देश विखण्डनको निम्ति आवाज उठाउँदै आएका सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको पार्टीलाई नराम्रोसँग जिल्ल्याइदिएको छ । विखण्डनका निम्ति सक्रिय रहँदै आएका राउतले जेलबाट छुट्न र आफ्ना गतिविधिहरूलाई निरन्तरता दिन रचेको जालमा सरकार र सत्तापक्ष परेको छ ।
शुक्रबार दिउँसो (फागुन २४) राजधानीमा आयोजित ‘राजनीतिक सहमति’ नाम दिइएको समारोहमा सीकेले आफू नेपालको सार्वभौमिकता एवम् अखण्डताको पक्षमा उभिने प्रतिबद्धतामा एक शब्द खर्च गरेनन्, बरु राज्य साधन मात्र भएको र जनता तथा तिनको सुख–सुविधा नै मूख्य कुरा भएको बताउँदै शान्तिपूर्ण आन्दोलन र जनमत सङ्ग्रहमा जोड दिए ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ ‘सीकेजीले राष्ट्रिय एकताको घोषणा गर्नु सामान्य कुरा होइन’ भन्दै सीकेको प्रशंसा गरेका थिए ।
आफ्नो मन्तव्यमा सीकेले न आफ्ना गतिविधि गलत भएको स्वीकार गरे न भविष्यमा विखण्डनकारी गतिविधिमा नलाग्ने प्रतिबद्धता नै जाहेर गरे । सीकेका अभिव्यक्ति तथा दुई पक्षबीच भएको सम्झौताको ब्यहोराले केपी ओली र उहाँको सरकार झुक्किएको ‘सीकेले बाजी मारेको’ देखाएको छ ।
प्रतिक्रिया