सदस्यसचिव विष्टको अग्निपरीक्षा

सदस्यसचिव विष्टको अग्निपरीक्षा


sportराष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई थाङ्नामा सुताउँदै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा केशवकुमार विष्टलाई नियुक्ति गरेपछि ठूलै विवाद उत्पन्न भएको थियो । मन्त्री पौडेलको उक्त निर्णयको विरोध गर्दै उपाध्यक्ष लामाले राखेप घेराउ गर्दै सदस्यसचिवलाई प्रवेश निषेधसमेत गरेका थिए । यसअघि नेपाल खेलकुद महासङ्घका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले उपाध्यक्ष लामालाई सदस्यसचिव बनाउने निर्णय गरेका थिए । आफूले नै गरेको निर्णय अर्थात् महासङ्घले गरेको सिफारिसलाई खुद मन्त्री पौडेलले उल्टाएर महासङ्घकै महासचिव विष्टलाई राखेपको सदस्यसचिव बनाएपछि विवादले उग्ररूप लिएको थियो । अहिले नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठको पहलमा विवाद मत्थर भए पनि टेन्डीलाई कुन प्रलोभन देखाएर मनाइयो त्यो आफैँमा रहस्यमय बनेको छ । आफ्नो असन्तुष्टि खुलेआम राखेर आफ्नै सदस्यसचिवको विरुद्धमा उत्रिएका लामालाई श्रेष्ठले कसरी थुमथुमाए त्यो बुझिनसक्नु भएको छ । लामा र विष्टबीचको मनमुटाव समाप्त भएको देखाउन खुद लामा विष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि उनीहरूबीच सुगन्धित खिचडी पाकेको अनुभव गर्न सकिन्थ्यो ।
आफूलाई सदस्यसचिव नबनाएर धोका दिएको झोकमा उपाध्यक्ष लामा मन्त्री पौडेल र सदस्यसचिव विष्टका विरुद्धमा सार्वजनिक रूपमा उत्रिएपछि विवादले उग्ररूप लिएको थियो । आफ्नै गुटका लामा मन्त्री पौडेलको निर्णयको विरोधमा सडकमा उत्रिएपछि समस्या झन् जटिल बनेको थियो । विवादले अझ उग्ररूप लिने सम्भावना बढेको अवस्थामा मन्त्री पौडेलले महासचिव श्रेष्ठलाई समस्या समाधानका लागि जिम्मेवारी सुम्पेका थिए । यसपछि श्रेष्ठ, लामा र विष्टबीच भएको वार्तामा लामालाई राखेपमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको जानकारीमा आएको छ । राखेपको विधानमा उपाध्यक्षको कार्यअधिकार भनेको अध्यक्षको अनुपस्थितिमा जिम्मेवारी सम्हाल्ने मात्र हो । यसभन्दा बढी राखेपमा उपाध्यक्षको हैसियत छैन । साँचो रूपमा भन्नुपर्दा उपाध्यक्षलाई केही अधिकार नै छैन भन्दा पनि फरक पर्दैन । यस्तो अवस्थामा हास्यको पात्र बन्नुभन्दा केही अधिकार प्राप्त गर्न लामा मन्त्रीको विरुद्धमा उत्रिएका थिए । अहिले लामाको निसाना ठीक ठाउँमा लागेको छ, उनलाई श्रेष्ठले अधिकारसम्पन्न उपाध्यक्ष बनाउने आश्वासन दिएको थाहा भएको छ । राखेपमा सदस्यसचिवको अधिकार असीमित भएको र त्यसको केही हिस्सा कटौती गरेर उपाध्यक्ष लामालाई दिइन लागेको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार मन्त्री पौडेल, महासचिव श्रेष्ठ र सदस्यसचिव विष्टबीच भएको गोप्य भेटघाटमा उपाध्यक्ष लामालाई केही आर्थिक जिम्मेवारी दिएर उनको मुख सधैँका लागि बन्द गर्ने सहमति भएको बुझिनमा आएको छ । यसमा सदस्यसचिव विष्ट पनि सकारात्मक