आठौँ राष्ट्रिय खेलकुदको प्रस्ताव, परिषद्को बोर्डले अन्तिम टुंगो लगाउने

आठौँ राष्ट्रिय खेलकुदको प्रस्ताव, परिषद्को बोर्डले अन्तिम टुंगो लगाउने


राष्ट्रिय खेलकुद परिषदको फागुन २७ गते बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्ने प्रस्ताव राखेको छ । राखेपका सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको उक्त कार्यसमितिको बैठकले चैत २५ गते उद्घाटन र चैत ३० गते समापन गर्ने प्रस्ताव अघि सारेको हो । यसअघि राखेपले चैत २३ गते आठौँ राष्ट्रिय प्रतियोगिताको उदघाटन मितिको प्रस्ताव गरे पनि भौतिक पूर्वाधार सम्पन्न नहुँदा अर्को मिति सारणी गरिएको सदस्यसचिव विष्टले जानकारी गराएका छन् ।

अब युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षता केही दिनपछि बस्ने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा कार्यसमितिले गरेको प्रस्तावको छलफल हुनेछ । सोही बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तथा औपचारिक मिति तोक्नेछ । परिषदको बोर्ड बैठक चैतको पहिलो साता बस्ने सदस्यसचिवले बताए ।

आठौँको आयोजनाका लागि अन्य सम्पूर्ण पूर्वाधारको कार्य सम्पन्न भइसके पनि नेपालगञ्ज रंगशालाको भीआईपी प्याराफिट सम्पन्न नभएका कारण आठौँको मिति सारणी भएको हो । भीआईपी प्याराफिटका लागि एकलट सामान आइसकेको छ भने दोस्रो लटको सामान नेपालको भन्सारमा पुगिसकेको छ ।

अहिले आठौँ राष्ट्रियका लागि प्रदेश छनोट भइरहेको छ । जसमा अहिलेसम्म २० खेलको छनोट सम्पन्न भइसकेको छ भने १५ खेलको छनोट हुन बाँकी छ । आठौँ राष्ट्रियमा ३५ खेल समावेश गरिएको छ । आठौँ राष्ट्रिय प्रदेश ५ को नेपालगञ्जलगायतका विभिन्न जिल्लामा आयोजना हुँदै छ ।