११बुँदे सम्झौताको स्पष्ट व्याख्या गर्न कांग्रेसको माग

११बुँदे सम्झौताको स्पष्ट व्याख्या गर्न कांग्रेसको माग


नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकार र सीके राउतबीच गत शुक्रबार भएको सम्झौताको स्पष्ट व्याख्या गर्न माग गरेको छ ।

सानेपास्थित पार्टी कार्यालय पत्रकार सम्मेलन गर्दै ११ बुँदे सहमतिमा उल्लेख गरिएको ‘जनमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने वाक्यांशको अर्थ के हो त्यसको व्याख्या गर्न कांग्रेसले सरकारसँग माग गरेको हो ।

सहमतिपत्रमा उल्लेख ‘जनमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने वाक्यांशको सरकार र सरकारले आ–आफ्नैअनुकूलको व्याख्या भइरहेका बेला कांग्रेसले सरकारसँग सो माग गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेसद्वारा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धनले सरकारसँगको सझौतालाई जनमतसंग्रहको रूपमा व्याख्या गरेको ५ दिन पुगिसक्दा र जनकपुरमा स्वतन्त्र मधेसको व्यानरसहित उनको उपस्थितिमा प्रदर्शन भएको तीन दिन बितिसक्दा सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाउनु र तत्काल अर्को छलफल आयोजना गरेर साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु रहस्यमय छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तराई–मधेसका आमनागरिकको भावना अखण्ड नेपाल र बलियो नेपाली राष्ट्रियता हो भन्ने तथ्यभन्दा पर गएर राष्ट्रिय एकतालाई खलल पु¥याउन खोज्ने गतिविधिको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’