फुटबलमा टुपुल्किएको ‘सानो खुसी’

फुटबलमा टुपुल्किएको ‘सानो खुसी’


sportफुटबल नेपालको मात्रै नभई विश्वकै नम्बर एक खेल हो भन्दा सायदै कसैको दुईमत होला । असी र नब्बेको दशकमा दक्षिण एसियाली मुलुकमा नेपालले गरेको प्रदर्शन र जमाएको धाक अहिले पनि आमनेपालीको मानसपटलमा ताजै छ । दक्षिण एसियाली मुलुकमा फुटबलको महारथीको रूपमा उदाएको र चिनिएको नेपाल नब्बेको दशकको उत्तराद्र्धदेखि अधोगतितर्फ उन्मूख भएको थियो । आफ्नो मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा गुमाउँदै आएको नेपालले त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेको तीतो सत्य हाम्रोसामु छ । अन्तिमपटक सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेयता नेपालले फुटबलमा कुनै चमत्कार देखाउन सकेको छैन । अझ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वागडोर गणेश थापाले सम्हालेपछि फुटबलमा ग्रहण नै लागेको छ । अध्यक्ष थापाले समग्र फुटबलको विकासका लागि दक्षिण एसियाली मुलुकमा नेपाललाई उदाहरणीय राष्ट्रको रूपमा प्रस्तुत गरे पनि परिणाममा आएको शून्यताले थापा आलोचनाका पात्र मात्र बनेको फुटबलको इतिहासलाई पल्टाउँदा प्रस्ट रूपमा थाहा पाउन सकिन्छ ।
यतिबेला नेपालले दक्षिण एसियाली राष्ट्रमा फुटबलमा आफ्नो शान गुमाइसकेको अवस्था छ । दक्षिण एसियाको दुईपटकको च्याम्पियनलाई अहिले भुटानको समकक्षमा हेरिन थालिएको छ । हिजो भुटानलाई एक दर्जन गोल गर्दा कुनै उपलब्धि मानिँदैनथ्यो, अर्थहीनको विजयको संज्ञा दिइन्थ्यो । तर, अहिले समयले कोल्टे फेरेको छ, अहिले भुटानलाई एक गोलको अन्तरले जित्दासमेत ऐतिहासिक सफलता ठानिँदै छ । यसबाट के प्रस्ट हुन्छ भने नेपाली फुटबलको स्तरोन्नतिमा अवश्य ह्रास आएको छ । अन्यथा सन् १९९३ देखि नेपाल उपाधिविहीन कदापि हुने थिएन । यसको मतलब नेपालले यो २२ वर्षको अवधिमा प्रयास नगरेको भने पक्कै होइन, तर असिम सुविधा पाएर पनि फुटबल खेलाडीहरू असफल भएकाचाहिँ पक्कै हुन् । कारण जुन खेलमा गोल नठोकी जित्न सकिँदैन त्यसमा नेपाली खेलाडी असफल भएपछि नेपाल विजयबाट विमुख भएकोभन्दा अतिसयोक्ति नहोला । साँचो अर्थमा भन्नुपर्दा विगत दुई दशकमा नेपाली खेलाडीले गोल गर्न नै बिर्सिएका छन् । कागताली परेर कुनै खेलमा एक–दुई गोल गरे पनि अन्यथा नेपाली खेलाडी पूर्ण रूपमा असफल भएको अन्तर्राष्ट्रिय खेलको नतिजालाई हेर्दा प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । तर, विडम्बना ! छोराछोरी बिग्रँदा अभिभावकलाई दोष आउँछ भनेझँै यति लामो समयसम्म फुटबलमा कुनै नतिजा नआउँदा यसको दोष गणेश थापाले खेप्नु स्वाभाविकै हो । यसर्थमा थापा एन्फाका अभिभावक तथा अध्यक्ष हुन् ।
यतिबेला दक्षिण एसियाली मुलुकमा फुटबलको विश्लेषण गर्ने हो भने भारत पहिलो स्थानमा पर्छ । उमेर समूहमा होस् या राष्ट्रिय टिममा भारत महारथीको रूपमा देखिएको छ । अझ भारतमा गत वर्षदेखि सञ्चालन भएको आई लिगले भारतीय फुटबलको कायापलट नै गरिदिएको छ । साँचो अर्थमा भन्नुपर्दा भारतीय फुटबल खेलाडीको स्तर र आत्मविश्वासमा निकै वृद्धि भएको छ । उनीहरू युरोपियन र अमेरिकन खेलाडीभन्दा कम देखिएका छैनन् । यस्तो अवस्थामा