रहेको बुझिएको छ । समस्याको समाधानका लागि आर्थिक पाटो रामवाण सावित हुने निष्कर्ष निकालेका उनीहरूले यो कुराको जानकारी लामालाई समेत गराइसकेको सूत्रको दाबी छ । आर्थिक पाटोको केही हिस्सा आफूले खेलाउन पाउने भएपछि लामाले पनि यो प्रस्तावलाई सहर्ष स्वीकार गर्दै खुसीले गद्गद् भएको बुझिन आएको छ । थाहा भएअनुसार उपाध्यक्ष लामालाई दैनिक पच्चीस हजारका दरले आर्थिक कारोबार गर्न पाउनेगरी जिम्मेवारी दिइन लागेको सूत्रले बताएको छ । यसरी खेलकुदका जुनसुखै क्रियाकलाप गर्न लामाले अब दैनिक पच्चीस हजार प्राप्त गर्नेछन् । यसका लागि उनले कसैको मुख ताक्नुपर्ने छैन । उल्टै लामालाई यो कार्य गर्नका लागि खुद सदस्यसचिवले सहयोग गर्नुपर्ने बाध्यता छ । सदस्यसचिव विष्टको हस्ताक्षरबिना आर्थिक कार्य गर्न असम्भव हुने भएकोले विष्टको सहभागिता अनिवार्य रूपमा हुनेछ । यसरी बिनाकामकाज उपाध्यक्ष लामाले महिनामा ६ लाख रुपैयाँसम्म खेलाउन पाउनेछन् । महिनाको ६ लाख खेलाउन पाएपछि लामाले झगडा गर्नु पनि पर्दैन भने सदस्यसचिव विष्टलाई चार वर्षसम्म टाउको दुःखाइ पनि हुँदैन । यो कुराको सदस्यसचिव नियुक्ति भएपछि आयोजना गरिएको पहिलो औपचारिक पत्रकार सम्मेलनमा विष्टले गरेको सङ्केतबाट पनि पुष्टि हुन्छ । उक्त पत्रकार सम्मेलनमा सदस्यसचिव विष्टले सदस्यसचिवको अधिकार असीमित रहेको भन्दै नियम–कानुनसङ्गत सबै पदाधिकारीलाई बाँडफाँड गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
सदस्यसचिव नियुक्ति भएको पहिलो दिनमै श्वेतपत्र जारी गरेर खेलकुदको विकास र विस्तारमा होमिने प्रतिबद्धता जाहेर गरेका विष्टको अगाडि अहिले चुनौतीका पहाड खडा छन् । उनले सोचेको र बुझेकोजस्तो खेलकुद कदापि छैन । मुखले फलाक्नु र व्यवहारमा उतार्नुमा ठूलो अन्तर छ । अझ राजनीतिले गाँजेको खेलकुदमा उनका हरेक कदममा प्रश्नचिह्न लाग्ने प्रायः निश्चित छ । यस्तो अवस्थामा एक कदम उचाल्दा विष्टले सयौँचोटि सोच्नुपर्नेछ । यही कुरालाई आत्मसात् गर्दै विष्टले आफ्नो पहिलो पत्रकार सम्मेलनमा खेलकुदमा राजनीतिक आस्थाका आधारमा खेलाडी, प्रशिक्षक, पदाधिकारी र कर्मचारीलाई विभेद नगरिने कुरा प्रस्ट रूपमा राखेका छन् । साथै उनले जिम्मेवारी, इमानदारी, डण्ड र पुरस्कारको कुरा छोडेर आफूलाई सबैको सदस्यसचिवको रूपमा प्रस्तुत गर्ने कोसिस गरेका छन् । जुन उनको सकारात्मक पाटो भए पनि खेलकुदमा जरा गाडेको खुट्टा तान्ने प्रवृत्ति उनको लागि सबैभन्दा ठूलो तगारो बन्नेछ । यसमा अन्य राजनीतिक आस्थाका भन्दा पनि आफ्नै निकटका उनका लागि चुनौती बन्ने प्रायः निश्चित छ । जुन विष्टले सदस्यसचिव भएको पहिलो सातामा नै भोगिसकेका छन् । व्यक्तिगत स्वार्थ र राजनीति अभीष्ट पूरा गर्न राजनीतिक दलका नेता र कार्यकर्ताले विष्टलाई बलिको बोका बनाउने भरसक्दो प्रयास गर्नेछन् । तर, उनी त्यसमा कति खरो उत्रिन्छन् त्यो उनको कार्यशैलीले भोलि अवश्य उजगार गर्ने नै छ ।
