तीव्रगतिका कारण सुर्खेतमा बस दुर्घटना, दुई जनाको मृत्यु २१ घाइते

तीव्रगतिका कारण सुर्खेतमा बस दुर्घटना, दुई जनाको मृत्यु २१ घाइते


दैलेखबाट सुर्खेतका लागि प्रस्थान गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवानजिक दुर्घटना भएको हो ।

दुर्घटनामा दुल्लु नगरपालिका-१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका-५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका-६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनले गाडीमा सवार अन्य २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र अन्य २० जनाको अवस्था सामान्य रहेको बताए ।

घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ ।

तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।