियर्स जावलाखेलका प्रतीक खत्री दोस्रो तथा डीएभी स्कुलका पलेसा याक्चा तेस्रो भए । पेन्टिङ प्रतियोगितामा सहभागी विद्यार्थीले ओलम्पिक र विपत् व्यवस्थापनसम्बन्धी विषयवस्तु समेटिएर पेन्टिङ गरेका थिए । प्रतियोगिताको उद्घाटन स्पोर्टस् फर अल क्लबका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले गरेका थिए । उनले अहिलेको भूकम्पले विनाश पारेको संरचनालाई ओलम्पिक मर्मलाई समेटिएर आर्ट गर्दा सकारात्मक सन्देज जाने बताए । प्रतियोगितामा सिनियरतर्फ ३२ जना तथा जुनियरतर्फ ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायको भूमिकामा केशवराज खनाल र देवेन्द्र लुङ्गेली रहेका थिए ।

ह्वियरचियरमा नेपाल आर्मी प्रथम
ओलम्पिक डेका अवसरमा स्पोर्टस् फर अल कमिसन र पारा ओलम्पिक कमिटीसँगको संयुक्त आयोजनामा भएको ह्वियरचियर बास्केटबल प्रतियोगितामा नेपाल आर्मीको टिम प्रथम भएको छ । लिगकम नकआउटअन्तर्गत खेलाइएको खेलको फाइलनमा नेपाल आर्मीले ह्विलचियर राष्ट्रिय बास्केटबल टिमलाई २८–१० को स्कोरमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरी तेस्रोका लागि भएको खेलमा स्पाइनल इन्जुरी सङ्घले भनिमन्डललाई २०–१० ले हरायो । एकदिने
सो खेल नेपाल आर्मीको लगनखेलस्थित स्पोर्टस् एन्ड फिजिकल टे«ेनिङ सेन्टरमा भएको थियो । नेपाल आर्मीको टिमसहित विभिन्न क्लबका ७० जना खेलाडीको सहभागिता रहेको थियो । विजेता टिमलाई कमिसनका चेयरम्यान विष्णुगोपाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
कमिसनले यसअघि नेपाली आर्मीसँग मिलेर भेट्रान फुटबल प्रतियोगिता आयोजना गरेको थियो । कमिसनले १३ जुनदेखि २३ जुनसम्म १० दिने विशेष ओलम्पिक डे कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै पोखरा बक्सिङ प्रतियोगिताको आयोजना गरेको थियो । १३ जुनमा साइक्लिङ -याली गरेर १० दिने ओलम्पिक डे कार्यक्रमको सुरुआत भएको थियो । २३ जुनसम्म चल्ने ओलम्पिक डेका अवसरमा अन्य विभिन्न कार्यक्रम विद्यालयहरूमा समेत विभिन्न कार्यक्रम गरेर मनाइने कमिसनका चेयरम्यान विष्णुगोपाल श्रेष्ठले बताए ।

क्यानको निर्वाचन कात्तिकमा
विवादास्पद नेपाल क्रिकेट सङ्घ क्यानको निर्वाचन आउँदो कात्तिक महिनामा हुने भएको छ । उक्त कुराको निर्णय हालै सम्पन्न क्यानको साधारणसभाले गरेको हो । साधारणसभाले असोज १५ सम्म साधारणसभा गरिसक्ने त्यसपछि कात्तिक २० र २१ गते भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको हो । गत साता सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष ०७०–७१ को अडिट रिपोर्ट पास गर्नुको साथै आगामी आर्थिक वर्ष ०७२/७३ का लागि १५ करोड ६ लाख रुपैयाँकोे अनुमानित बजेट प्रस्तुत गरेको थियो । त्यस्तै सो सभाले जिल्ला सङ्घलाई ५० हजार र क्षेत्रीय सङ्घलाई एक लाख रुपैयाँ वार्षिक रूपमा प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी सभाले क्यानको विधान संशोधनका लागि क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय समितिको पनि गठन गरेको छ । समितिले संशोधन गरेको विधान राखेपले स्वीकृति प्रदान गरेपछि नयाँ विधानअनुसार नेपाल क्रिकेट सङ्घको निर्वाचन हुनेछ । यसअघि चितवनमा भएको साधारणसभाले टंक आङबुहाङलाई क्यानको अध्यक्षमा निर्वाचित गरेको थियो ।