राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन २०७५ आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपालको मुख्य आयोजना र सहृदयता समाज नेपाल तथा युग निर्माण महिला समाज नेपालको सह–आयोजनामा आगामी चैत २ गते धार्मिक सहृदयता सम्मेलन हुन लागेको हो ।
नेपालका मौलिक रैथाने धर्महरूलाई क्षति पुऱ्याउने गरी तीव्र गतिमा भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गरिन लागेको प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा नेपालका मौलिक रैथाने धर्महरु हिन्दु, बौद्ध, किरात, जैन र बोनसँग सम्बन्धित विभिन्न संघ–संस्थाका विद्वानहरूको उपस्थिति हुनेछ । सम्बन्धित धार्मिक संस्थाका विद्वानहरूले भिन्दाभिन्दै सत्रमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनको यो दोस्रो संस्करण हो । गत वर्ष फागुन ५ गते पहिलोपटक यो सम्मेलन आयोजना भएको थियो । जरो किलो प्रतिष्ठान नेपालका प्रवक्ता अर्जुन पोखरेल ‘शान्तम श्री’ले जानकारी गराएअनुसार धार्मिक सहृदयता सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
प्रतिक्रिया