एपीएफका दिपेश धामी र सेनाकी रसिला महर्जनले १५औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् । पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१२, १८–२१, २१–१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दिपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रित युगलतर्फ गरी तीन उपाधि हात पारे । गत संस्करणका विजेता रत्नजित तामाङ प्रशिक्षणका क्रममा जापानमा रहेका कारण प्रतियोगितामा उपस्थित थिएनन् ।
महिला एकलतर्फ अघिल्लो संस्करणकी उपविजेता सेनकी रसिला महर्जनले उपाधि उचालिन् । महर्जनले नगद ५० हजारसहित ट्रफी प्राप्त गरिन् । उनले आयोजक एपीएफकी जेसिका गुरुङलाई २१–१४, १३–२१, २१– १८ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । महर्जन छात्रा यू– १७ को पनि विजेता हुन् । गत वर्षकी विजेता सेनाकी नङसलदेवी तामाङले कार्य व्यस्तताका कारण प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् ।
यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपीएफका दिपेश धामी र विजित थापामगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१–१६, २१–४ को सहज जित निकाले । महिला युगलतर्फ एपिएफकी पूजा श्रेष्ठले आफ्नो साख जोगाइन् । उनले जेसिका गुरुङसँग मिलेर महिला एकलकी विजेता सेनाकी रसिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाइन् । श्रेष्ठ र गुरुङको जोडीले महर्जन र राईको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गरे । गर्त वर्ष जित हात पार्दा पूजाको जोडीमा शिक्षा श्रेष्ठ थिइन् ।
विजयी खेलाडीले ट्रफी मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीलाई प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक राम शरण पौडेल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।
कुल ७ लाख १० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा पुरुष एकल र युगलका शीर्ष दुईले नगद ६० र ३० हजार तथा तेस्रो स्थानका दुईले नगद २५ हजार (१२ हजार ५ सय गुणा २) प्राप्त गरे । यस्तै पुरुष एकलतर्फ क्वाटरफाइनल पुग्ने ४ खेलाडीले प्रत्येकले नगद ५ हजार प्राप्त गरे ।
महिला एकलतर्फ शीर्ष दुईले नगद ५० हजार र २५ हजार तथा तेस्रो हुनेले नगद १२ हजार ५ सय प्राप्त गरे । महिला युगलतर्फ प्रथम हुने जोडीले नगद ४० हजार, दोस्रो जोडीले नगद २५ हजार र तेस्रो जोडीले नगद १० हजार प्राप्त गरे ।
प्रतिक्रिया