नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई सरकारले नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको राससले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकपछि कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँहरू (विप्लव नेतृत्वको पार्टी)ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य भएको र सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको बताए ।
सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पुऱ्याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको सरकारी धारणा छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।
प्रतिक्रिया