तुलनात्मक हिसाबले पनि भारतीय खेलाडी नेपाली खेलाडीभन्दा निकै माथि छन् । सत्यता यस्तो भए पनि पहिल्यै खुट्टा तान्न भने अवश्य हुँदैन । साँचो अर्थमा भन्नुपर्दा नेपाली खेलाडी यो रोग र मानसिकताबाट ग्रस्त छन् । उनीहरूले गोल गर्न नसक्नुको कारण पनि यही बनेको छ । अन्यथामा नेपाली लिगमा गोलको वर्षा गर्नेहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूभन्दा निकै कमजोर र समान टिमसँग पनि किन गोल गर्न सक्तैनन् त ? प्रश्न अहम् र गम्भीर छ । र पनि, अहिलेसम्म नेपाली फुटबल खेलाडी घरभित्र बाघ बने पनि बाहिर भने मुसो नै सावित भइरहेको दृष्टान्त हाम्रोसामु छ । विगत दुई दशकदेखि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हारबाहेक जितको मुख देख्न पाएको छैन । अहिले नेपाली फुटबलमा हारको शब्दले वर्चश्व कायम गरेको छ । तथापि फुटबललाई माया गर्नेहरूले यस्तो हारको शृङ्खलालाई समेत आत्मसात् गर्दै सफलता र विजयको कामना गर्न छोडेका छैनन् । तर, नेपाली खेलाडी दिनप्रतिदिन असफल भइरहेका छन् । जुन सम्बन्धित निकाय एन्फाका लागि समेत टाउको दुःखाइको विषय बनेको छ ।
राष्ट्रिय फुटबल टिमले नेपाल र नेपालीलाई जहिल्यै अर्थात् सधैँ निराश पार्दै आएको कहीँबाट छिपेको छैन । जसको निरन्तरता अद्यापि जारी छ । नेपाली टिमले कहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजय हासिल गर्ला त्यो वीरबलको खिचडीजस्तै बनेको छ । वीरबलको खिचडी कहिले पाक्ला भनेझैँ नेपाली खेलाडीले कहिले अन्तर्राष्ट्रियस्तरमा सफलता पाउलान् त्यो निकै गम्भीर र सोचनीय कुरो बनेको छ । राष्ट्रिय टिमबाट निराशाबाहेक केही नपाएको एन्फाले यसपटक उमेर समूहबाट भए पनि सफलता हासिल गरेको छ । यो सफलताले नेपाली फुटबलमा थोरै भए पनि खुसी टुपुल्किएको छ । फुटबलमा आशा र विश्वासका किरणहरू देखिन थालेका छन् । चञ्चल मनमा उत्साह र उमङ्गले दस्तक दिएका छन् । उमेर समूहको सानो सफलता नेपालका लागि ठूलो र ऐतिहासिक सफलता बनेको छ । हिजोसम्म केही नपाएर रित्तो हात मोल्दै आएका नेपाली खेलाडीको हातमा यतिबेला साफ च्याम्पियनसिपको ट्रफी परेको छ । ‘कोही नहुनुभन्दा कानै मामा भए पनि राम्रो’ भन्ने उखानमा जति सत्यता छ यो विजय नेपालका लागि त्यस्तै बनेको छ । तसर्थ फुटबलमा नेपालले पाएको यो सफलता सानै भए पनि उत्कृष्ट र प्रभावशाली बनेको छ । जसले नेपाली फुटबललाई नौलो मार्गमा डो-याउने विश्वास गरिएको छ ।
हालै सम्पन्न प्रथम साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेपछि अहिले विभिन्न अड्कल र अनुमान काटिन थालिएको छ । भारतजस्तो दाबेदार विपक्षीलाई फाइनलमा पन्छाएर उपाधि जित्नु नेपालका लागि कुनै विशाल पहाडलाई तोड्नुभन्दा कम थिएन । तर, यसमा नेपालका युवा खेलाडी सफल भएका छन् । जसले सपनालाई हकिकतमा परिणत गरेर देखाएका छन् । त्यसका लागि उनीहरू साधुवादको पात्रसमेत बनेका छन् । यसैलाई मध्यनजर गरेर फुटबलका विज्ञ र विश्लेषकहरूले अब नेपालको दिन फर्किने धारणासमेत राखेका छन् । उनीहरूले वर्तमान युवा टिमप्रति विश्वास प्रकट गर्दै यिनै युवाहरूले आगामी दिनमा नेपालको ओरालो लागेको फुटबललाई माथि पु-याउने ठोकुवा गर्नसमेत पछि परेका छैनन् । उनीहरूलाई