भारत-पाकिस्तान द्वन्द्व : विरोधाभास र समाधान

भारत-पाकिस्तान द्वन्द्व : विरोधाभास र समाधान


■ विनोद नेपाल

भारतले गत फेब्रुअरी १४ को पुलावामा आक्रमणको जिम्मा लिएको आतङ्ककारी सङ्गठन जैस–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गर्दै आफ्ना सेनाद्वारा २६ फेब्रुअरी एकाबिहानै एक हजार किलोग्रामका बम प्रहार गरिएको विषय चर्चामा छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सो दिन बिहान साढे तीन बजे नै भारतीय वायुसेनाका जहाजले पाकिस्तानी भूमिमा प्रवेश गरी सो बम खसालेका थिए ।

सो घटनापछि भारतीय विदेश मन्त्रालयले आक्रमणबाट जैस–ए–मोहम्मदका तालिम केन्द्र ध्वस्त भएको र उसका कमान्डरसति सयौँ मारिएको दाबी ग¥यो । भारतीय सञ्चारमाध्यमहरूले सैन्य अधिकारीलाई उद्धृत गर्दै ठूलो सङ्ख्यामा आतङ्ककारी मारिएको समाचार पनि सार्वजनिक ग¥यो । तर, यो अनुमानित विवरण मात्र थियो । उता पाकिस्तानी सेनाले चाहिँ बम जङ्गलमा खसेको तर कसैको पनि मृत्यु नभएको बताएको थियो । उसले आप्mनो भनाइ सत्य नलागे घटनास्थल गएर सत्यतथ्य बुझ्न पनि अन्तर्राष्ट्रिय मिडियालाई अनुरोध ग¥यो । यसपछि त्यहाँको सेनाले केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई घटनास्थल बालाकोट लगेको, घटनास्थलको अवलोकन गरेको र स्थानीयसँगको कुराकानीमा पनि कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको भन्ने समाचारहरू सार्वजनिक भइसकेका छन् । विस्फोटबाट रूखहरू ढलेका तथा ढुङ्गाहरू छरपस्ट देखिए पनि त्यहाँ भग्नावशेष र जनधनको क्षति भएको प्रमाण नदेखिएको तथा वरपरका अस्पतालमा त्यस दिन कुनै घाइते नआएको अस्पतालसम्बद्ध स्रोतहरूले जनाएको पनि सञ्चारमाध्यमहरूमा आइसकेको छ ।

यता भारतमा समेत यो विषय विवादित बनेको छ । भारत सरकारका मन्त्रीहरूले नै ‘बालाकोट आक्रमणको उद्देश्य शत्रुलाई पाठ सिकाउनु मात्रै थियो, कसैलाई मार्नु थिएन’ भन्न थालेका छन् । उनीहरूले ‘आफूहरूको उद्देश्य मानिस मार्नु नभएको र सरकारी तवरबाट यति मारिए भन्ने तथ्याङ्कसमेत सार्वजनिक नभएको’ भन्दै बचाउ गर्न थालेका छन् । सेनाका अधिकारीहरूले पनि ‘जनधनको क्षतिको विवरण तथा आक्रमणको उद्देश्य हासिल भए–नभएको जानकारी गराउने जिम्मेवारी राज्यको भएको’ भन्दै उम्कन खोजेका छन् । घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम्को ‘आफूहरूले बदला लिएको, तर कङ्ग्रेसका समयमा यस्ता आक्रमण हुँदा कुनै जवाफ नदिएको’ भन्नेजस्ता अभिव्यक्ति आएको थियो । पछिल्ला अभिव्यक्तिमा सञ्चारमाध्यमलाई पनि दोष दिइएको छ । यसबाट पनि आतङ्ककारीको शिविरमा हताहती र भौतिक क्षतिसमेत हिजो प्रचारमा आएजस्तो नभएको लगभग प्रस्ट हुन्छ । प्रधानमन्त्री मोदीले त विपक्षीले आक्रमणबाट भएको उपलब्धि सम्बन्धमा जानकारी माग गरेको विषयलाई पनि ‘शहीद र सेनाको अपमान’को रूपमा लिएका छन् । उनले यसलाई ‘बहादुर सेनाको मनोबल कमजोर गराउने प्रयत्न’ भनेर पनि टिप्पणी गरेका छन् । यसरी आतङ्ककारीतर्फको क्षति र आक्रमणको उपलब्धिबारे बताउन नचाहनु वा नसक्नुले बालाकोट आक्रमणको सम्बन्धमा विभिन्न आशङ्का उत्पन्न गराएको छ ।

पुलावामामा सीआरपीएफको समूहमाथि भएको आत्मघाति आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्ककारीहरूका विरुद्ध संयुक्त रूपमा लड्न तयार रहेको भन्दै भारतलाई पटकपटक सहकार्यका लागि आग्रह गरेका थिए । तर, भारतले प्रस्ताव वास्ता गरेन । उसले ‘आतङ्ककारीको संरक्षक बनिरहेसम्म पाकिस्तानसँग कुनै वार्ता नहुने’ जवाफ दियो । भारतले यसअघिका घटनामा पनि पाकिस्तानले जबसम्म आतङ्कवादका विरुद्ध निर्णायक र विश्वसनीय कारबाही अघि बढाउँदैन तबसम्म उससँग कुनै वार्ता नहुने बताउँदै आएको छ । स्मरणीय छ, बालाकोट आक्रमणपछि पाकिस्तानमा पक्राउ परेका लडाकु विमानका एक पाइलटलाई प्रधानमन्त्री खानले संसद्मा घोषणा गरी स्वयम् लाहोरसम्म पुगी बाघा बोर्डर हुँदै भारत प्रवेश गराएको कुराले उनको वाहवाही भयो । यहाँसम्म कि एकातिर यस निर्णयविरुद्ध पाकिस्तानको अदालतमा मुद्दा पऱ्यो भने अर्कोतिर पाकिस्तानी संसद्मा इमरान खानलाई नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी पनि गरियो ।

