नेपालगञ्ज रंगशालामा प्यारापिट जडान शुरु

नेपालगञ्ज रंगशालामा प्यारापिट जडान शुरु


सोमबार साँझ नेपालगञ्ज भित्रिएको भीआईपी प्यारापिटको जडान शुभारम्भ भएको छ । सोमबारदेखि नै जडान शुरु भएको भीआईपी प्यारापिट दश दिनभित्र जडान गरिसक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराएका छन् ।

समयलाई मध्यनजर गर्दै दिनरात एकैगरी भीआईपी प्यारापिटको जडान गरिने विष्टले बताए । प्यारापिट जडान गर्न आवश्यक जनशक्ति र सामग्री तत्काल उपलब्ध गराउन र कुनै किसिमको ढिलासुस्ती नगर्न आफूले निर्देशनसमेत दिएको उनले बताए । प्यारापिटको जडानको कार्य चीनका इन्जिनियरहरूले गरिरहेका छन् । प्यारापिटको काम युद्धस्तरमा चले पनि आठौँको मिति अहिलेसम्म तोकिएको छैन ।

प्रदेश ५ मा आयोजना हुन गइरहेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्य पूर्वाधारहरूको निर्माण सम्पन्न भए पनि मुख्य रंगशाला नेपालगञ्ज रंगशालामा प्यारापिट जडान नभएका कारण अपूरो थियो । प्यारापिट जडानपछि नेपालगञ्ज रंगशालाले पूर्णता पाउनेछ । यही रंगशालामा आठौँको उदघाटन कार्यक्रमको आयोजना गरिनेछ ।

आठौँको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद स्रोतले जानकारी गराएको छ ।