नेपालको फुटबलको भविष्यसँग दाँज्दै यो नेपाली फुटबलका लागि सुखद पक्ष भएको टिप्पणीसमेत गरेका छन् । नेपालले प्रथम यू–१९ फुटबल च्याम्पियनसिपमा राम्रो सुरुवात गरेको छ । जुन नेपाली खेलाडीका लागि विश्वासिलो आधारसमेत बनेको छ । अर्को कुरा नेपाल घरेलु मैदानमा च्याम्पियन बने पनि विदेशी भूमि नेपालका लागि निकै कठिन र चुनौतीपूर्ण हुनेमा दुईमत छैन । भारत, अफगानिस्तान र बंगलादेशले साफ च्याम्पियनसिपमा गरेको प्रदर्शन आफैँमा उत्कृष्ट छ । जसलाई नेपालले मनन गर्नु आवश्यक छ । स्वदेशी भूमि र विदेश भूमिमा खेल्दाको अन्तर नेपाली खेलाडीले कदापि भुल्नुहुँदैन । यहाँ आधा म्याच दर्शकले खेलेका थिए भने आधा मात्रै खेलाडीले । तसर्थ नेपालको अग्निपरीक्षा दोस्रो यू–१९ साफ च्याम्पियनसिपमा हुने पक्का छ । त्यसमा पनि नेपाल खरो उत्रिए नेपाली टिममाथि विश्वास गर्न सकिने छ । अन्यथा लामो समयको अन्तरालमा पाएको यो सफलता पनि कागतालीमा परिणत हुनेछ ।
थापा गद्गद् !
दुई दशकदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वागडोर सम्हालिरहेका एन्फा अध्यक्ष यतिबेला खुसीले गद्गद् भएका छन् । उनको खुट्टाले यतिबेला भुइँ टेक्न छाडेका छन् । लामो समयपश्चात् नेपाल यू–१९ साफ च्याम्पियनसिपमा च्याम्पियन बनेपछि थापाको खुसी यति साह्रो बढेको हो । एन्फाको अध्यक्ष बनेको दुई दशक भए पनि नेपाली फुटबलले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न सकेको थिएन । राष्ट्रिय फुटबल टोली अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा असफल बन्दै गर्दा युवा टोलीले पाएको यो सफलताले थापा अहिले निकै उत्साहित बनेका छन् । थापामा भविष्यमा युवा टोलीले केही गर्न सक्ने विश्वास पलाएको छ । त्यसैले युवा टोली साफ च्याम्पियन बनेपछि थापाले भनेका थिए, ‘म अहिले एकदमै खुसी छु, त्यो म शब्दमा वर्णन गर्न सक्दिनँ ।’ थापाले विजयपश्चात् यो सम्झनलायक दिन भएको भन्दै यो विजयवाट आफू निकै हर्षित भएको बताएका छन् । थापाले विस वर्षसम्म गरेको लगानीको प्रतिफल युवा टोलीले दिएको स्मरण गराउँदै भविष्यमा उक्त टोलीले योभन्दा प्रभावशाली प्रदर्शन गर्ने विश्वास प्रकट गरेका थिए । थापाले यो टोली आफैँमा उत्कृष्ट रहेको चर्चा गर्दै भविष्यमा आफ्नो उत्कृष्टताको प्रदर्शन गर्दै दक्षिण एसियाली मुलुककै सशक्त टिम भएर निस्कने दाबीसमेत गरेका थिए । थापाले यो सुरुवात मात्रै हो, चमत्कार देखाउने समय आउँदै छ भन्दै यसका लागि प्रतीक्षा गर्नसमेत अपिल गरेका थिए ।
विजयी टोलीका खेलाडीलाई जनही एक–एक लाख
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले यदि युवा टोलीले साफ च्याम्पियनसिपको उपाधि जिते जनही एक–एक लाख रुपैयाँ दिने घोषणा गरेका थिए । फाइनलको अघिल्लो दिन मन्त्री पौडेलले यस्तो घोषणा गरेका थिए । त्यसलाई आत्मसात् गर्दै युवा टोलीले फाइनलमा भारतजस्तो बलियो टोलीलाई पराजित गरेर उक्त पुरस्कार आफ्नो पक्षमा पार्न सफल भएको छ । यसअघि थापाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले उपाधि जिते विभिन्न आकर्षक पुरस्कारको घोषणा गरेका थिए । तर, त्यसलाई सफलतामा बदल्न नेपाली टोली असफल भएका थिए । नेपाली