चुनौतीको पर्खालबीच सदस्यसचिव विष्टको कार्यकालको शुभारम्भ भएको छ । अझ पूर्वसदस्यसचिव युवराज लामाको सफल कार्यकालले विष्टका चुनौतीलाई अझ बढाइदिएको छ । एकातिर समग्र खेलकुदको विकास र विस्तार विष्टको काधमा छ भने अर्कोतर्फ सक्षम रूपमा खेलकुदलाई हाँक्नुपर्ने विवशता छ । यस्तो स्थितिमा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी, सङ्घहरूकोे विवाद, नेपाल ओलम्पिक कमिटीको विवाद र समाधान आफैँमा चुनौती बनेका छन् । सदस्यसचिव विष्टले चार वर्षका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजनासहितको श्वेतपत्र केही दिनमा जारी गर्ने प्रतिबद्धता जाहेर गरेको अवस्थामा उनका लागि यो अग्निपरीक्षाभन्दा कम छैन । योजना बनाउन गाह्रो हुँदैन, तर त्यसलाई कार्यान्वयन गर्न निकै गाह्रो हुन्छ । त्यसका लागि सबैको साथ र सहयोगको उत्तिकै जरुरी हुन्छ । विष्ट अहिले एमालेको तर्फबाट सदस्यसचिव बनेका छन् । तर, भोलि युवा तथा खेलकुद मन्त्रालयमा नयाँ र अर्कै पार्टीको खेलकुदमन्त्री आउनासाथ उनका सबै योजना लथालिङ्ग र भताभुङ्ग हुनेछन् । जस्तै, पूर्वसदस्यसचिव युवराज लामा र मन्त्री पौडेलको आपसी तालमेल नमिल्दा भएको थियो । सरकार परिवर्तनसँगै जसरी मन्त्री पौडेलले लामालाई कजाउन र तह लगाउन खोजेका थिए भोलि आउने मन्त्रीले पनि उनलाई त्यस्तै गर्नेछन् । यस्तो अवस्थामा पुनः खेलकुद कुहिरोमा हराएको कागजस्तै बन्नेछ । खेलकुदका सम्पूर्ण गतिविधि ठप्प हुनेछन् । तसर्थ प्रतिबद्धता जाहेर गर्नु राम्रो होला, लालमोहर लगाउनुचाहिँ उचित नहोला कि सदस्यसचिव विष्टज्यू ?

‘म भ्रष्टाचारको विरोधी हुँ’
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव केशवकुमार विष्टले आफूलाई भ्रष्टाचारविरोधीको संज्ञा दिएका छन् । सदस्यसचिव विष्टले हालै आयोजित एक कार्यक्रममा आफू एक पैसाको पनि भ्रष्टाचार नगर्ने र अन्य खेलकुद पदाधिकारी र कर्मचारीलाई पनि भ्रष्टाचार गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिएका छन् । सो अवसरमा सदस्यसचिव विष्टले आफ्नो पहिलो प्राथमिकता नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय सङ्घहरूको विवाद समाधान गर्ने रहको बताएका थिए । विष्टले सोको लागि सम्बन्धित सङ्घका पदाधिकारीहरूसँग छलफलसमेत भइरहेको जानकारी गराएका थिए ।
यतिबेला खेलकुदमा नेपाल ओलम्पिक कमिटीलगायत नेपाल सितोरियो कराते सङ्घ, नेपाल कबड्डी सङ्घ, नेपाल सुटिङ सङ्घ, नेपाल कुस्ती सङ्घ, नेपाल जिम्न्यास्टिक सङ्घलगायतका सङ्घमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा चलेका छन् । त्यस्तै नेपाल तेक्वान्दो सङ्घ र अखिल नेपाल फुटबल सङ्घको विवाद पनि कम छैन । तेक्वान्दोको विरुद्धमा नेपाल तेक्वान्दो युनियन खडा भएको छ भने पारा तेक्वान्दो पनि राष्ट्रिय सङ्घको रूपमा गठन भइसकेको अवस्था छ । यसैगरी अखिल नेपाल फुटबल सङ्घ एन्फको विवादले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको अवस्था छ । यस्तो अवस्थामा सदस्यसचिव विष्टले आफ्नो