प्रचण्ड भन्छन्– कास्कीमा रवीन्द्र अधिकारीकी श्रीमतीलाई टिकट दिन सकिन्छ

प्रचण्ड भन्छन्– कास्कीमा रवीन्द्र अधिकारीकी श्रीमतीलाई टिकट दिन सकिन्छ


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा दिवंगत नेता रवीन्द्र अधिकारीकी श्रीमतीलाई उम्मेदवार बनाउन सकिने बताएका छन् ।

सोमबार पोखरामा पुगेका प्रचण्डले संवाददाताहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । पत्रकारहरूसँग कुरा गर्ने क्रममा प्रचण्डले भने, ‘यस क्षेत्रमा वामदेवजीको चर्चा आएको हो, तर, त्यो होइन । उहाँले त्यको खण्डन गरिसक्नुभएको छ । यसका लागि पार्टीले यस जिल्लाको पनि विचार र परिस्थिति हेर्नुपर्ने हुन्छ ।’ उनले अगाडि भने, ‘उहाँको परिवार पनि राजनीतिक पृष्ठभूमिकै परिवार हो र नेतृत्व गर्न सक्ने क्षमता भएकी अधिकारीकी जीवनसंगिनी पनि हुनुहुन्छ, विद्याजी । यी सबै कुरालाई विचार गरेर पार्टीले निर्णय गर्छ ।’

गत निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा रवीन्द्र अधिकारी विजयी भएका थिए । नागरिक उड्डयनमन्त्रीसमेत रहेका अधिकारीको फागुन १५ गते बुधबार ताप्लेजुङको पाथीभरा मन्दिरबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो क्षेत्र खाली भएको छ ।