टोली असफल हुनुमा थापाले घोषणा गरेको नगद पुरस्कार पनि कारकतŒव रहेको भन्दै उनको यतिबेला निकै आलोचनासमेत भएको थियो । तर, अहिले युवा टोलीले मन्त्री पौडेलले घोषणा गरेको नगद पुरस्कारलाई दबाबको रूपमा नलिई प्रोत्साहनको रूपमा भएको प्रमाणित गरिदिएका छने् । उनीहरूले उच्च मनोबलका साथ उपाधि जितेर कुनै पनि पुरस्कार प्रोत्साहनको पाटो बन्ने प्रमाणित गरिदिएका छन् । तर, त्यो उचित समयमा हुनुपर्छ भन्ने थापालाई स्मरण गराइदिएका छन् ।
खेल समाचार : ब्याडमिन्टन टोली भारतमा
सुशान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारतको पुना पुगेको छ । सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष–महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिपेश धामी, नवीन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् । दिपेश र गौतम भारतकै बैंगलुरुको छुट्टाछुट्टै स्थानमा प्रशिक्षणमा रहेकाले दुवै त्यतैबाट प्रतियोगितामा सहभागी हुने नेपाल ब्याडमिन्टन सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराएका छन् ।
नेपाली खेलाडीले पुरुष–महिला सिंगल्स र डबल्स तथा मिक्स गरी पाँच स्पर्धामा भाग लिनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको छ । सन् २०१३ मा भएको उक्त च्याम्पियनसिपमा दिपेश प्रिक्वार्टरफाइनलमा पुग्नु नै नेपाली खेलाडीको सबैभन्दा ठूलो उपलब्धि हो । प्रशिक्षकमा मेघराज कठायत छन् भने अनुपरत्न शाक्यले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
जुडो सचिव सीडब्लूसीएनको अध्यक्ष
नेपाल जुडो सङ्घका सचिव एवम् जुडोका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ बाल वातावरण केन्द्र नेपाल (सीडब्लूसीएन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको चौधौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा रञ्जना उप्रेती (ढकाल), महासचिवमा अशोक सिवाकोटी, सचिवमा रञ्जना शर्मा तथा कोषाध्यक्ष मामिना सुनार (विक) रहेका छन् । सदस्यहरूमा पुनम परियार, शर्मिला लिम्बू, हेलिना राई र काजी शेर्पा छन् । सडकबालवालिकाको संरक्षणमा कार्यरत केन्द्रमा ७२ जुडो खेलाडी छन् । उनीहरूलाई धर्मसहित जुडो राष्ट्रिय खेलाडी रमेश मगरले प्रशिक्षण दिइरहेका छन् ।
कोषाध्यक्ष हमालको स्वागत
नेपाल भारोत्तोलन सङ्घले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको हालै स्वागत गरेको छ । पूर्वभारोत्तोलन खेलाडी एवम् ओलम्पियन हमाललाई भारोत्तोलन सङ्घका महासचिव पार्थसारथी सेन गुप्त, उपाध्यक्ष एवम् ओलम्पियन सुनीललाल जोशी, सचिव तिलकबहादुर राउतलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकहरूले त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित एक कार्यक्रमबीच स्वागत गर्दै हमालको कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएका थिए । सो अवसरमा हमालले भारोत्तोलन खेल आफ्नो मुटु र अन्य खेल शरीरको विभन्न अङ्ग भएको बताउँदै भारोत्तोलन खेलकै कारण आफू यो पदमा पुग्न सफल भएको बताए । उनले भारोत्तोलन मात्र नभई अन्य खेल र खेलाडीको विकासका लागि संस्थागत रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदका महŒवपूर्ण पद खेलाडीले पाउनुपर्ने धारणा राखेका थिए ।
