साकुरा स्नुकर च्याम्पियनसिप अर्काे साता

साकुरा स्नुकर च्याम्पियनसिप अर्काे साता


साकुरा स्नुकर हाउसको आयोजनामा सर्वाधिक धनराशिको प्रथम साकुरा स्नुकर ओपन च्याम्पियन अर्काे सातादेखि काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल विलियर्डस स्नुकर तथा पुल संघको तत्वाधानमा हुने प्रतियोगिता यही फागुन २९ गतेबाट चैत ७ गतेसम्म हुने स्नुकर संघका अध्यक्ष सरोजकुमार मुल्मीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा विभिन्न जिल्लाका पुल हाउस र काठमाडौंका पुलहाउसका गरी १२८ जनाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता नकआउटका आधारमा हुने खेल बेस्ट अफ फाइभदेखि बेस्ट अफ सेभेनसम्म हुनेछ । १२८ खेलाडीबाट ८ खेलाडी छनोट हुनेछन् ।

अहिले राष्ट्रिय टिममा रहेका ८ खेलाडीले यो प्रतियोगितामा भाग लिन पाउनेछैन । उनीहरूले साकुरा ओपन च्याम्पियनसिप बाट छानिएका ८ खेलाडीसँग लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगका उत्कृष्ट ८ जनाले राष्ट्रिय टिममा स्थान बनाउनेछन् । यही प्रतियोगिताबाट उत्कृष्ट हुने २ जनाले आगामी जुन तथा जुलाईमा बंगलादेशमा आयोजना हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । राष्ट्रिय टिम यसअघिको प्रदर्शनका आधारमा ८ जनाको टिम बनाइएको हो । १६ खेलाडीले प्रतिस्पर्धा गर्ने लिगका खेल चैत १० गते हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख १० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछ । तेस्रो हुने दुईजनाले सीयूई र सीयूई ब्यागसहित मेडल हात पार्नेछन् । अनुशासित हुनेले सीयूई र सीयूई ब्याग, सर्वाधिक ब्रेकले सीयूई र सीयूई ब्याग र नवौँदेखि १६औँसम्मले सीयूई र सीयूई ब्याग हात पार्नेछन् ।