नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार संक्षिप्त कुरा गर्दै सभापति देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रस्ट पारे ।
पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमतसंग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने विचार व्यक्त गरे ।
उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको धारणा व्यक्त गरे ।
नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी एयरबसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा देउवाले जोड दिए ।
rss
प्रतिक्रिया