आठौँको आयोजनामाथि मडारिँदै कालो बादल !

आठौँको आयोजनामाथि मडारिँदै कालो बादल !


सरकारलाई अहिले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गलपासो बन्दै गएको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको समन्वयमा आठौँ राष्ट्रिय खेलकुद प्रदेश पाँचको नेपालगञ्जमा आयोजना गर्ने तयारी भइरहेको छ ।

मंसिरमा गर्नुपर्ने प्रतियोगिता पुस, माघ, फागुन, चैत भन्दै सर्दै आइरहेको छ । चैतको दोस्रो सातामै गर्ने गरी तयारी गरिए पनि खेलाडी एसईई परीक्षामा सहभागी हुनुपर्ने र नेपालगञ्ज रंगशालाको भीआईपी प्याराफिटको छतको सामान नआउँदा समयमै निर्माण सकिएको छैन । चैत ११ गते सोमबार मात्रै सबै सामान नेपालगञ्ज आइपुगेकाले अबको १२ दिनभित्र सबै काम सकिने जनाइएको छ ।

हालै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राखेपका सदस्यसचिव केशवकुमार विष्टले चैत ११ गते सोमबार विभिन्न पूर्वाधारको अवलोकन गरेका थिए । पूर्वाधारको अवलोकनपछि मन्त्री विश्वकर्माले वैशाखको दोस्रो साता प्रतियोगिता आयोजना गर्नुपर्ने धारणा राखेपछि अहिले नेपालगञ्ज तरंगित भएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले यसअघि ०७३ सालमा सातौँ खेलकुद भएको र ०७५ भित्रै आठौँ खेलकुद हुने हुँदा व्यावहारिक रूपले दुई–दुई वर्षमा आयोजना हुने भनिएको मिति पनि पर नजाने तर्क गर्दै आएका छन् । तर, मन्त्री विश्वकर्माको भनाइले राखेपलाई अहिले अप्ठ्यारो परेको छ ।

आठौँ राष्ट्रिय खेलकुदका लागि राखेपले खेलाडीलाई प्रदान गर्ने ट्र्याक सुट, लेटर प्याडलगायत विविध प्राविधिक कुराहरूमा ‘आठौँ राष्ट्रिय खेलकुद २०७५’ लेखिएको छ । यदि वैशाखमा प्रतियोगिता उदघाटन गर्नुपर्ने अवस्था आए यी सबै कुरा काम नलाग्ने निश्चितप्राय छ । ०७५ सालमै गर्ने गरी तयारी गर्दा अहिलेसम्म झन्डै ९० लाख रुपैयाँ खर्च भइसकेको छ । फेरि नयाँ तरिकाले गर्दा थप त्यति रकम लाग्ने र टेन्डरलगायतका कुराले प्रतियोगिता नै आयोजना गर्न नसकिने अवस्थामा पुग्ने खतरा पनि बढेको छ ।

त्यस्तै, वैशाखमा प्रतियोगिता आयोजना गर्दा खेलाडीमाथि पनि खेलवाड हुने यस क्षेत्रका जानकारहरू बताउँछन् । आठौँमा खेल्ने अधिकांश खेलाडी कक्षा १२ को परीक्षाको तयारीमा पनि छन् । कक्षा १२ को परीक्षा वैशाख १० गतेदेखि शुरु हुँदै छ । यसैगरी वैशाखको दोस्रो साता प्रतियोगिता आयोजना गर्दा खेलाडीले परीक्षा र आठौँमध्ये एक रोज्नुपर्ने बाध्यता पनि आउन सक्छ ।

राखेप स्रोतका अनुसार यसअघि विद्यार्थीको एसईई परीक्षा र कक्षा १२ को परीक्षाका कारण प्रतियोगिता चैतको अन्तिम साता शुरु गरी वैशाखको ५–७ गतेभित्र सक्ने गरी आयोजना गर्नुपर्नेमा जोड दिइएको हो । चैतको ३० गतेभित्र प्रतियोगिता उदघाटन गर्दा प्राविधिक कुनै पनि कुराको समस्या नपर्ने भएकाले वैशाखमा जान नहुने राखेपको तर्क छ ।