पाठक मञ्च

पाठक मञ्च


pathakmanchपिपल्स डेन्टलका विद्यार्थीको सुनुवाइ होस्
पिपल्स डेन्टल कलेजको पठनपाठन कार्य खल्बलिएको हुँदा विगत एक –डेढ महिनादेखि विद्यार्थीले पढ्न पाएका छैनन् । आन्तरिक परीक्षा शुल्कको रूपमा लिने रकम लिन नपाइने, अन्य शुल्क त्रिभुवन विश्वविद्यालयले तोकेबमोजिम लिनुपर्ने, परीक्षा अनुत्तीर्ण भएबापत लिने रकम लिन नपाइने, विद्यार्थीको प्रयोगात्मक सामग्री कलेजले उपलब्ध गराउनुपर्ने, पुस्तकालय, शुद्ध खानेपानी, चमेनागृह कलेजभित्र सञ्चालन गर्नुपर्नेलगायत १२ बुँदे माग विद्यार्थीले राखेपछि कलेज व्यवस्थापनले पठनपाठन बन्द गरेको हो । यी माग अत्यन्त सामयिक र जायज हुँदाहुँदै पनि पूरा गर्नेतिर नलागी कलेज प्रशासनले ज्यादती प्रदर्शन गरेको छ । करिब पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको कलेजमा आफ्नो जायज मागका लागि डिनको कार्यालय पुग्दा सुनुवाइ नभएको र उल्टै अभद्र व्यवहार गरेकाले विद्यार्थी आन्दोलनमा उत्रनुपरेको हो । जायज मागका लागि विगत धेरै दिनदेखि डिनको कार्यालय धाए पनि मागको सुनुवाइ भएको छैन । परीक्षा नजिकिँदै गरेकाले सम्बद्ध विद्यार्थीको भविष्य अन्योलमा परेको छ । तसर्थ, तुरुन्त कक्षा सञ्चालन गराउन पहल गरियोस् ।
– विनय पञ्जियार (अध्यक्ष, दन्त विद्यार्थी सङ्घ)

‘हिंसात्मक आन्दोलन र सरकारी दमन दुवै त्याज्य’
तराई–मधेसमा जारी आन्दोलनका क्रममा ०७२ भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरीका घाइते असइ थमनबहादुर विकलाई उपचारार्थ एम्बुलेन्समा लैजाँदै गर्दा आन्दोलनकारीद्वारा कब्जामा लिई निर्मम हत्या भएको घटनाको मानवअधिकार तथा शान्ति समाज निन्दा गर्दछ । सशस्त्र सङ्घर्षका दौरानमा समेत प्रतिबन्धित यस्ता घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ । हिंस्रक र अराजक आन्दोलन अन्ततः जनताको अधिकारलाई नै कुण्ठित गर्ने कार्यमा हतियार बन्न सक्ने हुँदा आन्दोलनरत पक्ष जिम्मेवार बनोस् । साथै, सुरक्षाकर्मीले पनि अनावश्यक उत्तेजनामा आएर अन्धाधुन्ध गोली प्रहार गरेको देखिन्छ, जुन निन्दनीय छ । सरकार र प्रमुख राजनीतिक दलहरूले दोहोरो मापदण्ड अवलम्बन गर्नुभन्दा संवाद र सहमतिबाटै समाधान खोज्नुपर्छ । एकातिर आन्दोलन हिंसात्मक हुँदै जाँदा र अर्कोतिर दमन बढ्दै जाँदा अन्ततोगत्वा त्यसले मानवअधिकार, लोकतन्त्र, शान्ति र अहिंसाका मूल्यहरूलाई नै खण्डित गर्छ ।
– गङ्गाधर अधिकारी (सभापति मानवअधिकार तथा शान्ति समाज)