नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनर्गठन सम्बन्धमा मंगलबार बिहान छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल भए पनि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रस्ट पारे ।
सो अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानुनलगायत थुप्रै कार्य गरेको धारणा व्यक्त गरे । उनले प्रदेशको अधिकार खोस्ने कार्य संघीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रस्ट पारे । अध्यक्ष दाहालले पृथकतावादी आन्दोलनमा लागेका सीके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको विचार व्यक्त गरे ।
उनले सीके राउतसँग वर्तमान मुलुकको संविधान स्वीकार गरी राष्ट्रिय राजनीतिमा आउने भएको ११बुँदे सम्झौतामाथि शंका नगर्न सबै राजनीतिक दललाई आग्रह गरे । पार्टी अध्यक्ष दाहालले वर्तमान सरकारले सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमति रहेको प्रस्ट पारे ।
प्रधानमन्त्री ओलीसँग मंगलबार बिहान पार्टी एकतालाई अन्तिम रूप दिन बालुवाटरमा छलफल भएको बताउँदै उनले आगामी एक–दुई दिनभित्र यसको टुंगो लाग्ने जानकारी दिए । नेकपाका दुई अध्यक्षबीचको समझदारीबाट पार्टी सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले भने, ‘हामीबीच कुनै विवाद छैन, समझदारीमा पार्टी अघि बढेको छ ।’ अध्यक्ष दाहाल पाँचौँ साफ महिला फुटबल प्रतियोगिता उदघाटन गर्न विराटनगर आएका हुन् ।
प्रतिक्रिया