पहिलो प्राथमिकतामा सङ्घको विवाद समाधान गर्ने कुरो उचित भए पनि त्यो त्यति सजिलो भने पक्कै छैन । त्यो उनका लागि फलामको चिउरा सावित हुने प्रायः निश्चित छ । नेपाल ओलम्पिक कमिटीलगायत थुप्रै खेलकुद सङ्घ अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताको आधारमा चलेका छन् । अझ ओलम्पिक कमिटीले राष्ट्रिय मान्यताभन्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका राष्ट्रिय सङ्घहरूलाई काखी च्यापेकाले विष्टका लागि ठूलो चुनौती बन्ने पक्का छ । यसर्थमा कि राष्ट्रिय सङ्घ राखेपअन्तर्गत रहेर कार्य सञ्चालन गरिरहेका छन् भने अन्तर्राष्ट्रिय सङ्घहरूको गतिविधि शून्य छ । यस्तो अवस्थामा विष्ट कुन आधारले समस्याको समाधान गर्न सक्छन् त्यो निकै जटिल प्रश्न बनेको छ ।
हिजो पनि जीवनराम श्रेष्ठको इसारामा नाच्दै आएका र अहिले पनि उनकै मार्गदर्शनमा चल्दै आएका विष्ट भोलि पनि श्रेष्ठकै इसारामा चल्ने पक्का छ । विष्टलाई राखेपको सदस्यसचिव बनाउन अहम् भूमिका निर्वाह गरेका श्रेष्ठको निर्देशनबेगर उनी एक कदम पनि अगाडि बढ्न सक्ने अवस्था छैन । यस्तोमा ओलम्पिक कमिटीको विवाद श्रेष्ठको निर्देशनबिना कसरी सफल होला सोझै अनुमान लगाउन सकिन्छ । विष्टले जीवनरामको गुनको बदला गुन तिर्ने पालोमा उनी कदापि चुक्ने छैनन् । जीवनरामलाई ओलम्पिक कमिटीको अध्यक्ष नबनाई उनलाई चैन हुनेछैन । त्यस्तै भ्रष्टाचारले गाँजेको खेलकुदमा भ्रष्टाचारको सफाइ गर्ने प्रतिबद्धता जाहेर गर्नु सस्तो लोकप्रियताजस्तो मात्र देखिएको छ । नियम–कानुनविपरीत लामा टेन्डी शेर्पालाई आर्थिक चलखेल गर्न दिने गोप्य सम्झौता गरेका विष्टले कसरी आफूलाई भ्रष्टचारको विरोधीको संज्ञा दिए त्यो अहिले चर्चाको विषय बनेको छ ।

खेल समाचार

यूएस ओपन टेबलटेनिसमा गौतम
अमेरिकाको लासभेगास सहरमा आयोजना हुने यूएस ओपन टेबलटेनिस २०१५ मा निर्णायकको भूमिका निर्वाह गर्न वरिष्ठ प्रशिक्षक एवम् निर्णायक शंकर गौतम त्यसतर्फ प्रस्थान गरेका छन् । असार २१ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा अर्का निर्णायक तेजेन्द्र महरा र खेलाडी गोबर्धन श्रेष्ठ रहेका छन् । श्रेष्ठले उक्त प्रतियोगितामा ४०, ५० र ६० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने नेपाल भेट्रान्स टेबलटेनिस सङ्घले जनाएको छ । प्रतियोगितामा ३३ राष्ट्रको सहभागिता रहनेछ । निर्णायक शंकरले यसअघि भारतमा भएको दक्षिण एसियाली तथा एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । यस्तै उनले अस्ट्रिया र अमेरिकामा भएको विश्व जुनियर च्याम्पियनसिप, पाकिस्तान र बंगलादेशमा भएको दक्षिण एसियाली प्रतियोगिता, भारत र थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिप, जापानमा भएको विश्व टेबलटेनिस च्याम्पियनसिप, अस्ट्रियन प्रोटुर, यूएस ओपन, कोरिया जुनियर च्याम्पियनसिपमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । नेपाली टेबलटेनिस टोलीलाई अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द राजवैद्य, नेपाल भेट्रान्स टेबलटेनिस सङ्घका अध्यक्ष रमेशराज जोशी (आरआर गुरु)लगायतले टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा बिदाइ गरेका थिए ।

