बाल विकास ‘ए’ले दोस्रो भ्याली पब्लिक कप यू–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’ले कन्स्टिलेसनलाई ३–० गोलले पराजित गरेको हो । बाल विकास ‘ए’का अनिश श्रेष्ठ, विशाल तामाङ र प्रशान्त गुरुङले गोल गरेका थिए ।
तेस्रो स्थानका लागि भएको खेलमा काष्ठमण्डपले कुण्डलिनीलाई ३–० ले हरायो । काष्ठमण्डपका सिद्धान्त खड्काले २ तथा भेदान्त ठकुरीले १ गोल गरे ।
कुण्डलिनीका कर्णवीर मल्ल उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपका सिद्धान्त खड्का सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले १३ गोल गरे ।
विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया