तेस्रो नजर

तेस्रो नजर


pathakmanchप्रधानमन्त्रीलाई जनताको खुला पत्र
जनता हेर्ने कि अवसरवादीलाई स्थान दिने ?– राजेन्द्रप्रसाद पाठक
नेका सभापति एवम् प्रधानमन्त्री सुशील’दा !
महोदयको उच्च राजनीतिक खेलमैदानमा उदय हुनुभन्दा पहिला यसको मतलब देशको प्रधानमन्त्रीजस्तो उच्च पद सम्हाल्नुभन्दा अगाडि तपार्इंको भूमिका स्वर्गीय गिरिजाबाबुको सल्लाहकार तथा पर्दापछाडिबाट उच्च राजनीतिक व्यक्तित्वलाई सुझाव दिई सुधार गर्ने जस्तो होला भन्ने जनताले महसुस नगरेका होइनन् । ग्रिसको नगर राज्य अथेन्स सहरमा युवाहरूलाई गुरुकुल पद्धतीजस्तो ढङ्गमा शिक्षा प्रेरणा र उत्साह प्रदान गर्ने महान् बौद्धिक व्यक्तित्व भएका दार्शनिक सुकरात (सोक्रेटस)को जस्तो दाह्रीभित्र गाडिएका आँखा, प्रायजसो खुसी र हाँसोविहीन गम्भीर अनुहार देख्दा शालीन र भद्र व्यक्तित्व, ऋषिमुनीहरूको जस्तो ब्रह्मचारी शैली, व्यक्तिगत परिवार र सम्पत्तिलाई महŒव नदिएकोजस्तो लाग्ने व्यवहार भएका व्यक्ति सत्तामा आउँदै छन् भन्दा धेरैको मनमा आशा जागेको थियो, जो अस्वाभाविक पनि थिएन । व्यक्तिगत मुनाफामा तल्लीन शासकहरूको कार्यबाट आजित आमनेपाली बल्ल देशले त्राण पाउला र केही सुधारको उज्यालो देख्न पाइएला भन्ने सोचमा पर्निु पनि अस्वाभाविक थिएन । तपाईं प्रधानमन्त्री हुनुअगावै पार्टी सभापति बन्नु र संसदीय दलको नेता बन्नुमा पनि मतदाताको थोरैतिनो सदासयता नभएको होइन । साँच्चै ! तपाईं प्रधानमन्त्री बन्नुभयो । तर, तपाईं स्वयम्ले घोषणा गर्नुभएको भ्रष्टाचारविरोधी अभिव्यक्ति जसमा शून्य सहनशीलता अपनाउने घोषणा, युवालाई दिने रोजगारीलगायत हरेक क्षेत्रमा अग्रसर तुल्याउने अवधारणा, नातावादलाई अन्त्य गर्ने हवाला, योग्यता र क्षमतालाई कदर गर्ने बोली आज किन शून्यतातिर विलीन हुँदै छ ? परिवारवादलाई प्राथमिकता प्रदान गर्ने जंगबहादुरकालीन निरन्तरता तपाईंको कार्यकालमा पनि किन भइरहेको छ ? आजजनताको बुद्धि र बाहुबलबाट लोकतन्त्र स्थापना भइसक्दा पनि पद्धतिमा किन सुधार आउन सकेन ?
नेपाली काङ्ग्रेस पार्टीका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रणेता स्वर्गीय महामानव बीपीबाबु सधँैजसो क्रियाशील, सक्षम, बौद्धक, युवा तथा प्रौढहरूको घेरामा आफूलाई राख्न चाहन्थे । पार्टी सबै वर्ग, तह र तप्काको साझा चौतारी बनोस् भन्ने उनको चाहना थियो । परिवार र नातेदारभन्दा जनतालाई बढी विश्वास गर्ने उनको स्वभावकै कारण आज भए–गरेका समग्र दलविशेषको अगुवाहरूको प्रेरणाको स्रोतसमेत उनै बीपीबाबु बन्न सकेका छन् । लोकतन्त्र भनेको परिवारवाद होइन बरु यो नै वास्तविक जनवाद हो भन्ने विश्वास उनमा भएकै कारण भौतिक शरीर नरहेको यत्तिका वर्षपछि पनि राजनीतिक आकाशको नक्षत्र बन्न सफल भएका छन् ।