सहिद दशरथप्रति श्रद्धासुमन
राष्ट्रिय खेलकुद परिषद्मा सहिद दशरथ चन्दको १ सय १३औँ जन्मजयन्तीको अवसरमा राष्ट्रका लागि उनले गरेको योगदानको कदर गर्दै गत साता श्रद्धासुमन अर्पण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् र सहिद दशरथ चन्द मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा भएको कार्यक्रममा परिषद्को हातामा रहेको सहिद दशरथ चन्दको सालिकमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव सकुन्तला नगरकोटी, सदस्यत्रय राजेन्द्र श्रेष्ठ, नारायण पौडेल र शिवबहादुर बस्नेत, दशरथ चन्द मेमोरियल ट्रस्टका अध्यक्ष कर्णबहादुर चन्द, ट्रस्टका सदस्यहरू, परिवारका सदस्यहरू, विभागीय प्रमुखहरू, कर्मचारीलगायतले एक मिनेट मौनधारण गर्नुका साथै फूलमालाका साथ श्रद्धासुमन अर्पण गरेका थिए ।
१९६० सालमा बैतडीमा जन्मिएका चन्दले जनतालाई प्रजातन्त्र दिलाउन जहानियाँ राणाशासनको विरुद्धको आन्दोलनमा आफूलाई अग्रणी भूमिकामा राख्दै १९९७ साल माघ १४ गते शहादत प्राप्त गरेका थिए । सो जन्मोत्सवको अवसरमा विगतमा प्रदान गर्दै आइरहेको मेधावी खेलाडी सम्मान कार्यक्रम वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण राज्यमा सङ्कट आइपर्नाका कारण हाल गर्न नसकिने भएकाले २०७१ सालको मेधावी खेलाडी पुरस्कार २०७२ साल माघ १६ गते सहिद दिवसका दिन गर्ने निर्णय भएको ट्रस्टका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी गराएका छन् ।

ओलम्पियन फूलमायालाई सफलता
पहिलो प्वाइन्ट टु टु (.२२) राइफल प्रतियोगिताको उपाधि ओलम्पियन फूलमाया क्याप्छाकीले जितेकी छिन् । ओलम्पिक डे आयोजक समितिको तत्वावधानमा नेपाल सुटिङ स्पोर्टस् सङ्घको आयोजनामा प्रहरी तालिम केन्द्र महाराजगन्जमा निलिङ पोजिसनमा सो प्रतियोगिता सञ्चालन भएको थियो । महिलातर्फ नेपाल प्रहरीकी सविता बस्नेतले दोस्रो स्थान हासिल गरिन् । तेस्रो स्थान नेपाल प्रहरीकी दुर्गा सिँजालीले हात पारिन् । नेपाल सुटिङ स्पोर्टस् सङ्घका अध्यक्ष किशोरबहादुर कार्की र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष तथा पूर्वएआईजी रमेश श्रेष्ठले संयुक्त रूपमा निशानामा बन्दुक हानी प्रतियोगिता उद्घाटन गरेका थिए ।
प्रतियोगितामा सङ्घका महासचिव तथा डीआईजी रणबहादुर चन्दले स्कोरिङ र खेल व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए । यता पुरुषतर्फको उपाधि भने तिमिरमर्दन केसीले हात पारे । सो स्पर्धामा अभयशमशेर राणा दोस्रो र अमर थापा तेस्रो भए । