स्वतन्त्र भारत र हामी

स्वतन्त्र भारत र हामी


sampadakeeyaछिमेकी मित्रराष्ट्र भारतले आफ्नो ६९औँ स्वतन्त्रता दिवस मनाएको छ । समयमै स्वतन्त्रताको अर्थ र महत्व बुझेका भारतीय जनताले मुलुकलाई उपनिवेशबाट मुक्त मात्र तुल्याएनन्, स्वतन्त्रता प्राप्तिपछि भारतलाई प्रगतिपथमा अघि बढाउन पनि उनीहरू दत्तचित्त भएर लागिपरे । फलतः कुनै बेला बेलायतको उपनिवेश रहेको भारत आज सैन्य शक्तिलगायतका क्षेत्रमा बेलायतभन्दा अगाडि आउनुका साथै गरिबी, अभाव र अशिक्षाग्रस्त अवस्थालाई चिर्दै विश्वकै शक्तिशाली मुलुकको पङ्क्तिमा खडा हुन पुगेको छ । यति मात्र होइन, विश्वमा अहिंसा र शान्तिपूर्ण आन्दोलनको शक्तिलाई स्थापित तुल्याउने सवालमा भारतीय स्वतन्त्रता आन्दोलन विश्वकै लागि उदाहरणीय रहेको मानिन्छ ।
भारतीय जनता, त्यहाँको कर्मचारीतन्त्र र राजनीतिज्ञहरू यसका लागि बधाईका पात्र हुन्, जसले अनेक चुनौती सामना गर्दै गणतन्त्र भारतलाई आजको अवस्थासम्म ल्याउन अथक परिश्रम गरे । यद्यपि, भारतसामु अझै पनि बग्रेल्ती समस्या र चुनौती नभएका होइनन् । तर, आजको भारत तमाम चुनौतीको सामना गर्दै अघि बढ्न सक्षम रहने सर्वत्र विश्वास गरिन्छ । यसरी विश्वमञ्चमा दर्बिलो हुँदै आएको भारतको उपस्थितिसँगै उसका आन्तरिक तथा बाह्य दायित्व पनि फराकिलो हुँदै आएका छन् । छिमेकी देशहरूसँगको सम्बन्धमा सन्तुलनको सवालदेखि दक्षिण एसिया हुँदै वैश्विक मामलामा पनि भारतका धारणा, नीति–निर्णय तथा कदमहरू अहम् महत्वशाली देखिँदै आएबाट यसको पुस्ट्याइँ हुन्छ । वास्तवमै विश्व–राजनीतिक मञ्चमा भारत एउटा तीव्रतम् गतिमा उदीयमान शक्तिको रूपमा देखापरेको छ । विशेषगरी दक्षिण एसियामा त भारत सबैभन्दा शक्तिशाली राष्ट्रको रूपमा रहेको र महाशक्तिराष्ट्र अमेरिका, चीनजस्ता मुलुकसमेत भारतसँग बलियो सम्बन्ध बनाउन आतुर रहेको देखिएबाट छिमेकी भारतको बढ्दो विकास र प्रभावको आँकलन गर्न सकिन्छ ।
यसप्रकार सबैभन्दा नजिकको छिमेकी राष्ट्र दिनानुदिन विकास र प्रगतिको दिशामा उध्र्वगतिका साथ लम्किरहेको छ भने भारतसँगको सर्वाधिक सान्निध्यता, साथ र सहयोगका बाबजुद नेपाल भने आपसी राजनीतिक लडाइँमै अल्झिएर शान्ति र समृद्धिको मार्गमा आफैं अवरोधक बनिरहेको विडम्बनायुक्त परिवेश छ । नेपालका राजनीतिक दलहरू झिना–मसिना कुरामा अल्झिने, आपसमा लड्ने र जनतालाई गुमराहमा पारेर भड्काउनेजस्ता कर्ममा लिप्त रहनुको साटो शक्तिशाली छिमेकीको विश्वास जितेर उसको बढ्दो विकासबाट अधिकतम् लाभ उठाउनेतिर लाग्नु समयको माग हो । स–साना कुरामा निहुँ झिकेर भारतको विरोध गर्नुभन्दा आफ्ना कमी–कमजोरीसमेतको समीक्षा गर्दै जनस्तरदेखिकै भारतसँगको सम्बन्धलाई नयाँ–नयाँ आयाम दिएर अघि बढ्नु आमनेपालीका लागि पनि हितकै विषय हो । ठूलो छिमेकीको सेपमा परेर कमजोर बनेको आग्रहपूर्ण तर्क गर्दै छिमेकी भारतलाई दोषारोपण गर्नुअघि हामीले आफ्नो सोच र आचरण पनि नियाल्नुपर्ने हुन्छ । छिमेकीलाई दोष दिँदैमा आफ्नो गल्ती–कमजोरी छोपिन सक्दैन भन्ने तथ्य मनन गर्नैपर्छ । यहाँनेर यो पनि मननीय छ कि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी खुला हृदय र फराकिलो माया, स्नेह या सद्भावका साथ अगाडि आउनुभएको छ । खासगरी नेपालसँगको सम्बन्धका चारवटै आयाम राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक पक्षहरूलाई उहाँ महत्वका साथ अघि बढाउन लालायित देखिनुहुन्छ । नयाँ परिवेशमा नयाँ ढङ्गले वस्तुवादी धरातलमा टेकेर सुसम्बन्ध विकास गर्दै शान्ति, स्थिरता र समृद्धिका लागि दुवै देश लाग्नुपर्ने अवधारणा उन्नत बनेको आजको परिवेशमा भारतजस्तो मित्रशक्तिको सद्भाव, समर्थन र सहयोग मिल्नु सुखद् पक्ष हो । विनाशकारी भूकम्पले हजारौँको ज्यान गुमेको, ऐतिहासिक सम्पदा र भौतिक संरचनाको अकल्पनीय क्षति पुगेको विकराल अवस्थामा मलम लगाउन छिमेकी भारत नै सर्वप्रथम अगाडि आएको र अग्रपङ्क्तिमा रही मानसिक, भौतिक या आर्थिक सहयोग प्रदान गरेको ताजा यथार्थ भारत नेपालप्रतिको स्नेही एवम् मित्रभावले लवालव रहेको कुराको पछिल्लो उदाहरण हो । अकल्पनीय दुःखको बेला सहयोगको हात बढाएर त्यसरी अघिसर्ने कर्तव्य निर्वाह निकटतम् मित्रले मात्रै गर्दछ । भारतले नेपालसँगको आफ्नो अतुलनीय मित्रभावमा कुनै कमी–कसर नराखेका उदाहरण यसरी बेला–बेला चरितार्थ हुँदै आएको छ । यसर्थ, नेपाल र भारतबीचको यथार्थमा आधारित सांस्कृतिक, आर्थिक, सामाजिक सम्बन्धले हाम्रो राजनीति र विकास अघि बढाउन मद्दत पुग्नेमा सन्देह राख्नु आवश्यक छैन ।
मित्रराष्ट्र भारतको ६९औँ स्वतन्त्रता दिवसका अवसरमा समस्त भारतीय जनता तथा भारत सरकारमा हार्दिक बधाईका साथ नेपाल र भारतबीचको सम्बन्ध समयोचित अझै गहन र फराकिलो हुँदै जाओस्, हाम्रो यही शुभकामना छ ।