पाँचौँ महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता फागुन २८ गतेदेखि विराटनगरमा आयोजना हुँदै छ । उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता पहिलोपटक राजधानीबाहिर आयोजना हुन लागेको हो ।
प्रतियोगिताबारे जानकारी दिँदै अध्यक्ष शेर्पाले भने, ‘अहिले प्रतियोगिताको आवश्यक मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेलमैदानको स्तरोन्नति तथा व्यवस्थापनलगायतका तयारीहरू अन्तिम चरणमा पुगेका छन्, केही दिनमै सम्पूर्ण तयारी पुरा हुनेछ ।’ साथै शेर्पाले पहिलोपटक राजधानीभन्दा बाहिर हुन लागेको प्रतियोगिता सफल भएमा अन्य अन्तर्राष्ट्रिय फुटबलका प्रतियोगिता पनि विराटनगरमा आयोजना गर्न बाटो खुल्ने खुलासा गरे ।
प्रतियोगिताको सफल आयोजनाको लागि विराटनगर महानगरपालिकाको १ करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति हुने अध्यक्षले शेर्पाले बताए । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुनेछ ।
प्रतिक्रिया