केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ

केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ


शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौतापत्र आदान–प्रदान भएको छ ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिँदा संस्था गौरवान्वित भएको धारणा व्यक्त गरे । मुक्तिनाथ विकास बैंकले प्रथम पुरस्कार राशि नगद २ लाख उपाधि विजेता टिमलाई हस्तान्तरण गर्ने तथा आवश्यक होेर्डिङबोर्ड, तुल–ब्यानरकोे व्यवस्थापनसमेत मिलाउने सम्झौतामा उल्लेख छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले नेपाली खेलकुदको विकासमा कर्पोरेट सेक्टर महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगितामा नेपालका चर्चित ६ टिमको सहभागिता रहनेछ । लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका लागि साबिक विजेता एपीएफ, उपविजेता होङगाजी न्यु डायमण्ड, पुलिस, पश्चिमाञ्चल, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षणको टिमले सहभागिता जनाउनेछन् ।

जाउलाखखेल भलिबल प्रशिक्षण केन्द्र्रमा वैशाख १४ देखि १७ सम्म सञ्चालन हुन प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन् । दरबारमार्गस्थित द रिगल इंकले उपाधि विजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५–१५ हजार प्राप्त गर्नेछन् । विद्यागततर्फ बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लक, बेस्ट डिफेन्स, बेस्ट क्विकर, बेस्ट सर्भर र बेस्ट कोचले जनही ७ हजार नगद प्राप्त गर्नेछन् । पाँचौँ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछन् ।