एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको आयोजनामा प्रथम राष्ट्रिय एन्जल्स हर्ट अन्तरविद्यालय, कलेजस्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि हुने भएको छ ।
ढोरपाटन क्लबको व्यवस्थापनमा प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म हुने आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले चैत २५ गते सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा देशैभरबाट करिब ८० टोलीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा नौ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले तथा गत वर्ष १२ कक्षा पास भएका खेलाडीले मात्रै खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र विभागीय टोलीले खेल्न पाउने छैनन् ।
एन्जल्स हर्ट एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले नयाँ प्रतिभा जन्माउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए । एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले नयाँ तरिकाले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुलस्तरमा बजेटको हिसाबले यो सबैभन्दा ठूलो प्रतियोगिता रहेको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए ।
प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।
अनुमानित लागत १८ लाख रुपैयाँ रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको खेलहरू एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको खेलमैदान र ढोरपाटन क्लबको खेलमैदान नयाँ बसपार्कमा हुनेछ ।
प्रतिक्रिया