तारागाउँको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझाव

तारागाउँको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझाव


नेकपाका नेता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रणको महाभियान शुरु गर्न सरकारसँग आग्रह गरेका छन् । एक साक्षात्कारमा सरकारी सम्पत्ति व्यक्तिका नाममा सार्ने तथा अनियमितता गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उहाँले यस्तो प्रवृत्ति समयमै रोक्न नसकिएमा मुलुक गम्भीर अवस्थामा पुग्ने बताए ।

सङ्घीय संसद्, अन्तरराष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबीनका क्रममा आफूलाई ठूलो दवाव आए पनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारे । ‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौँ । हामीले सरकार र अदुअआलाई सहयोग पुग्ने गरी नै प्रतिवेदन ल्याएका छौँ’ नेता सापकोटाले भने, ‘यो प्रकरणको उजागरसँगै मुलकमा बहुआयामिक भ्रष्टाचारको रहस्योद्घाटन भएको छ, एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन् ।’

उनले आफ्नो संयोजकत्वमा सरकारी सम्पत्ति हिनामिनाको छानबीन गर्दा १४ बैठक बसेको तथा अनौपचारिक रुपमा सम्बन्धित व्यक्ति तथा संस्था एवं अदुअआका पूर्वपदाधिकारीसँग छलफल तथा अन्तरक्रिया गरिएको बताए । सापकोटाले सरकारको जग्गा गैरकानूनी रुपमा व्यक्तिले हड्पेकामा त्यस्ता जग्गा सरकारले स्वामित्वमा लिनुपर्ने बताए ।

प्रधानमन्त्री निवासको जग्गा हयात होटललाई दिने गरी रामहरि जोशी पर्यटनमन्त्री हुँदा ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लगेर निर्णय गरिएको र मालपोत कार्यालयले होटलका नाममा लालपुर्जा दिएको पाइएको उनले बताए । आफूले अनुसन्धानका क्रममा होटलको सम्पत्ति बढ्दै गएको र सरकारी शेयर सम्पत्ति घट्दै गएको पाएको सापकोटाले बताए ।

उनले तारागाउँ होटेलका विषयमा सत्यको अन्वेषण गरिएको बताउँदै भ्रष्टाचार नियन्त्रण गरेर राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्नेमा जोड दिए । तत्कालीन तारागाउँ विकास समितिका नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझावसहितको प्रतिवेदन आफूहरुले बुझाइसकेकाले अब सरकारले सोहीअनुसार काम गर्नुपर्ने सुझाव उनले दिए ।

उनले लिज सम्झौता पनि गैरकानूनी ढङ्गले गरेको पाएपछि त्यो रद्द गर्न आफूहरुले निर्देशन दिइसकेको स्पष्ट पारे । नेकपा तल्लोस्तरको एकता विलम्ब भएको स्वीकार गर्दै आगामी वैशाख ९ गते लेनिन दिवसका दिन एकता टुङ्गो लाग्ने उनले बताए । भूकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू शुरुदेखि नै लागिपरेको बताउँदै उनले ४६ महीना बन्द भएको नाका सञ्चालन हुने सुनिश्चित भएको छ भने ।