आतङ्कवादी र अपराधीको संरक्षण कुनै पनि अवस्थामा कसैबाट हुनुहुँदैन । पाकिस्तानमाथि आतङ्कवादको संरक्षक बनेको आरोप लाग्दै आएको छ । यस्तो आरोप भारतले मात्र होइन, विश्वले नै लगाइरहेको छ । यस्तो अवस्थामा पाकिस्तानले आफूमाथिको आरोपलाई असत्य साबित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष वास्तविकता प्रस्ट्याउनुपर्छ ।

भारतको बढ्दो आक्रोशबीच युद्धबन्दीको रूपमा रहेका ती विमानचालकलाई सकुशल भारतलाई हस्तान्तरण गर्नुलाई भारतले भने पाकिस्तानको पराजयको रूपमा लिए पनि विश्लेषकहरूले यो पाकिस्तानको उदारता हो भनेका छन् । उसले चाहेको भए अझै केही दिन ढिलाइ गर्न सक्थ्यो । त्यसो नगरेर पाकिस्तानले ती पाइलटलाई अपेक्षा गरिएभन्दा चाँडो भारतसमक्ष बुझाउनुलाई सकारात्मक रूपमा लिनुपर्छ । खासगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान यसका लागि धन्यवादका पात्र छन् ।

भारतीय जनता पार्टीका नेताहरूले बालाकोट आक्रमणलाई ‘राष्ट्रवाद’सँग जोड्दै यसलाई आगामी चुनावका लागि अस्त्र बनाउने प्रयास गरिरहेको महसुस हुन्छ । त्यति ठूलो आक्रमणपछि के उपलब्धि भयो त भन्ने कुरा प्रस्ट पार्न नसके पनि ‘विगतमा सरकारले कुनै जवाफ दिन नसकेको, तर आफूहरूले उडी र पुलावामामा भएका आक्रमणका विरुद्ध जवाफ दिएको र भारतले आफूमाथिको हस्तक्षेप नसहने’ भन्दै आएका छन् । जवाफबाट शत्रुतर्फ के–कति क्षति पुग्यो र आफूलाई के फाइदा भयो त भन्ने प्रश्नको स्पष्ट र देखिने जवाफ नहुनुले बालाकोट प्रकरण पनि पाकिस्तानलाई चिढ्याउने प्रयास मात्रै भयो कि भन्ने ठानिन थालेको छ ।

हाल भारत र पाकिस्तानबीचको तनाव केही मत्थरजस्तो लागे पनि भारत आक्रोशित नै छ भन्ने कुरा खासगरी प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ दलका जिम्मेवार नेताहरूका अभिव्यक्तिबाट बुझ्न सकिन्छ । पुलावामा जुन खालको आक्रमण भयो त्यो निन्दनीय छ । तर, त्यसको बदलामा भारतले जसरी बालाकोटमा आक्रमण गऱ्यो त्यसबाट हातलागी केही नभएको र आतङ्ककारीहरू सुरक्षित नै रहेको अवस्था हो भने त्यो निश्चय नै दुःखद् हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खान, जसले आफ्नो हातमा आएका भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानलाई भारतको जिम्मा लगाए, यसो गरेर उनले प्रशंसनीय कार्य गरेका छन् । यसबाट उनले संवादका माध्यमबाट समाधान खोज्न चाहेको महसुस हुन्छ । यसर्थ भारतले पनि आफूलाई आक्रामक हुनुभन्दा वार्ताका माध्यमबाट शान्ति स्थापना गर्ने र आतङ्कवादीहरूका आश्रयस्थलहरू संयुक्त प्रयासमा ध्वस्त पार्ने वातावरण बनाउन प्रयास गर्नु उचित हुने देखिन्छ । एकातिर भारतले थुप्रै आतङ्कवादी मारिएको भन्दै खुसी मनाउने र अर्कोतिर वास्तवमा आतङ्ककारीहरू मारिँदै नमारिएको र केवल हल्ला मात्र हो भने त्यो भारतकै प्रतिष्ठामा आँच आउने विषय भएको र जस्तासुकै समस्याको समाधान वार्ता र संवाद हो भने संवादका लागि दुवै पक्ष तयार हुनुपर्छ ।

मानवले मानवको सम्मान र रक्षा गर्नुपर्छ, जीवनको रक्षा गर्नुपर्छ । यसका लागि सहकार्य गर्नुपर्छ । आतङ्कवादी र अपराधीको संरक्षण कुनै पनि अवस्थामा कसैबाट हुनुहुँदैन । पाकिस्तानमाथि आतङ्कवादको संरक्षक बनेको आरोप लाग्दै आएको छ । यस्तो आरोप भारतले मात्र होइन, विश्वले नै लगाइरहेको छ । यस्तो अवस्थामा पाकिस्तानले आफूमाथिको आरोपलाई असत्य साबित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष वास्तविकता प्रस्ट्याउनुपर्छ । अन्यथा हात परेको एउटा पाइलटलाई मुक्त गर्दैमा उनको प्रतिष्ठा बढ्न वा उनी नोबेल पुरस्कारका दाबेदार हुन तथा पाकिस्तानप्रति विश्वास जगाउन सक्दैन । दुई मुलुकबीचको द्वन्द्व एवम् विरोधाभासबीच समाधानको सही बाटो पहिल्याउनु तथा पाकिस्तानमाथिको आशङ्का निवारण आजको आवश्यकता हो । यसका लागि दुवै मुलुक केही नरम र इमानदार हुनैपर्छ ।