नेपाल टिम च्याम्पियन
नेपालले छैटौँ दक्षिण एसियाली बादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, तीन रजत र एक कास्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल नौ स्वर्ण, ६ रजत र दुई कास्यका साथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा नीरज गौतम, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज लामा, ६५–७० केजीमा लक्ष्मण तामाङले स्वर्ण जितेका थिए ।
महिलाको ४०–४५ केजीमा याङडोल्मा शेर्पा, ४५–५० केजीमा अन्जु लामिछाने तथा ५०–५५ केजीमा रोएकता सिंहले नेपाललाई स्वर्ण दिलाएका थिए । त्यस्तै पुरुष टिम कातामा नीरज गौतम, मनोज लामा र पुरुषोत्तम पोखरेलले नेपालका लागि स्वर्ण जितेका थिए । महिला एकल कातामा रोएकता सिंह र याङडोल्मा शेर्पाले पहिलो स्थान हात पारेका थिए । पुरुष खुलातर्फ सुदीप थारूले रजत र ४५–५० केजीमा पुरुषोत्तम पोखरेलले कास्य हात पारे । पुरुष एकल कातामा लक्ष्मण तामाङ र मोहन तामाङले रजत हासिल गरेका थिए ।
भारतको गुजरातमा अगष्ट २२ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको नेपाल कराते महासङ्घका महासचिव, बादोरियो करातेका प्रमुख प्रशिक्षक एवम् दक्षिण एसियाली बादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले उद्घाटन गरेका थिए ।
तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने
प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप २१ नोभेम्बरमा काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)को कार्यसमितिले सो निर्णय गरेको हो । सो राष्ट्रिय च्याम्पियनसिपबाट अमेरिकाको पोर्टल्यान्डमा हुने ११औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुने खेलाडी छनोट गरिने आईओएफटीसीका महासचिव कारेन ब्ल्याकलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ११औँ आईओएफटीसी सन् २०१६ को १४ र १५ अक्टोबरमा हुनेछ ।
त्यसैगरी राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि आईओएफटीसीको कार्यसमितिले आयोजक कमिटी गठन गरेको छ । हेड बोर्ड डाइरेक्टरमा महासचिव करेन ब्लायकलेज, आईओएफटीसीका प्रतियोगिताका डाइरेक्टर दिवाकर महर्जन, सगरमाथा डोजाङका चिफ मास्टर राष्ट्र राई रहेका छन् । विशेष सल्लाहकारमा युर्निभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसनका महासचिव लव गोर्खाली छन् ।
त्यसैगरी मैत्री डोजाङका अष्टबहादुर महर्जनको संयोजकत्वमा १७ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । कमिटीको सहसंयोजकमा यूयूएनटीएफ नेपालका नोर्बु लामा छन् । सचिवमा सगरमाथा डोजाङका अर्जुनभक्त राई छन् । सहसचिवमा मैत्री डोजाङका शरण महर्जन छन् । कोषाध्यक्षमा मैत्री डोजाङका रामचन्द्र व्यञ्जनकार छन् । सहकोषाध्यक्षमा यूयूएनटीएफ नेपालका दिनेश श्रेष्ठ छन् । आयोजक कमिटीको सदस्यहरूमा फणीन्द्र खड्का, रवीन्द्र जोशी, हरिहर पाण्डे, सगरमाथा डोजाङका मदन राई, दीपक धिमाल, मैत्री योगाका रुक्मणी महर्जन, सुजेन्द्र थापा, निरोज श्रेष्ठलगायतका रहेका छन् । सल्लाहकारमा केदार महर्जन, राम अवाले, गोपाल महर्जन, ईश्वरमान बज्राचार्य, उज्ज्वलकृष्ण श्रेष्ठ, कृष्ण सिंह र सुनिल श्रेष्ठ छन् ।
