- रेजिना गौतम, झापा
देशमा शान्ति नचाहने तत्वले सरकारले सिके राउतसँग गरेको सम्झौताको टिका–टिप्पणी गरेको आरोप उपप्रधान मन्त्री ईश्वर पोखरेलले लगाएका छन् ।
नेकपाको विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै रक्षामन्त्री समेत रहेका मन्त्री पोखरेलले सिकेलालले संविधान भन्दा बाहिर गएर कुनै पनि गतिविधि गर्दिनँ भन्ने प्रतिबद्धता जनाएपछि मात्र सम्झौता भएको जानकारी दिँदै संविधानअनुसार गरिएको सम्झौतामा टिप्पणी गर्नेले देशमा शान्ति नचाहेको आरोप लगाए ।
छुट्टै मधेशको माग गर्दै हिँडेका सिकेलालसँग सरकारले शुक्रबार ११बुँदे सम्झौता गरेको थियो ।
झापामा मापदण्डविपरीत भइरहेको नदीजन्य निर्माण सामग्री उत्खनन अनुगमन र नियन्त्रण स्थानीय तहको अधिकार भएको बताउँदै स्थानीय तहले नियन्त्रण गर्न नसके सम्बन्धित निकायले अनुगमन गरी कानूनअनुसार कारवाही गरिने बताए ।
पार्टी एकताबारे सोधिएको प्रश्नमा नेता पोखरेलले तल्लो तहदेखि नै एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्दै अब चाँडै एकता हुने आश्वासन दिए ।
यसअघि पूर्वका पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाम पुगेका मन्त्री पोखरेलले धामको विकासका लागि दीर्घकालिन विकासका लागि गुरुयोजना बनाई प्रस्ताव आएमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । धाम समितिले आज (शनिबार) आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सयौँ वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह समेत गरे ।
प्रतिक्रिया