सपना अधुरो बन्दा थपियो चुनौती

सपना अधुरो बन्दा थपियो चुनौती


  • श्रीविक्रम भण्डारी

पहिलोपटक राजधानीबाहिर आयोजित पाँचौँ महिला साफ फुटबल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रदेश १ विराटनगरमा सफलताका साथ सम्पन्न भएको छ । छोटो अवधिमा प्रदेश १ मा उत्कृष्ट आयोजना भएको सो प्रतियोगितामा नेपाल र भारत उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताकै बलियो मानिएको भारतलाई उपाधिको दाबेदार मानिए पनि नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण नेपाललाई पनि पहिलोपटक दाबेदारको रूपमा हेरिएको थियो । आयोजक राष्ट्र नेपाल घरेलु मैदानको फाइदा उठाउँदै यो संस्करणको च्याम्पियन हुने विश्वास गरिएको थियो ।

नेपाल र भारतबीचको फाइनल खेल हेर्न विराटनगरको शहीद रंगशालामा हजारौँ दर्शक उपस्थित थिए । १२औँ खेलाडीको रूपमा उपस्थित दर्शक त्यतिबेला निराश भए जब नेपाल भारतसँग फाइनलमा ३–१ ले पराजित भयो । पहिलो हाफ १–१ गोल बराबरी खेलेको नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर, नेपाली टिम दर्शकको अपेक्षामा खरो उत्रिन सकेन । परिणाम दोस्रो हाफमा फितलो प्रदर्शन गरेको नेपाल उपाधि जित्नबाट विमुख बन्न पुग्यो । नेपालको पहिलोपटक साफ फुटबलको उपाधि जित्ने सपना सपनामै परिणत भयो । भारतले नेपाललाई पराजित गर्दै पाँचौँपटक च्याम्पियन बन्न सफल भयो ।

खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । फ्री किकबाट निकै आकर्षक र सुन्दर गोल गरेकी डालिमाले गरेको उक्त गोलले बेलायतका विश्वचर्चित फुटबल खेलाडी डेबिड बेकह्यामको याद दिलाएको थियो । पहिलो गोल यति सुन्दर थियो कि उपस्थित सम्पूर्ण दर्शकहरू अक्क न बक्क परेका थिए । उक्त गोल नेपालविरुद्ध भए पनि ताली बजाएर सम्मान नगर्ने र प्रशंसा नगर्ने कमै थिए । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले हेडद्वारा गोल गर्दै खेललाई बराबरीमा पुऱ्याएपछि फाइनल खेल अझ रोचक र सनसनीपूर्ण बनेको थियो । पहिलो हाफ बराबरीमा टुङ्गिए पनि नेपालले भारतलाई कडा चुनौती दिएको थियो । साँचो रूपमा भन्नुपर्दा पहिलो हाफमा कुनै पनि कोणबाट हेर्दा नेपाल भारतभन्दा १९ थिएनन् ।

दोस्रो हाफ नेपाली खेलाडीका लागि निकै चुनौतीपूर्ण थियो । यसर्थमा कि नेपाली खेलाडीको लागि जित्नैपर्ने इतिहास बनाउनुपर्ने बाध्यता थियो । यही रणनीति र चुनौतीका साथ नेपाल दोस्रो हाफमा उत्रिने विश्वास गरिएको थियो । तर, विडम्बना ! नेपालको रणनीतिलाई विफल पार्न भारत खेल शुभारम्भदेखि नै आक्रमण रूपमा भयो । नेपाली खेलाडीलाई दबाबमा राख्दै नेपालको पोस्टमा आक्रमणमाथि आक्रमण गऱ्यो । परिणाम खेलको ६३औँ मिनेटमा ग्रेस डाङमेयीले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । दोस्रो गोल खाएपछि लर्बराएको नेपाली टोली त्यसपछि फितलो खेल प्रदर्शन गर्दै खेलमा फर्कनै सकेन । नेपाली खेलाडीको खेल हेर्दा लाग्थ्यो, उनीहरू थकित र गलित भइसकेका छन् । उनीहरू खेलमा फर्कनेभन्दा पनि फुटबल मात्रै खेलिरहेकाजस्ता देखिन्थे । परिणाम, खेलको ७८औँ मिनेटमा भारतकी अञ्जु तामाङले आफ्नो देशका लागि तेस्रो गोल गरेर नेपालको बचेखुचेको आशालाई समेत समाप्त पारेकी थिइन् । नेपालले तेस्रो गोल खाएपछि दर्शकहरू पनि खेल हेर्न छोडेर रंगशालाबाट बाहिरिएका थिए । जुन दृश्य आफैँमा उदेकलाग्दो मात्र नभई निकै पीडादायक पनि बन्न पुगेको थियो । साँचो रूपमा भन्नुपर्दा फुटबलका सम्पूर्ण लबरहरू निराश मुद्रामा टाउकोमा हात राख्दै आत्मआलोचना गरिरहेका थिए ।