सुशीलदा’ ! समयले तपाईंलाई पनि यस्तै ऐतिहासिक संस्थाको प्रमुख तुल्याएको हो । लाखौँ–करोडौँको योगदानबाट सिर्जना भएको हो नेपाली काङ्ग्रेस पार्टी । बूढो हुँदैमा अनुभवी, पढ्दैमा विद्वान्, नपढ्दैमा मूर्ख र विवाह नगर्दैमा योगी–सन्यासी भइँदैन भन्ने कुरालाई शाश्वत सावित गर्ने जिम्मा जनताले तपार्इंलाई सुम्पेका हुन् । जीवनभर निष्कलङ्कित भएर उत्तराद्र्धमा कठोर कलङ्कको भार उचाल्ने मलामी बनाउँदै छन् तपाईंका टिमका ‘आयातीत’ उच्चपदस्थ सल्लाहकार । सावधान ! त्यस्ताहरूदेखि बेलैमा जोगिनुहोला र त्यस्ता सदस्यहरूमाथि गहिरो निगरानी राख्दै कारबाही गर्नसमेत पछि पर्नुहुने छैन भन्ने जनताले आशा र विश्वास गरेका छन् । स्वार्थी समूहहरूको सल्लाहमा भारत, चीन, अमेरिकाजस्ता विश्वका शक्तिशाली तथा नेपालका अनन्य मित्रराष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई बेवास्ता गरिनु त्यति सान्दर्भिक नहोला । अब त तपाईंले वास्तविक मित्र र शत्रु चिन्न सक्ने खुवीको समेत विकास गरिसक्नुभएको हुनुपर्ने हो । योग्यता, कर्तव्यनिष्ट क्षमतावानलाई भन्दा स्वार्थ र बुढ्यौलीले घेरिसकेका र ‘भक्तियोग’मा तल्लीन हुनेहरूप्रति तपाईंको विश्वास बढ्नुले निकट भविष्यको सङ्कटलाई सामना गर्नुपर्ने भएको छ ।
सुविधामा त साथ सबैले दिन्छन्, तर सङ्कटमा साथ दिने मात्र सच्चा मित्र हुन् । जसरी देशलाई परेको दैवीप्रकोपमा सबैभन्दा अगाडि छिमेकी देश भारतले सहयोगी हात बढायो, तर त्यसको प्रशंसा हुनुको साटो बेवास्ताले स्थान पाएकोजस्तो मित्रराष्ट्रहरूले महसुस गरेका सुनियो । तपईंकै कार्यकालमा यस्ता किन ? गान्धीवादी चरित्र देखाउने तपाईंजस्ताले पदीयभन्दा पदविहीन राजनीति गर्दा अझ वेश हुने थियो । सत्तालोलुप स्वार्थी सल्लाहकारहरूले तपाईंलाई कति दिनसम्म साथ दिइरहनेछन् त्यो त हेर्न बाँकी नै छ । अवसरवादीहरूले तपाईंजस्तो सात्विकको सातो हावामा उडाइदिने छन् । लोकतन्त्रपछिका जनलहरले तपाईंप्रति केही हदसम्म भरोसा राखेका थिए होला । कमसेकम त्यसलाई त जीवित राख्ने कोसिस गर्नुहोस् । हिन्दूहरूको श्री स्वस्थानी शास्त्रको मुख्य पात्र भगवान् शङ्करले जसरी आफ्नो प्रिय जीवनसङ्गिनीको मृत शीररलाई बोकेर अर्घचेत अवस्थामा पृथ्वी भ्रमण गर्दा जुन–जुन स्थानमा अङ्ग पतन भएर झ-यो सोही–सोही स्थानमा शक्तिपीठ भएजस्तो अब सम्भव नहोला । तपाईंका ती जनआलोचित र मृतप्रायः सावित भएका कथित प्रियपात्रहरूलाई कति दिनसम्म बोकेर हिँड्न सम्भव होला दादा !
अब त तपाईं पनि रोगी र वृद्ध भइसक्नुभएको छ । कति दिनसम्म भ्रष्ट र अनियमितता गर्नेहरूलाई एकोहोरो साथ–सहयोग दिएर स्वयम् आफ्नो वचनको खिल्ली उडाउनुहुन्छ ? यस्तो व्यवहारले तपार्इं मात्र होइन सम्पूर्ण नेपाली जनता, मित्रराष्ट्र जो आज दाता भएर हामीसामु हाम्रा क्रियाकलाप नियालिरहेका छन् उनीहरूसमेत समग्र पार्टी र नेतृत्वप्रति रुष्ट भएका छन् । स्मरण रहोस्, आफूलाई आधा विश्वको चक्रवर्ती सम्राट घोषणा गर्न सक्षम नेपोलियनसमेत जेलको हावा खाँदै उत्तराद्र्धमा अपमानित हुनुपरेको थियो । तपाईंको आजसम्मको राजनीतिक त्याग र बलिदानले जसरी राजकुमार देवव्रतले सम्राट हुने अवसरलाई तृणबराबर सम्झेर हस्तिनापुर राज्यको संरक्षणका खातिर राजा नहुने तर राजाको संरक्षण गर्ने भीष्मप्रतिज्ञा गरेका कारण भीष्म पितामह कहलाएका थिए । हो, त्यस्तो अवसरलाई त्याग गर्दा तपाईंलाई सोही महाभारतका कनिष्ठ पात्र