ब्याडमिन्टन लेभल वान कोर्स सम्पन्न

ब्याडमिन्टन लेभल वान कोर्स सम्पन्न


नेपाल ब्याडमिन्टन संघको आयोजनमा बीडब्लूएफ लेभल वन प्रशिक्षक प्रशिक्षण तथा सटल टाइम ट्युटरल कोर्स सम्पन्न भएको छ । प्रशिक्षकहरूको कमी तथा सुविधासम्पन्न स्थानमा मात्र ब्याडमिन्टनको विकास भइरहेको अवस्थालाई मध्यनजर राख्दै नेपालमा ब्याडमिन्टन संघले प्रशिक्षकहरू उत्पादन गर्ने उद्देश्यले पहिलो चरणको लेभल वान प्रशिक्षक प्रशिक्षण कोर्स आयोजना गरेको हो ।

यसका साथै खेलको विकासमा सुस्तता भइरहेको अवस्थालाई विद्यालयस्तरदेखि नै ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले सटल टाइम ट्युटरल कोर्सलाई पनि साथसाथै लाने जमर्कोस्वरूप उक्त कोर्स पनि सञ्चालन गरेको हो ।

हेटौँडामा चैत ६ देखि १२ गतेसम्म भएको एकहप्ते कार्यक्रममा सहभागीलाई ब्याडमिन्टन एसियाका विकास अधिकृत श्री साम्बेन्थान शिभपेरुमल र ब्याडमिन्टन एसिया क्षेत्रीय विकास अधिकृत निखिल चन्द्रधरले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाका ३४ प्रशिक्षकको उपस्थिति रहेको थियो ।

ब्याडमिन्टन खेलको विकास र विस्तारका लागि विश्व ब्याडमिन्टन महासंघले विभिन्न राष्ट्रमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजना गरिने यस्तो कार्यक्रमले नेपालमा पनि ब्याडमिन्टन खेलको विकास गर्न मद्दत पुग्ने ब्याडमिन्टन एसियाका विकास अधिकृत शिभपेरुमलले बताए । उनले कार्यक्रममा सहभागी प्रशिक्षकको सिकाइको मिहिनेत र उत्साहले आगामी दिनमा नेपालमा ब्याडमिन्टन खेलको विकासमा उत्साहजनक उपलब्धि हासिल हुनेमा आफू विश्वस्त रहेको बताए ।

यो कार्यक्रमले आफूहरूले निकै राम्रो ज्ञान हासिल गरेको र उक्त ज्ञानलाई खेलाडी उत्पादन र खेलकुद विकासमा उतार्ने कार्यक्रममा सहभागी प्रशिक्षकहरूले बताए ।