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड तथा नेपाल सुटिङ स्पोर्टस् सङ्घका अध्यक्ष किशोरबहादुर कार्की र ओलम्पिक डे आयोजक समितिका सदस्य तथा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रमेश श्रेष्ठले विजयी खेलाडी तथा सहभागीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे । सो कार्यक्रममा अध्यक्ष कार्कीले सङ्घले निकट भविष्यमा नै सुविधासम्पन्न सुटिङ रेन्ज निर्माणका लागि पहल थाल्ने जानकारी पनि दिएका थिए । साथै नियमित रूपमा प्रशिक्षणका साथै प्रतियोगिता सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागितालाई निरन्तरता दिँदै जाने पनि जानकारी सो अवसरमा दिइएको थियो ।

समर युनिभर्सियाडमा नेपालको खराब प्रदर्शन
दक्षिण कोरियाको ग्वाङजुमा जारी २८औँ समर युनिभर्सियाड गेम– २०१५ मा नेपाली खेलाडीले खराब प्रदर्शन गरेका छन् । नेपालकी प्रीति बराल लनटेनिसमा पराजित भएकी छन् । दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासँग ६–० र ६–० को सोझो सेटमा पराजित भएकी हुन् । प्रीति कोर्टमा ३० मिनेट मात्र टिकेकी थिइन् । आर्चरीको व्यक्तिगत पुरुष रिकर्भको -याङकिङ राउन्डको ७० मिटर दूरीमा नेपालका प्रकाश गुरुङले सात सय २० पूर्णाङ्कमा पाँच सय ३२ अङ्क जोडे पनि सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले सात सय २० अङ्कमा चार सय ८४ को प्रदर्शन गरेकी थिइन् । इलिमिनेसन राउन्डमा प्रकाशले मंगोलिया तथा कृष्णाले स्लोभाकियाका खेलाडीसँग प्रतिस्पर्धा गरे पनि उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै फेन्सिङको महिला इपी स्पर्धामा नेपालकी राखी शर्माले पनि खराब प्रदर्शन गरेर पराजित भएकी छिन् । पुरुषतर्फ नेपालका सञ्जीव लामा फोइल स्पर्धामा भिडे पनि उनी पनि पराजित भएका छन् ।
प्रतियोगितामा विभिन्न एक सय ४६ राष्ट्रका करिब एक हजार तीन सय खेलाडीको सहभागिता रहेको छ । युनिभर्सियाडको इतिहासमा राष्ट्र र खेलाडी सहभागीको सङ्ख्या अहिलेसम्मकै उच्च हो । नेपालले विभिन्न सात खेलमा १९ खेलाडीलाई सहभागी गराएको विश्वविद्यालय खेलकुद सङ्घ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् । नेपालले लनटेनिस, आर्चरी, फेन्सिङसहित टेबलटेनिस, तेक्वान्दो, पौडी र ब्याडमिन्टनमा खेलाडी सहभागी गराएको टोलीनेता एवम् विश्वविद्यालय खेलकुद सङ्घ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले जनाएका छन् । सबैभन्दा कम लनटेनिसमा एक, आर्चरी, फेन्सिङ, ब्याडमिन्टन र पौडीमा दुई–दुई, टेबलटेनिसमा सबैभन्दा बढी सात तथा तेक्वान्दोमा तीन गरी १९ खेलाडी सहभागी छन् ।
उद्घाटन अघि ग्वाङजु खेल ग्राममा आयोजक कमिटीले विभिन्न राष्ट्रको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा आयोजक कमिटीका पदाधिकारी र सम्बन्धित सहभागी राष्ट्रका प्रतिनिधिबीच मायाको चिनो साटासाट गरिएको थियो । त्यस्तै नेपाललगायत विभिन्न राष्ट्रको झन्डोतोलन गरिएको थियो । प्रतियोगिता जुलाई १४ तारिखसम्म चल्नेछ । यसअघि दक्षिण कोरियाकी राष्ट्रपति पार्क गिन हेले ग्वाङजु वल्र्ड कप स्टेडियममा आयोजित एक भव्य कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।