चर्चित क्रिकेट लिग आईपीएलमा आफ्नो ग्ल्यामर छविसँगै सुन्दर हाउभाउका साथ नृत्य प्रदर्शन गर्ने चियर्स लिडरले एउटा खेलमार्फत कति रकम पाउँछन् त्यो अहिले सर्वत्र जिज्ञासाको विषय बनेको छ । विश्वकै सबैभन्दा महँगो क्रिक्रेट लिग आईपीएलमा चियर्स लिडर्सले पनि ठूलै आम्दानी गर्ने कुरा जहिले पनि चर्चाको विषय बनेको छ । खेलाडीले प्रहार गरेका हरेक चौका र छक्कासँगै आकर्षक नृत्य गर्दै खेलाडीको मनोबल बढाउन प्रेरित गर्ने चियर्स लिडर अर्थात् विदेशी युवतीहरूले एउटा खेलमा कति रकम पाउँछन् त्यसको चर्चा गर्नु उपयुक्त ठानिएको छ ।

विश्वका हजारौँ युवतीबाट छनोट भएर आउने चियर्स लिडरले एउटा खेलमा कति पारिश्रमिक पाउँछन् त्यो विज्ञासाको विषय हो । स्रोतका अनुसार खेल अवधिभरि आफ्नो टिमका खेलाडीको हौसला बढाउन आकर्षक नृत्य प्रदर्शन गर्ने चियर्स लिडरले एउटा खेलको लागि १५ हजारदेखि २५ हजार नेपाली रुपैयाँ पारिश्रमिक लिने बुझिएको छ ।
आईपीएलका आठ टिमले चियर्स लिडर राख्दा आ–आफ्नै तरिकाले उनीहरूलाई पारिश्रमिक दिँदै आएका छन् । ती टिमहरूले कसैले कम्तीमा १५ हजार दिँदै आएका छन् भने कसैले ३० हजारसम्म दिने गरेका छन् । चियर्स लिडरलाई सबैभन्दा बढी पारिश्रमिक दिने टिममा कोलकाता नाइट रिडर्स पहिलो नम्बरमा पर्छ । केकेआरले प्रत्येक खेलमा एक चियर्स लिडरलाई २५ देखि ३० हजार दिने गरेको छ ।

त्यसबाहेक चियर्स लिडरले अतिरिक्त रकम पनि पाउँछन् । यदि खेल आफ्नो टिमले जितेको खण्डमा उनीहरूले अतिरिक्त बोनस पाउँछन् । उक्त बोनस पाँच हजारदेखि आठ हजार नेपाली रुपैयाँसम्म हुन्छ । बोनस दिने कुरामा टिमको आ–आफ्नै निर्णय हुन्छ । उनीहरूले आफ्नो चाहनाअनुरूप जति पनि बोनस दिन सक्छन् । त्यस्तै, हरेक खेलको बोनसबाहेक चियर्स लिडरले म्यागजिन र न्युजपेपरको लागि फोटो सुट गरेबापत दश हजार अतिरिक्त पारिश्रमिक पाउँछन् । यसैगरी आईपीएलको पार्टी र कर्पोरेट इभेन्टमा उपस्थिति भएबापत पनि चियर्स लिडरले १५ देखि २० हजारसम्म पारिश्रमिक पाउँछन् ।
प्रतिक्रिया