- रेजिना गौतम
यो सिजनको तीनवटा उपाधीविजेता क्यमरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पछि पार्दै डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिवारको अन्तिम सेमीफाइनल खेलमा विजेता बनेसँगै फाइनलमा तेस्रो पटक आर्मीको भेट झापा ११ सँग हुने पक्का भएको छ ।
आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको थियो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको २३ औं मिनेटको दाउफिन्सका तर्फबाट भएको आत्मघाति गोल नै आर्मीका लागि भाग्यशाली सावित भयोे ।
खेल अवधिभर एक दर्जन बढी पावरफुल प्रहार गरेपनि गोलमा परिणत हुन नसक्दा दाउफिन्सको यात्रा सेमीफाइनलमै टुङ्गिएको छ । पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाउफिन्सले दोस्रो हाफमा केही शसक्त प्रहार गरेको थियो । खेलको ४५ औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको पावरफुल प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्यालेका थिए ।
५२ औ मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भयो । ५७ औं मिनेटमा दाउफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन् । ६३ औं मिनेटमा पेटाङगाको पावरफुल प्रहार कुथुले बचाउ गरे ।
आर्मीका टेकबहादुर बुढाथोकीले खेलको ३१ औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो । जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ । आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो । झापा ११ भने फाइनलमा पुगेपनि यसअघिका तीन खेलमा उपविजेतामै सिमित छ । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाएका थिए ।
बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका भरत गुरागाँईले पाएका छन् । टिकट काटे खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्र बाट निरौलाले टेलिभिजन हात पारेका हुन् ।
प्रतिक्रिया