पाँचौँ महिला साफ फुटबल च्याम्पियनसिपमा बंगलादेशको टिमले अनुशासित टोलीको उपाधि हासिल गरेको थियो । त्यस्तै, प्रतियोगितामा सर्वाधिक ४–४ गोल गरेका भारतकी इन्दुमती कथिरेसन र नेपालकी सावित्रा भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी भ्यालुएबल प्लेयरको उपाधि भारतकिी डालिमा छिब्बरले प्राप्त गरेकि थिइन् । यी खेलाडीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले ट्रफीसहित सम्मान गरेका थिए । नेपाल साफ महिला फुटबलमा चारपटक फाइनलमा पुगेको छ । शुरुवातका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

फाइनल फुटबलको प्रत्यक्ष दृश्यालोकन गरिरहेका पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राजेन्द्रकुमार केसीको उत्साह रंगशालामा उपस्थित आमदर्शकभन्दा कम थिएन । मन्त्रीद्वयले खेलाडीको हौसला र उत्साह बढाउन जसरी ताली बजाइरहेका थिए त्यो आफैँमा प्रशंसायोग्य थियो । जब नेपाली खेलाडीको खुट्टामा बल पथ्र्यो, दर्शकहरूको चिच्याहटसँगै उनीहरू पनि नेपाल, नेपाल भन्न पछि पर्दैनथे । उनीहरूको भित्री चाहना भनेकै नेपालले जितोस् भन्ने थियो । जब अन्तिम नतिजा आयो उनीहरूको मुख पनि मलिन थियो, नेपाल हारे पनि खेलाडीहरूको प्रदर्शनबाट उनीहरू सन्तुष्ट थिए । तर, उनीहरूको मनमा कहीँकतै घोचिरहेको थियो, हामी कसरी चुक्यौँ भनेर । त्यत्तिकैमा दुवै मन्त्रीको एउटै स्वर निस्कियो, ‘हाम्रो प्रशिक्षण पुगेन, स्टामिना पुगेन, अन्यथा कुनै कोणका हाम्रा खेलाडी भारतको भन्दा कम थिएनन् ।’ अब महिला फुटबलको स्तरोन्नति र भविष्यका लागि के गर्नुपर्ला भन्ने प्रश्नमा मन्त्रीद्वयले भन्नुभयो, ‘महिला फुटबलमा हाम्रो भविष्य छ, दक्षिण एसियामा मात्रै नभई एसियालीस्तरमा पनि नेपालले राम्रो गर्न सक्छ ।’ यसको लागि एन्फाले मात्र नभई सरकारले समेत गम्भीर बन्नुपर्ने उनीहरूको धारणा थियो ।

त्यस्तै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजधानीबाहिर आयोजित पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सफल भएकोमा खुसी प्रकट गरेका छन् । ‘छोटो समय थियो, निकै चुनौतीपूर्ण थियो, र पनि सफलताका साथ प्रतियोगिता सम्पन्न गर्न सफल भयौँ । यसको लागि सम्पूर्ण शुभचिन्तक र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विशेष धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भने । मेयर पराजुलीको सहयोगबिना प्रतियोगिताको आयोजना असम्भव भएको भन्दै उनको सहयोग आफँैमा अविष्मणीय बनेको शेर्पाको भनाइ छ । त्यस्तै, नेपाल च्याम्पियन बनेको भए सुनमा सुगन्ध हुने थियो भन्दै आफू नेपाली टिमको प्रदर्शनप्रति सन्तुष्ट रहेको शेर्पाले बताए । राम्रो प्रदर्शन गरेको नेपाली टोलीले फाइनलमा शतप्रतिशत दिन नसके पनि यसबाट निराश नहुन र आउँदो प्रतियोगिताका लागि विशेष तयारीको लागि तयार रहन आग्रह गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौँ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको हालै सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले सो कुराको जानकारी गराएका हुन् । यसअघि पाँचौँ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले एक लाख तथा विराटनगर महानगरपालिकाले ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी एन्फाले आर्थिक वर्ष ०७५–७६ का लागि रु. २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकोमा धन्यवाद दिँदै प्रदेश १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी गराएका छन् ।

प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने शेर्पाले आश्वासनसमेत दिए । विराटनगरको शहीद रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाइ थियो । साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगरपालिकाबाट एक करोड २० लाख र प्रदेश सरकारबाट ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साफ च्याम्पियन सम्पन्न गर्न एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ । साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले जानकारी दिए । यस्तै, एन्फाले खेलकुद पत्रकारिताका लागि तीनदिने प्रशिक्षण कार्यक्रम गर्ने अध्यक्ष शेर्पाले बताए । यसैगरी खोटाङ, नवलपुर र मनाङ जिल्लाका फुटबल सङ्घलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रूपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको जानकारी गराए ।