दीपेश ब्याडमिन्टनको तीनै विधाको अन्तिम चारमा

दीपेश ब्याडमिन्टनको तीनै विधाको अन्तिम चारमा


एपीएफका दीपेश धामी १५औँ कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा विजय यात्रा जारी राख्दै सहभागी तीनै विधाको अन्तिम चारमा पुग्न सफल भएका छन् । दीपेशले पुरुष एकल, युगल र मिश्रित युगलमा सेमिफाइनलको यात्रा तय गरेका हुन् । पुरुष एकलमा एपीएफका गौतमसिंह कठायतलाई २१–१४, २१–८ ले पराजित गरेका धामीले पुरुष युगलमा विजित थापामगरसँग मिलेर एपीएफकै विशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २१–१३, २१– १९ ले पाखा लगाए । यस्तै, मिश्रित युगलतर्फ पनि पूजा श्रेष्ठसँग मिलेर धामीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१–१७, २१–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

यस्तै अन्तिम ४ मा प्रवेश गर्ने पुरुष एकलतर्फका अन्य खेलाडीमा सेनाका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्य रहेका छन् । प्रफुलले एपीएफका सुदीप सेढाईंलाई २१–१८, २१ –११ ले, प्रिन्सले एपीएफका सुनील जोशीलाई २१–१५, २१–१९ ले तथा जीवनले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१७ ले पराजित गरे ।

पुरुष युगलतर्फ पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले एपीएफका सुमन लिम्बू र जोसेफ अधिकारीको जोडीलाई २१–१२, २१–९ ले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरे । यस्तै, एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकारको जोडीले एपीएफकै सुनील जोशी र गौतमसिंह कठायतको जोडीलाई २१–१८, २१–१८ ले पराजित गर्दै फाइनल प्रवेशका लागि सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । महर्जन जोडीले सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफका नीरविक्रम देवकोटाको जोडीलाई २१–१५, २१– १६ ले पराजित गरे ।

मिश्रित युगलतर्फ एपीएफका गौतम कठायत र सुनैना मुखिया, सेनाका सुरोज महर्जन र अमिता गिरी तथा एपीएफका विजित थापामगर र शोभा गौचनको जोडी पनि सेमिफाइनलमा स्थान बनाउन सफल भए । कठायत र मुखियाको जोडीले सेनाका रुकेश महर्जन र रञ्जना भट्टको जोडीबाट वाकओभर प्राप्त गरे । यस्तै सुरोज र अमिता गिरीको जोडीले एपीएफका नीरविक्रम देवकोटा र भोजपुरकी सीता राईको जोडीमाथि २१–१९, २१–१३ को जित निकाले । विजित र शोभाको जोडीले सेनाका प्रफुल महर्जन र अनुमाया राईको जोडीलाई २१–१९, २१–१८ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

हल्चोकस्थित एपीएफको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाका खेलाडीहरूले बर्चस्व कायम गरे । सेनाका अमिता गिरी, रसिला महर्जन र अनुमाया राईले अन्तिम ४ मा स्थान पक्का गरे ।