देउवाका कारण बैठक बहिष्कार, अर्को बैठक अनिश्चित

देउवाका कारण बैठक बहिष्कार, अर्को बैठक अनिश्चित


पार्टीको अनुशासन समितिमा समेत शेरबहादुर देउवाले आफ्ना ‘लेफ्टिनेन्ट’हरू राख्न खोजेपछि काङ्ग्रेस पार्टीभित्र दुई पक्षबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

काङ्ग्रेसमा गुट–उपगुटको राजनीति चल्दै आएको भए पनि अनुशासन समिति र निर्वाचन समितिको चयन प्रायः सबैलाई मान्य हुने किसिमबाट हुँदै आएको थियो । तर, सभापति देउवाले अनुशासन समितिका लागि एकतर्फी ढङ्गले आफूअनुकूलका केही कनिष्ट सदस्यहरूको नाम प्रस्ताव गरेकोले गत साता केन्द्रीय कार्यसमितिको बैठक नै अवरुद्ध हुन पुगेको थियो ।

देउवाले अनुशासन समितिको संयोजकमा भीष्मराज आङ्दम्बे तथा सदस्यहरूमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेलको नाम प्रस्ताव गरेका थिए । उनले आफ्नोतर्फका तीनजनाको नाम प्रस्तुत गर्दै कोइराला पक्षलाई दुईजनाको नाम दिन भनेपछि बैठकमा व्यापक विवाद उत्पन्न भएको थियो ।

कोइराला पक्षधरहरूले अनुशासन समितिमा वरिष्ठतम् व्यक्तिहरूमध्येबाट चयन गरिनुपर्ने या त्यसो नभए समितिको सर्वसम्मतिमा हुने निर्णय मात्र कार्यान्वयन गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए । तर, देउवाले कोइराला पक्षको कुनै पनि सर्त मान्न चाहेनन् । त्यसपछि कोइराला पक्षले बैठक बहिष्कार गरेको र बैठक बहिष्कार गरे पनि देउवा पक्षले बहुमतका आधारमा निर्णय लिन खोजेको थियो । तर, सङ्ख्या नपुगेपछि देउवाको प्रयास सफल हुन सकेको थिएन । त्यसरी गत साता रोकिएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब कहिले हुने हो सो अनिश्चित छ ।

यसरी बैठक अवरुद्ध भएको हप्ता दिनपछि छपन्न जिल्लाका पार्टी सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा संयुक्त निवेदन दिई महासमिति बैठकका निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।