शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गरेको छ । फागुन २६ गते आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौतापत्र आदान–प्रदान भएको छ ।
जापानको नम्बर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी जापानका नेपाल प्रमुख मिश्रले सम्झौतापछि समाजलाई एकतामा बाँध्ने खेलकुद क्षेत्रमा कम्पनी जोडिन पाउँदा खुसी लागेको जानकारी गराउँदै भने– हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौँ । सम्झौतापश्चात् प्रतियोगिता पाँचौँ केएनपी राष्ट्रिय महिला भलिबलको नामले सञ्चालन हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएदेखि नै लगातार तेस्रोपटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको केएनपी जापानले आपसी समझदारीमा नगद, मञ्च व्यवस्थापन, होर्डिङ बोर्ड, तुल–ब्यानरलगायत फुटकर खर्चमा आयोजकसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले नेपाली भलिबलको विकास र विस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग, नेपाल भलिबल संघको प्राविधिक सहयोगमा वैशाख १० देखि १३ सम्म सञ्चालन हुने प्रतियोगितामा साबिक पिजेता एपीएफ, होङगान्जी न्युडायमण्ड, नेपाल पुलिस, नेपाल आर्मी, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
चौथो संस्करणमा भन्दा वृद्धि गरिएको नगद पुरस्कारमा विजेताले २ लाख, उपविजेताले १ लाख, तृतीय हुने टिमले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५–१५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्विकर, बेस्ट सर्भर र बेस्ट कोचले जनही ५ हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यसपटक प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजारसहित आकर्षक ट्रफीले पुरस्कृत गर्ने भएको छ ।
खेलाडीलाई प्रोत्सहनस्वरूप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेरबहादुर खड्का स्मृति स्पेसल अवार्ड विजेतालाई सुलक्स सेन्टरबाट ३०–३० हजारबराबरको टिसर्ट र घडी उपलब्ध गराउनेछ । साथै दरबारमार्गस्थित द रिगल ईले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई १५ थान सुट पिस सौजन्य गर्ने भएको छ । त्यस्तै, प्रतियोगिताको उदयमान खेलाडी तथा शेरबहादुर खड्का स्पेसल अवार्ड विजेता खेलाडीद्वयले बुद्ध एयरबाट सौजन्य गरिएको माउन्टेन फ्लाइट टिकट प्राप्त गर्ने छन् ।
चारदिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ । त्रिपुरेश्वरस्थित कभर्डहल निर्माणाधीन अवस्थामा भएकाले खेल स्थल भने आगामी पत्रकार सम्मेलनमा घोषणा गरिने आयोजकले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सीता खड्का, नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया