कहाँ बिलाए सहसचिव घिमिरे ?
नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज)का अध्ययन निर्देशक सहसचिव तीर्थराज घिमिरे विगत सात दिनदेखि सम्पर्कविहीन भएको भन्दै उनका परिजनले खोजी गरिदिन आग्रह गरेका छन् । गत १७ गते बिहीबार बिहान ललितपुरको बुङमती चुनिखेलस्थित निवासबाट आफ्नी पत्नीसँगै गाडीमा जाउलाखेलस्थित स्टाफ कलेज पुगेका घिमिरे त्यसलगत्तै बेपत्ता भएका घिमिरे परिवारले जनाएको छ । स्टाफ कलेजको गेटमा साढे ९ बजे गाडीबाट उत्रिएर झरेका घिमिरे त्यसपछि सम्पर्कविहीन भएका हुन् ।
घिमिरेपत्नी राधाका अनुसार १७ गते बिहान घिमिरे आफैँ गाडी चलाएर घरबाट कार्यालय हिँडेका थिए । आफैँ गाडी चलाएर निस्किएका उनले भैँसेपाटी चोकदेखि कार्यालयका चालकलाई गाडी चलाउन लगाएका थिए । त्यसपछि गाडी पाटनस्थित एक सरकारी स्कुलमा शिक्षिका रहेकी श्रीमती राधालाई छोड्न पाटन गएको थियो । बेलुका घर फर्किने समयमा चालकले सोधी–खोजी गर्दा मोबाइलको स्विच अफ भएपछि मात्र घिमिरे सम्पर्कविहीन भएको खुलासा भएको थियो । घरमा कुनै असमझदारी नभए पनि केही दिनदेखि कार्यालयको कामको विषयमा भने घिमिरेले गुनासोयुक्त कुरा गर्ने गरेका थिए । कार्यालयले लेखाको पनि जिम्मेवारी दिने तयारी गरेपछि उनले त्यो काम नगर्ने पत्नीसँग बताएकोे उनको पारिवारिक सूत्र बताउँछ । उनी किन लेखाको जिम्मेवारी लिन अनिच्छुक थिए भन्ने सवाल रहस्यमै रहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य सङ्कायमा स्नातकोत्तर (एमबीएस) तथा पूर्वाञ्चल विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तर (एमडेभ) गरेका घिमिरे यसअघि नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्यापन गर्थे । स्थायी घर चितवनको पटियानी–८ रहेका घिमिरे खुला प्रतिस्पर्धाबाट स्टाफ कलेजको सहसचिवसरहको अध्ययन निर्देशक उत्तीर्ण गरेर गएको चैतदेखि त्यहाँ कार्यरत थिए । १२ र १० वर्षका दुई छोराका पिता घिमिरेको खोजी गरिदिन उनको परिवारले प्रहरी, अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रह गर्दै कतै देखिए ९८५१०४८७२९, ९८५११६१३३४ नम्बरमा सम्पर्क गर्न वा प्रहरीलाई खबर गरिदिन अनुरोध गरेको छ ।
– मोहित अधिकारी
समाचार भ्रामक हो
प्रस्तुत विषय, तहाँ प्रा.लि.बाट प्रकाशित घटना र विचार राष्ट्रिय साप्ताहिक, वर्ष २१, अङ्क ११ मिति २०७२ भदौ १६ गते बुधबार पहिलो र क्रमशः तेस्रो पृष्ठमा समेत प्रकाशित ‘विमानस्थल बन्यो भ्रष्टाचारको केन्द्रस्थल’ शीर्षकअन्तर्गत प्रकाशित लेख–समाचारमा उल्लिखित विषयमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानकर्षण भएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा कपोलकल्पित रूपमा संस्थागत एवम् व्यक्तिगत लाञ्छाना लगाई भ्रामक लेख–समाचार प्रकाशित भएको पाइयो । सत्य, तथ्य र यथार्थ नबुझी कपोकल्पित भ्रामक लेख/समाचार प्रकाशित नगर्न र यस खण्डनलाई समाचारको रूपमा आगामी अङ्कमा प्रकाशित गरिदिनुहुन अनुरोध छ ।
– वीरेन्द्रप्रसाद श्रेष्ठ, कामु महाप्रबन्धक
(समाचारमा उल्लिखित तथ्यपरक विवरणको तथ्यपरक ढङ्गले खण्डन हुनुपर्नेमा नकारात्मक शब्दहरूको तरेली खडा गरिनु हास्यास्पद र आश्चर्यजनक छ । प्रकाशित समाचार कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यबाट पे्ररित नभएको स्पष्ट गरिन्छ । बरु हामी महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठज्यूलाई समाचारमा उल्लिखित विवरणबारे छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हामी हार्दिक अनुरोध गर्दछौँ । सम्पादक)
प्रतिक्रिया