तेक्वान्दो खेलको छनोट रोक्न राखेपको निर्देशन

तेक्वान्दो खेलको छनोट रोक्न राखेपको निर्देशन


राष्ट्रिय खेलकुद परिषदले पाँच क्षेत्र र सातै प्रदेशमा सञ्चालन भइरहेका तेक्वान्दो खेलका छनोट प्रतियोगिता स्थगित गरेको छ । फागुन २१ गते मंगलबार जारी गरिएको परिषदको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

साथै परिषदको अर्को निर्णय नभएसम्म तेक्वान्दोको छनोटसम्बन्धी कुनै कार्य नगर्न पनि विज्ञप्तिमार्फत निर्देशन दिएको छ । आठौँ राष्ट्रिय खेलकुद सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

यतिबेला राष्ट्रिय खेलकुद परिषदमा दुईवटा तेक्वान्दो संघ नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ–नेपाल अस्तित्वमा छन् । यी दुई संघको विवादका कारण आठौँ राष्ट्रियका लागि जिल्ला छनोटसमेत हुन सकेको छैन ।

नेपाल तेक्वान्दो संघले पछिल्लोपटक आफ्नै तालसुरमा एकलौटी रूपमा आफूखुसी जिल्ला छनोट नै नगरी प्रदेशको छनोट गर्न थालेपछि तेक्वान्दोको विवाद झन् बढेको थियो । यसपछि विरोधमा उत्रिएको राष्ट्रिय तेक्वान्दो संघले खेलकुद मन्त्रालय र राखेपलाई दबाब दिँदै आएको थियो ।

स्मरण रहोस्, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले जबसम्म दुई तेक्वान्दो संघ मिलेर आउँदैनन् र तेक्वान्दो संघको विवाद पूर्ण रूपमा समाधान हुँदैन तबसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने राखेपको बोर्ड बैठकमा निर्णय गरेका थिए ।

यसरी यतिबेलासम्म तेक्वान्दो खेलको जिल्ला, क्षेत्र र प्रदेशको छनोट हुन सकेको छैन । जसका कारण आठौँ राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो खेलको सहभागिता अन्योलमा परेको छ ।