झापा गोल्डकप : क्यामरुन दाउफिन्स सेमीफाइनलमा

झापा गोल्डकप : क्यामरुन दाउफिन्स सेमीफाइनलमा


– रेजिना गौतम, झापा

यो सिजनको तीनवटा उपाधी हात पार्न सफल क्यामरुनको दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘लाली रुपन्देही ११’सँग भएको प्रतिष्पर्धामा जित हात पारेसंगै दाउफिन्सले सेमिफाइनलमा त्रिभूवन आर्मीसँग प्रतिष्पर्धा गर्नेछ । विहीबारको खेलसँगै विर्तामोडको डोमालाल रंगशालामा सञ्चालित चौथो झापा गोल्डकपमा पहिलो चरणका खेलहरु सकिएका छन् ।

आर्मीले यसअघि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पोखरामा भएको आहा रारा गोल्डकपको सेमीफाइनलमा आर्मीले दाउफिन्सलाई १–० गोलले पराजित गरेको थियो ।

दाउफिन्सले खेलको ३८औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि दाउफिन्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा दाउफिन्सका पेट्न्गाले गोल गरेका थिए ।

खेलका ८७औँ मिनेटमा मैदानको मध्यभागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले अग्रता दोब्बर बनायो । रुपन्देहीका गोलरक्षक अगाडी बढेको समयमा मैदानको मध्यभागबाट इटिग्नेले पोष्टमा प्रहार गरेका थिए ।

खेलको अधिकांश समय रुपन्देहीले बललाई पकडमा राखे पनि पोष्टमा गरेको प्रहार फितलो हुँदा गोल गर्ने अवसरबाट बञ्चित भयो । खेलको २३औँ मिनेटमा रुपन्देहीका लागि विदेशी खेलाडी मन्सा विअभोगीले डि एरियामा मिलाई दिएको पासलाई निरबहादुर बलले कडा प्रहार गरे पनि दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले उत्कृष्ट बचाउ गरेका थिए ।

३२औँ मिनेटमा दाउफिन्सका टिना टिनाले खाली पोष्टमा गोल गर्न सकेनन् । ७७औँ मिनेटमा टिना टिनाले वान भर्सेस वान गोल गर्न सकेनन । खेलको म्यान अफ द म्याच बिजेता टीम दाउफिन्सका मिसोउली इटिग्ने घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । यसअघि दाउफिन्सले यो सिजनका तिलोतमा, मनकामना र बुढासुब्बा गोल्डकपको उपाधि हात पारिसकेको छ ।

शुक्रबारको पहिलो सेमीफाइनल खेल मगमग झापा ११ र रुस्लान थ्री स्टार क्लबबीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै बिजेता टीम दाउफिन्सका मेनेजर आशिक थापा मगरले टीमले सन्तोषजनक नतिजा दिएको बताए । उनले दाउफिन्सले रफ खेल्छ भन्ने आरोपको खण्डनका लागि पनि खेलाडीलाई सचेत गराएको बताए ।

पराजित टीम रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले शुरुमा स्कोर गर्न पाएको अवसर सदुपयोग हुन नसकेपछि दवावमा खेल्नु परेकोले परिणम आफ्नो पक्षमा नपरेको बताए । उनले शारिरिक रुपमा बलिया खेलाडीसँग आफ्ना खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको प्रतिक्रिया दिए ।