स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट शुरु

स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट शुरु


बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट चैत ११ गते सोमबारदेखि जमलस्थित साकुरा स्नुकर क्लबमा शुरु भएको छ ।

नेपाल विलियर्ड, पुल तथा स्नुकर संघले आयोजना गरेको छनोटमा गत शनिबार सम्पन्न प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थान हात पर्ने र स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ स्थानका गरी १६ खेलाडी सहभागी छन् ।

यी १६ खेलाडीबीच पहिले नकआउट आधारमा प्रतिस्पर्धा भइरहेको छ । नकआउटमा जित हात पार्ने ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग खेलाइनेछ । दुवै समूहको विजेताले ढाकामा जुलाई २१ देखि २७ तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।

पहिलो दिन सोमबार ४ खेल सम्पन्न भए । त्यसमा स्नुकर संघको वरीयतामा परेका ३ खेलाडीले जित हात पारे । रेगन श्रेष्ठले साकुरा स्नुकर च्याम्पियनसिपका उपाधि विजेता निर्माण बोगटीलाई ५–४, सुजेन शाहीले सञ्जय बज्राचार्यलाई ५–१, विकेश राईले मोती तामाङलाई ५–३ र अमन कार्कीले उदीप शाक्यलाई ५–१ को फ्रेममा पराजित गरे । विजयी ३ खेलाडीका साथै पराजित मोती संघको वरीयता प्राप्त खेलाडी हुन् ।