‘थ्री बाई थ्री’ बास्केटबलमा मल्पी र नामी च्याम्पियन

‘थ्री बाई थ्री’ बास्केटबलमा मल्पी र नामी च्याम्पियन


आयोजक मल्पीको ‘बी’ टिम र नामी चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । मल्पी ‘बी’ले छात्र तथा नामीले छात्रातर्फ उपाधि जितेका हुन् ।

बालुवाटारस्थित घरेलु कोर्टमा भएको छात्र फाइनलमा मल्पी ‘बी’ले काष्ठमण्डपलाई २१–१५ ले पराजित ग¥यो । मल्पी ‘बी’ को जितमा आयुश मोक्तानले सर्वाधिक ९ अंक योगदान गरे । बाँकी खेलाडी अनन्य भट्टराईले ६, राहुलविक्रम शाहले ४ र पविन राईले २ अंक जोडे । मल्पी लगातार चौथो पटक च्याम्पियन बनेको हो ।

छात्राको उपाधि भिडन्तमा पासाङ छुटिन शेर्पाको ५ अंक सहयोगमा नामीले यसअघिका तीन संस्करणको विजेता मल्पी ‘बी’लाई १०–६ ले हरायो । वितास्मा गुरुङ र इशिका ढकालले समान २–२ तथा सुरक्षा गुरुङले १ स्कोर गरे । छात्र तथा छात्रा दुवैको विजेताले १० हजार र उपविजेताले ५ हजारका दरले नगद पुरस्कार हात पारे ।

छात्रमा मल्पीका राहुलविक्रम तथा छात्रामा नामीकी पासाङ छुटिन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । छात्रमा काष्ठमण्डपका सिर्जन भण्डारी तथा छात्रामा मल्पी ‘बी’ की सिमरन खाँड ठकुरी सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर सिर्जनले ४५ तथा सिमरनले २७ स्कोर गरे । नामीका तेन्जिङ साम्तेन ‘बेस्ट प्वाइन्ट गार्ड’ चुनिए ।

विजेतालाई मल्पी इन्स्टिच्युटका संस्थापक निर्देशक मिलनविक्रम शाह, एकेडेमिक प्रमुख टेकनाथ पौडेल र प्रशासन प्रमुख पूर्णचन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यस अवसरमा राष्ट्रिय बास्केटबल खेलाडी आयुश सिंह, सौरव श्रेष्ठ र निश्चल महर्जन, यू–१६ का पूर्वबास्केटबल खेलाडी सौगात बानियाँ, पूर्वराष्ट्रिय बास्केटबल खेलाडी रूपक गुरुङ तथा राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तानलाई सम्मान गरिएको थियो । दुई प्रतियोगिताको छात्रमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । छात्रामा ५ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।