मल्पीले जित्यो काष्ठमण्डप बास्केटबलको उपाधि

मल्पीले जित्यो काष्ठमण्डप बास्केटबलको उपाधि


डिफेन्डिङ च्याम्पियन मल्पी ‘बी’ले चौथो काष्ठमण्डप कप अन्तर ‘ए’ लेभल थ्री बाई थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा मल्पी ‘बी’ले आयोजक काष्ठमण्डपको ‘बी’ टिमलाई २१–११ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

मल्पी ‘बी’का अनन्य भट्टराई र आयुश लामाले समान ९–९ अंक योगदान दिए । केनोर दोर्जी नेपालीले २ तथा टासी फुन्सोकले १ अंक जोडे । काष्ठमण्ड ‘बी’का सिर्जन भण्डारी, देव शर्मा र आयुश रिमालले समान ३–३ तथा प्रथम श्रेष्ठले १ स्कोर गरेका थिए ।

मल्पीले यो वर्ष चौथो उपाधिका रूपमा काष्ठमण्डप कप जितेको हो । यसअघि मल्पीले नामी, एस र जेभियर कप जितेको थियो । मल्पीको प्रशिक्षकमा राष्ट्रिय बास्केटबल टोलीका मुख्य खेलाडीमध्येका एक रविन खत्री छन् ।

मल्पी ‘बी’का अनन्य भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान तथा शारीरिक शिक्षा प्रमुख प्रा.डा. रामकृष्ण महर्जन र काष्ठमण्डपकी प्रिन्सिपल डा. शिवा थापाले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा आयोजक र मल्पीको २–२ सहित १० टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।