अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प


अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस)का अनुसार शनिबार (२७ जुन) अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । युएसजिएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए । एक एएफपी पत्रकारले कैयौँ घरहरूको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन् । बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको महसुस गरिएको थियो । यी प्रान्तहरूको ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको छ । पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षति र मानवीय क्षतिको विवरण तत्काल उपलब्ध हुनसकेको छैन । विशेष गरी हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तानमा भूकम्प सामान्य घटना हो, जहाँ युरेसियाली र भारतीय टेक्टोनिक प्लेटहरू भेटिन्छन् ।

अप्रिलमा बदख्शान प्रान्तमा गएको ५.८ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको थियो र देशका धेरै भाग प्रभावित भएका थिए । त्यस्तै सन् २०२५ अगस्टमा देशको पूर्वी भागमा गएको ६.० म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू ध्वस्त पारेको थियो भने दुई हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएकोे थियो । यसको केही साता पछि देशको उत्तरी क्षेत्रमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २७ जनाको मृत्यु भएकोे थियो ।

सन् २०२३ मा इरान सीमासँग जोडिएको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नान्गाहारमा गएका ठूला भूकम्पहरूले सयौँको ज्यान लिएका थिए र हजारौँ घरहरू ध्वस्त भएका थिए । युद्धबाट दशकौँदेखि प्रभावित यो देशमा मुख्य रूपमा ग्रामीण क्षेत्रमा धेरै घरहरू कमजोर र निम्न गुणस्तरका छन् ।

पहाडी भूगोल, कमजोर सञ्चार सञ्जाल र पूर्वाधारका कारण विगतमा विपद् प्रतिकार्यमा ठूलो कठिनाइ भएको थियो । अधिकारीहरूलाई टाढाका गाउँहरूमा पुग्न घण्टौँ वा कैयौँ दिन लाग्ने गर्छ ।