स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले कुनै पनि बेला विष्फोट हुन सक्ने अवस्थामा पुगेको नेपालको राजनीतिक खतरा टरेको अभिव्यक्ति दिएका छन् । आज (फागुन २४) काठमाडौंमा आयोजित ‘राजनीतिक सहमति घोषणा कार्यक्रम’मा ११बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि सीकेले भने– ‘देश विकराल समस्यातिर उन्मुख थियो, हामी सबै चिन्तित थियौँ, तर आज सहज, सुरक्षित र शान्तिपूर्ण अवतरण सम्भव भएको छ ।’
गृहमन्त्रालयद्वारा आयोजित ‘राजनीतिक सहमति घोषणा कार्यक्रम’मा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेसको मागसहित पृथकतावादी आन्दोलन सञ्चालन गर्दै आएका सीकेले प्रधानमन्त्री केपी ओली आफैले पहलकदमी लिएर राजनीतिक स्पेस प्रदान गरेको भन्दै ओली धन्यवादका पात्र भएको बताए ।
आफ्नो आन्दोलनलाई उनले पूर्णतया अहिंसावादी रहेको दाबी गरे । शान्तिपूर्ण आन्दोलन गर्दा जब प्रहरी दमन हुन्थ्यो त्यतिबेला प्रहरीलाई फुलको गुच्छा दिएर आफूहरूले हृदय जित्ने प्रयास गरेको बताउँदै आफ्नो यो अहिंसात्मक आन्दोलनलाई उत्तेजित तुल्याउने प्रयास नगरी संयमतापूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, सुशील कोइराला, पुष्पकमल दाहाल र शेरबहादुर देउवाको नामै लिएर प्रशंसा गरे ।

सीकेले नेपाल बुद्धको देश भएको र हामी सबै बुद्धका सन्तान हौँ भन्दै अहिंसा नेपालीको रग–रगमा रहेको बताए । ‘तराईदेखि पहाड र हिमालसम्म बुद्ध र गान्धीका आदर्शबाट हामी सबै प्रेरित रहेका छौँ’, सीकेले भने– ‘अहिंसात्मक रूपले आफ्नो अधिकार खोज्न नेपालीलाई कसैले सिकाउन पर्दैन ।’
आफू पटक–पटक पक्राउ परेको, विभिन्न यातना झेलेको तर राज्यप्रति कुनै प्रतिशोधको भावना नराखेको सीकेको भनाई थियो । शान्तिपूर्ण बाटोमा अडिग रहेकोले आजको सुखद क्षण आएको तर्क उनले गरे ।
आफूलाई तराईमा मात्र सीमित रहेको भनी प्रचार गरिनु दुःखद भन्दै उनले पहाडी जिल्लामा समेत आफूहरू सक्रिय रहेको खुलासाा गरे ।
वर्तमान परिवेशमा सबै कुरा जन अभिमतबाट निर्धारण हुने र जनता नै मुलुकको निम्ति सर्वोपरि रहेको सबैले मनन गर्नुपर्ने उनले बताए ।
आज जनता र राज्य सबैको जित भएकोले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्न नहुने अभिव्यक्ति सीकेले दिँदै गर्दा सिटी हलमा उपस्थित दर्शकदीर्घाबाट तालीले स्वागत गरिएको थियो । शान्तिपूर्ण तरिकाबाट समृद्धि हासिल गर्न सबै लाग्नुपर्ने र सकारात्मकताका साथ सहकार्य गरेर नेपालका सबै तह र तप्का अब एकभावले अघिबढ्नुपर्ने तर्क सीके राउतले गरे ।

प्रतिक्रिया