पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा


पर्यटन प्रवर्द्धनका लागि कैलालीदेखि कञ्चनपुरसम्मको साइकलयात्रा शुरु भएको छ । युथ स्पोर्टस् क्लब धनगढीको आयोजनामा फागुन २४ गतेदेखि २५ गतेसम्म पर्यटन प्रवर्द्धन गर्न दुईदिने साइकलयात्रा शुरु भएको हो । यात्रा फागुन २४ गते धनगढीबाट शुरु भएको छ ।

धनगढी रंगशालाबाट शुरु भएको साइकलयात्राको धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उदघाटन गरे । देशका विभिन्न स्थानका साइकलयात्रीहरूका साथै चर्चित विश्व साइकलयात्री पुष्कर शाहलगायतको सहभागितामा यात्रा शुरु भएको हो ।

फागुन २५ गते महेन्द्रनगर पुगेर साइकलयात्रा समापन हुनेछ । साइकलयात्रामा सयजनाको सहभागिता रहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षासहित साइकलयात्रा गरिएको हो । कैलाली कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्नका लागि साइकलयात्रा गरिएको आयोजक युथ स्पोर्टस् क्लब धनगढीले जनाएको छ ।

सुदूरपश्चिममा पहिलोपटक साइकलयात्रीहरूलाई एकै ठाउँमा भेला गरेर धनगढीदेखि महेन्द्रगरसम्मको ६६ किलोमिटर र त्यसमा लिङगा जान–आउन लाग्ने २८ किलोमिटर थप दूरीमा साइकलयात्रा शुरु भएको हो । शुक्रबार पहिलो दिन धनगढीबाट शुरु भएको साइकलयात्रा कञ्चनपुरको मझगाउँमा रहेको होस्टेमा पुग्नेछ । त्यसपछि भोलि कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण गराएर महेन्द्रनगरमा साइकलयात्रा समापन हुने कार्यक्रमका संयोजक टेकराज पनरूले जानकारी दिए ।