पशुपतिको पार्टी पनि हिन्दुराष्ट्रको माग गर्दै सडकमा उत्रिने

पशुपतिको पार्टी पनि हिन्दुराष्ट्रको माग गर्दै सडकमा उत्रिने


राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति सम्शेर राणाले राष्ट्रपतिको भुमिका निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

सो पार्टीको प्रदेश नम्बर २ भेलाको क्रममा बुधबार राजविराजमा सम्बोधन गर्दै राणाले बहुदलीय प्रणालीमा राष्ट्रपतिको भूमिका निश्पक्ष हुन नसकेको आरोप लगाउँदै सर्वसम्मत संस्थाको आवश्यकता रहेकोमा जोड दिए ।

उनले भने, ‘कांग्रेसको राष्ट्रिपति भए कांग्रेस जस्तो, कम्युनिष्टको राष्ट्रपति भए कम्युनिष्ट जस्तो भूमिका निर्वाह गरेकोले सर्वसमत संस्था देशलाई आवश्यक छ ।’

देशको मौलिक पहिचान हिन्दुराष्ट्र रहेको र त्यसलाई कांग्रेस र कम्युनिष्ट मिलेर मेटेकाले हिन्दुराष्ट्रको पहिचान पुनर्स्थापित गर्न आफ्नो पार्टी सडकमा उत्रिन लागेको जानकारी समेत उनले दिए ।

देशको मौलिक पहिचान मेटाउन नसकिने भन्दै उनले भने जसरी नेपाल सगरमाथाको नाममा चिनिन्छ त्यस्तै एक मात्र हिन्दुराष्ट्रको नाममा पनि चिनिन्छ ।

वर्तमान दुई तिहाईको सरकारले देशको विकासका लागि प्राप्त गरेको सुनौलो मौका नेपाली जनताको पक्षमा सदुपयोग गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘प्राप्त अवसर सरकारले खेर पाल्यो र भ्रष्टाचारमा चुर्लुम्म डुब्यो ।’

केन्द्र र प्रदेशदेखि स्थानीय तहको वडा-वडासम्म भ्रष्टाचारको विकेन्द्रीकरण भएको भन्दै उनले वर्तमान सरकार अरु क्षेत्रमा सफल हुन नसकेपनि वडा तहसम्म भ्रष्टाचार पुऱ्याउन सफल भएको दाबी उनले गरे ।

मधेशलाई पिछडीएको भागको रुपमा राखेर देश नबन्ने भन्दै उनले बेलाबेलामा सरकारले मधेशको कुरा गरे पनि मधेशको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप समेत लगाए ।

कार्यक्रममा पार्टीका अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको पनि उपस्थिति रहेको थियो ।