अदालतको फैसलाविरुद्ध राजपा जनतासमक्ष जाने

अदालतको फैसलाविरुद्ध राजपा जनतासमक्ष जाने


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महतोले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गरे ।

अध्यक्षमण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेसी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे । महतोले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने सो अवसरमा बताए ।

यसैगरी अध्यक्षमण्डलका अर्का सदस्य शरतसिंह भण्डारीले सांसदलाई फौजदारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने उल्लेख गरे । उनले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सबै सत्यतथ्य जनताले थाहा पाउने बताए ।

सप्तरीको मलेठको कार्यक्रमका लागि पार्टीका अध्यक्षमण्डलका सदस्य महतो, भण्डारी र महेन्द्र राय यादव बिहीबार विराटनगर आएका हुन् ।

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त मानिएका निलम्बित सांसद रेशम चौधरीसँगै ११ जनालाई बुधबार सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपा असन्तुष्ट रहेको छ । अदालतको सो फैसलालगत्तै राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

०७२ भदौ ७ गते थरुहट राज्यको माग गर्दै टीकापुरमा प्रदर्शन गर्दा प्रहरीसँग भएको झडपमा एकजना बालक र ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । यसको मुख्य योजनाकार रेशम चौधरी रहेको भन्दै सर्वोच्चले सो फैसला सुनाएको हो ।