एघार खेलाडीलाई ब्ल्याकबेल्ट
नेपाल सितोरियो कराते डो सङ्घ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११ सिनियर खेलाडीले ब्ल्याकबेल्ट प्राप्त गरेका छन् । ब्राउनबेल्टबाट ब्लयकबेल्ट पहिलो डानमा पदोन्नति हुने खेलाडीमा सुजन लिम्बू, सागर रुम्बा, संविधान पौडेल, राज तामाङ, सुशीला तामाङ, बिना तामाङ, विमल तामाङ, सञ्जय वाइबा, सुनील राई, फिन्चोक दोर्जे लामा र प्रकाश श्रेष्ठ रहेका छन् । जुनियरतर्फ तीन खेलाडीले ब्राउन तथा ६ खेलाडीले ग्रिनबेल्ट प्राप्त गरे । ब्राउनबेल्ट प्राप्त गर्नेमा दीक्षा लामा, किरण तामाङ र कविता राई रहेका छन् । ग्रिनबेल्टमा पदोन्नति हुनेमा आरती श्रेष्ठ, छोसन गुरुङ, रेणुका गुरुङ, मनोज तामाङ, प्रजिता श्रेष्ठ र मिसोन गुरुङ छन् । उनीहरूलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले बुढानीलकण्ठस्थित डोजोमै आयोजित एक कार्यक्रमबीच बेल्ट वितरण गरेका थिए । ग्रेडिङ डोजोका प्रमुख प्रशिक्षक प्रेमलाल बम्जन र सहायक प्रशिक्षक दीपेन्द्र खड्कालगायतले सञ्चालन गरेका थिए । ग्रेडिङमा ११ सिनियर र नौ जुनियर गरी जम्मा २० खेलाडीको सहभागिता रहेको डोजोका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले जनाएका छन् ।
भारोत्तोलन टोलीको बिदाइ
नेपाल थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने भएको छ । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषको ४५ केजीमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा तारादेवी पुनले ७५ केजीमाथि खेल्नेछिन् । महिलाको यो २६औँ संस्करण हो ।
सिनियरस्तरको एसियाली च्याम्पियनसिपमा नेपालले एक मात्र पदक जितेको छ । ३२ वर्षअघि १९८३ मा सिरियाको दमास्कसमा भएको १५औँ संस्करणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वर्तमान कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले कास्य जितेका थिए । प्रशिक्षकमा ओलम्पियन एवम् भारोत्तोलनका मुख्य प्रशिक्षक सुनीललाल जोशी र जगदीश प्रधान रहेका छन् । उक्त च्याम्पियनसिप नेपालमै जुलाई २२ देखि ३० तारिखसम्म हुने निश्चित भएको थियो । गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालले आयोजनाको ऐतिहासिक अवसर गुमाउनुपरेको थियो । नेपालमा भारोत्तोलनको सिनियरस्तरको एसियाली च्याम्पिनसिप हालसम्म भएको छैन ।
ललितपुर खेविसको अध्यक्षमा हेराकाजी
राष्ट्रिय खेलकुद परिषद्ले ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा हेराकाजी महर्जन मनोनीत गरेको छ । त्यस्तै कोषाध्यमा श्याम शर्मा बजगाईं तथा राजमान महर्जन, अशोकलाल लामा, अमृता पाण्डे र सानुकाजी महर्जन सदस्यमा मनोनीत भएका छन । अध्यक्ष हेराकाजी श्रेष्ठ नेपाल बुद्धिचाल सङ्घका सचिव तथा फिडे आर्बिटर पनि हुन् । बुद्धिचाल खेलको विकास र विस्तारका लागि अहम् भूमिका निभाउँदै आएका श्रेष्ठले अध्यक्षमा मनोनीत भएपछि समग्र खेलकुदको विकास र विस्तारका लागि अहम् भूमिका निभाउने प्रतिबद्धता जाहेर गरेका छन् । लामो समय वामपन्थी राजनीतिमा बिताएका महर्जनले दुई कार्यकाल ललितपुर युवा सङ्घको नेतृत्व गरिसकेका छन् ।