शिखण्डीमा परिणत गराइँदै छ । होसियार रहनुहोस् । तपाईंमातहतको मन्त्रिपरिषद्को निर्णय वास्तविक जनमुखी नभएर व्यापारी र आयातमुखी बन्दै छ । विनासकारी भूकम्पले हल्लाएको दिनतिर फर्कौं । त्रिपालमा शतप्रतिशत भन्सार छुट दिएर व्यापारीको गोदाम भरियो । तर, जनताले घामपानी छल्ने साधन पैसा तिरेर पनि पाएनन् । पाएका पनि गुणस्तरहीन वस्तुलाई अत्यन्त महँगो तिर्नुपर्ने अवस्था आयो । त्यतिबेला मन्त्रिपरिषद्को निर्णयले जस्तापाता आयात महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको पनि आखिर व्यापारीकै लागि मात्र हो । किसानलाई दिइएको दुई वर्षको मालपोत छुट भनेको पनि भूमिपति मोटाउने नै हुन् । वास्तविक किसानको अधीनमा २० प्रतिशत मात्र हो । त्यसको वास्तविक हिसाब गर्ने हो भने प्रतिघर २० रुपैयाँदेखि ५० रुपैयाँसम्मको सहुलियत हिसाब देखिन आउँछ । यो वास्तवमा राज्यको राहत होइन होच्याउने र निरीह जनताको खिल्ली उडाउने शैली मात्र हुनेछ ।
माग्ने र सहयोग जुटाउने बाहनामा विभिन्न सङ्घ–संस्थाले अझै पनि विभिन्न प्रोपोगाण्डा देखाइरहेका छन् । त्यो त बखतअनुसारको बलिदानी ठहर्ला । यसको अलावा त्रिपाल र राहत सामग्री आयात गर्दा भएको घोटालाको विरुद्ध तपाईंको निर्णय जनताले हेर्न र मूल्याङ्कन गर्न बाँकी नै छ । भूकम्पले आहत जनताको घर निर्माणका लागि दिइएको सरकारको सहुलियत ब्याजदरको ऋणको हवालासमेत अत्यन्तै झन्झटिलो, सम्पन्न, टाठाबाठा, धन्दा–व्यापार भएका, किर्ते काम गर्न सक्ने र कामका लागि सहयोगी आवश्यक नपर्ने वर्गका लागि जस्तो मात्र देखिन्छ । यत्तिका झन्झट ऋणीमा थोपरेपछि ऊ ऋण लिएर घरबार बनाउनेतिर होइन, आसाम र नागाल्यान्डको कोइला काट्ने मजदुर बनोस् भन्ने भावनाले प्रेरित गरेजस्तो देखिन्छ । यदि पीडितलाई सहुलियत ऋण दिएर घरबास बसाउन सक्ने तुल्याउने हो भने बैंकरहरूलाई घरघर पहिचान गरेर बिनाझन्झट बिनाहिचकिचाहट ऋण दिन सक्ने संयन्त्रको निर्माण गर्न सक्नुपर्दथ्यो । बेलायत, अमेरिका र युरोपमा तीन महिना बसेको प्रमाणसमेत नखोजीकन ठेगाना र सामान्य कानुनी बसाइलाई हेरेर गच्छेअनुसारको बिनाधितो ऋण प्रदान गर्ने गर्छन् त्यहाँका बैंकरहरूले । यसो गरेर त्यहाँका बैंकरहरूले के आफ्नो ऋण रकम डुबाएका होलान् त ? त्यस्तो होइन । ऋणको इन्सुरेन्स दाताले ऋणीलाई गर्न बाध्य बनाउँछ र ऋण प्रदान गर्छ । यदि ऋणीबाट ऋण असुली नभए इन्सुरेन्सले बैंकरको ऋण भार व्यहोर्ने गर्दछ । के त्यस्तो ऋण लगानीको वातावरण हाम्रो देशमा लागू गर्न सकिँदैन ? यदि धितो धरौटीकै भरमा मात्र ऋण दिने हो भने यस्तो विपत्तिमा भूमिहीन र गरिबको सम्बोधन कसले गर्दछ ? आजका अहम् प्रश्न यी यस्तै–यस्तै छन् प्रधानमन्त्रीज्यू । त्यसैले ब्रेडले मात्र होइन ब्रेनले काम गर्न सक्दा अधिकांशलाई एकै साथ सम्बोधन गर्न सकिन्छ । यो समस्या मात्र होइन, चुनौती मात्र पनि होइन, यो एउटा दैवले जुटाएको महान् अवसर पनि हो । काम गर्ने अवसर सबैले प्राप्त गर्दैनन् । अर्धचेत भएर अवसरवादीलाई स्थान दिने होइन सचेत भएर सम्पूर्ण जनतालाई सम्बोधन गर्न सक्नु आजको आवश्यकता हो ।